आश्विन १९, २०७४-सोमबार हिमाली जिल्ला मनाङको मनाङगाउँस्थित एउटा होटलको छतमा बसेर एक जर्मन नागरिक ड्रोन उडाइरहेका थिए । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) का कर्मचारीले ड्रोनको आवाज सुनेपछि उनलाई पछ्याए । होटलको छतमा बसेर ड्रोन भर्खर उडाउन थालेको अवस्थामा भेटिएपछि कर्मचारीले खोस्ने प्रयास गरे । उडाउन नपाइने जानकारी आफूलाई नभएको भन्दै माफी मागेपछि उनलाई चेतावनी दिएर छाडियो ।

२ महिनाअघि पनि लोफेलिङ बोर्डिङ स्कुल नजिकै विदेशी पर्यटकले ड्रोन उडाउन लागेको सुइँको पाउनेबित्तिकै एक्यापका कर्मचारी खटिए । कर्मचारी देख्नेबित्तिकै उनीहरू भागेका थिए ।

चक्रीय अन्नपूर्ण पदमार्गको हिमाली क्षेत्रमा अनुमति नलिई ड्रोन क्यामरा उडाउने बढेका छन् । बिनाअनुमति ड्रोन क्यामेराले हिमाली दृश्य खिचिरहे पनि केही पर्यटक मात्रै प्रहरी प्रशासनको फन्दामा पर्छन् । सम्बन्धित विभाग वा मन्त्रालयबाट प्रयोजन खुलाएर अनुमति लिनुपर्ने भए पनि आफूखुसी फोटो तथा भिडियो खिचिरहेको भेटिइरहन्छन् ।

एकान्त ठाउँ पुग्नेबित्तिकै पर्यटकहरू ड्रोनमार्फत हिमाली दृश्य, प्राकृतिक तथा सांस्कृतिक सम्पदाको तस्बिर खिच्ने गरेको प्रहरी बताउँछन् । डीएसपी वीरबहादुर पुलामीका अनुसार सोमबार चामेमा ड्रोन क्यामरामार्फत तस्बिर र भिडियो खिच्दै गर्दाको अवस्थामा चिनियाँ नागरिक वाङ झोङी पक्राउ परेका छन् । ती चिनियाँ नागरिकले अनुमतिबिनै ड्रोन क्यामरा ल्याएर तस्बिर र भिडियो खिचेको खुलेको र कारबाहीका लागि प्रशासनसमक्ष बुझाइएको पुलामीले बताए ।

प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तका अनुसार चिनियाँ नागरिक एक जना नेपाली गाइड र भरियाको भरमा थोराङ्ला पास आएका थिए । उनलाई थुनामा राख्ने वा कस्तो कारबाही गर्ने भन्ने कानुनी आधार प्रशासनसँग छैन । उनले आवश्यक कारबाहीका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणमा मंगलबार पत्राचार गरिएको बताए । ‘अन्यले पनि खिचिरहेको हुन सक्छ,’ उनले भने, ‘यसबारे सम्बन्धित निकाय जिम्मेवार बन्नुपर्छ ।’

मनाङ प्रहरीले गत वैशाख पहिलो साता अवैध रूपमा ड्रोन उडाउने क्रममा ग्रिस नागरिक पेट्रोस नउसियसलाई चामेको गुम्बा परिसरबाट पक्राउ गरेको थियो । उनी पिसाङ पिक हिमाल आरोहण गर्न आएका थिए । आवश्यक कारबाहीका लागि प्रशासनले प्राधिकरणलाई पत्राचार गरेकोमा ५ हजार रुपैयाँ जरिवाना तिरेर छाड्न निर्देशन दिएपछि प्रशासनले ती विदेशी नागरिकलाई छाडेको थियो । प्रशासनले विदेशी नागरिक उपर नागरिक उड्डयन प्राधिकरण ऐन ०५३ अनुसार ड्रोन क्यामरा फिर्ता गरी ५ हजार रुपैयाँ जरिवाना तिरेर छाडेको बताएको थियो ।

मनाङमा म्युजिक भिडियो तथा फिल्म बनाउनेले समेत अवैध रूपमा ड्रोन क्यामरा प्रयोग गरेको स्थानीय बताउँछन् । एक्याप मनाङका प्रमुख बाबुलाल तिरुवाका अनुसार एक्यापको संरक्षण कार्यालय मनाङमा आउनेलाई ड्रोन क्यामरा ल्याएको छ वा छैन भनेर सोध्ने गरिएको छ । ल्याएको भए ‘यो संरक्षित क्षेत्र हो’ भनी उडाउन नपाइने नियमबारे सचेत गराइन्छ । ‘कतिपयले अटेर गरी उडाइरहेको सुन्छु । जाँदा भेटिँदैनन्,’ उनले भने, ‘यसको निगरानी तल्लो क्षेत्रका जाँच केन्द्रबाटै गर्ने तयारीमा छौं ।’

तल्लो क्षेत्रमा एक्यापको जाँच केन्द्र, प्रहरी चौकी, पदयात्री सूचना व्यवस्थापन प्रणाली (टिम्स) लगायत पर्यटनको क्षेत्रमा काम गर्ने र अन्य सम्बन्धित निकाय छन् । ट्रेकिङ एजेन्सी तथा सम्बन्धित निकायको कमजोर निगरानी र असावधानीका कारण पर्यटकले हिमाली क्षेत्रको दृश्य ड्रोनमार्फत कैद गरिरहेको स्थानीय बताउँछन् ।

हवाई रुट र सुरक्षामा ‘थ्रेट’

पोखरा– बिनाअनुमति ड्रोन उडाउँदा सुरक्षा तथा हवाई रुटलगायतमा ‘थ्रेट’ हुन सक्ने सरोकारवालाले बताएका छन् । विदेशी पर्यटक तथा नेपालीले पनि अवैध रूपमा ड्रोन उडाएर महत्त्वपूर्ण सूचना लैजान सक्ने भन्दै यसलाई गम्भी रूपमा लिनुपर्ने उनीहरूको भनाइ छ ।

अवैध रूपमा ड्रोन क्यामेराले सुरक्षा निकायका ब्यारेक तथा कार्यालयहरूको फोटो र भिडियो खिचेर लैजाने मात्र होइन, रेडियो फ्रिक्वेन्सीमार्फत उड्ने भएकाले सुरक्षा निकायका सञ्चार उपकरणमा समेत यसले अवरोध पुर्‍याउन सक्छ । साथै हवाई रुटमा जथाभावी उडाइँदा कुनै पनि बेला दुर्घटना हुन सक्ने भन्दै यसलाई रोक्नेतर्फ सरकारले कदम चाल्नुपर्ने सरोकारवाला बताउँछन् । ‘ड्रोनबाट महत्त्वपूर्ण फोटो तथा भिडियो खिचेर सेटलाइटमार्फत बाहिर पठाउन सक्ने अवस्था रहन्छ,’ नागरिक उड्डयन प्राधिकरण पोखरा कार्यालयका प्रमुख भोलाप्रसाद गुरागाईंले भने, ‘एक प्रकारको सुरक्षा चुनौती रहन्छ । यसलाई रोक्नुपर्छ ।’

ड्रोनमा कुनै पनि कम्युनिकेसन नहुने भएकाले जहाज उडानमा अवरोधदेखि सूचना संकलनबाट सुरक्षा संवेदनशीलता रहने उनले बताए ।

ड्रोन उडाउनुपूर्व गृह मन्त्रालयबाट अनुमति लिनुपर्छ । यसका लागि सञ्चार र पर्यटन मन्त्रालयसंग समन्वय पनि आवश्यक छ । तर पछिल्लो समय बिनास्वीकृति उडाउने क्रम बढेको छ ।
Source:ekantipur

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय