ओखलढुंगा, २५ फागुन । पात्ले गाविस ५ ताउरका ८५ वर्षीय ल्हकी शेर्पा ३० वर्षपछि गाडि चढेर आफ्नो गाउँ आइन् । ३० वर्ष पहिले गाउँ छोडेकी ल्हकी पतिसहित काठमाण्डौबाट गाडिमा आफ्नो गाउँ आउँदा निकै खुसी देखिइन् । उनलाई स्थानीयले खादा ओढाएर सम्मान गरे ।
आफुले गाउँ छोड्दा गाउँमा गाडी चढेर आउन पाइन्छ भन्ने कल्पना समेत नगरेको उनले बताइन् । ‘गाडी आउँछ भन्ने सोचेको थिएन, अहिले आफै चढेर आउन पाएँ’ उनले भनिन् । उनी जेष्ठ नागरिकले पाउने सामाजिक सुरक्षा भत्ताको कार्ड बनाउन गाउँ आएकी हुन् ।
ओखलढुंगाका पश्चिमी गाविस खिजीफलाटेको चुप्लु भञ्ज्यांगबाट पात्लेको छेर्मादिङसम्म सडक निर्माण भएपछि पहिलो पटक गाडि पुग्दा चालकलाई स्थानीयले फूल र पैसाको माला लगाएर सम्मान गरेका थिए । ‘स्थानीयले नाचगान नै गरेर खुसी मनाए’ सडक निर्माणको अगुवाइ गरेका सगरमाथा आरोही पेम्पा शेर्पाले भने– ‘आलु खाएर सडक बनायौं, अहिले पात्लेमा चामल घरघरै पुगेको छ ।’
तीन वर्षपहिले शेर्पाको अगुवाइमा स्थानीयले रकम संकलन गरेर सडक निर्माण शुरु गरेका थिए । अहिले १८ किलोमिटर सडक निर्माण भइसकेको छ । सडक पुगेपछि गाउँमा खाद्यन्न तथा अन्य निर्माण सामग्री ढुवानी हुन थालेपछि पात्लेबासी हर्षित भएका छन् । सडक निर्माण गर्न एक सय पचास भन्दा बढीले रकम दिएका छन् । ‘जति सकिन्छ सबैले रकम दिएका छन्, मैले दुई लाख पचास हजार दिएर रकम शंकलन शुरु भएको थियो’ सडक निर्माणका अभियान्तामध्येका एक कर्मा जी शेर्पाले भने– ‘हाम्रो अभियानमा यस क्षेत्रका सांसदले वर्षैपिच्छे अनुदानको व्यवस्था गरेकाले पात्लेमा सडक आएको हो ।’
पात्लेमा सडक पुगेपछि खाद्य सामग्री सहुलियत दरमा पाइन थालेको शिवालय मावि छेर्मादिङका कर्मचारी ङिमा शेर्पाले बताए । ‘भरिया र खच्चरबाट ढुवानी गरेको भन्दा एक बोरा चामलमा दुई सय रुपैंया सस्तोमा आइपुग्छ’ उनले भने । पात्लेमा सडक पुगेसंगै ओखलढुंगाको निर्वाचन क्षेत्र नं. १ का एक नगरपलिकासहित २४ गाविस सडक सञ्जालमा जोडिएका छन् । चुप्लु–तावर–दोराखर्क–छेर्मादिङ सडक निर्माणका लागि सांसद यज्ञराज सुनुवारको निर्वाचन क्षेत्र विकास कार्यक्रमबाट दुई १७ लाख अनुदान, स्थानीयले २२ लाख र चालु आर्थिक वर्षमा पात्ले गाविसबाट ६ लाख १० हजार रुपैंया रकम खर्च गरिएको निर्माण समितिका अध्यक्ष पेम्बा शेर्पाले बताए ।
ढुवानीमा सहुलियतः पुनः निर्माण तीव्र
पात्लेमा सडक पुगेको एक हप्ता मात्रै भएको छ । सडक पुग्नासाथ व्यापारीले एक वर्षका लागि खाद्यन्न जोहो गरिसकेका छन् । ‘चामल र किराना सामग्री एक वर्ष पुग्ने ढुवानी भइसक्यो’ स्थानीय समाजसेवी पासाङ वाङ शेर्पाले बताए । सडक पुगेसँगै भूकम्पले भत्किएका घरको पुनः निर्माणले समेत तीव्रता पाएको छ । घर निर्माणका लागि आवश्यक रड, सिमेन्ट, वालुवा ढुंगा र जस्तापाता ढुवानी धमाधम भइरहेको छ । जस्तापाता एक वण्डिलमा दुई हजारसम्म सस्तो परेको स्थानीयले बताए । ‘जस्तापाता दुवानी गर्न नसक्दा छाना हाल्न सकेका थिएनौं, सडक आएपछि सहुलियतमै घर आँगनमै ढुवानी गर्न सकिएको छ’ स्थानीय युवा जाङ्बु शेर्पाले खुसी हुँदै भने ।
सडक अनुगमनमा पुगेका जिल्ला प्राविधिक कार्यालयका इन्जिनियर पारस पाण्डेले सडकले पुनः निर्माणका कामलाई तीव्र बनाउन सहयोग गरेको बताए । सडकले छोटै समयमा जनजीवनमा सकारात्मक परिर्वतन गर्छ भन्ने उदाहरण पात्लेमा देखिएको पाण्डले बताए । ‘विहान हिड्दा बेलुका बास बस्न नपुगिने ठाउँमा तीन चार घण्टामै आवत जावत गर्न सकिने भएछ’ पाण्डेले भने । पात्ले गाविसमा पूर्व र पश्चिमबाट निर्माणाधीन सडक जोड्न पाँच किलोमिटरमात्र बाँकी रहेको स्थानीयले बताए ।
सडक पुगेपछि आययत मात्र होेइन पात्लेको अर्गानिक आलु राजधानीसम्म सिधै निकासी हुन थालेको छ । आलु, तथा हिमाली क्षेत्रमा उत्पादित तरकारी सदरमकाम र राजधानी सम्म निकासी हुन थालेकाले व्यवसायिक खेति शुरु गर्नु पर्ने उनले सुझाए ।
पहिले अति दुर्गमः अब रिङरोड बन्दै
पात्ले गाविसलाई सडक सञ्जालमा जोड्न लाक्पा जी शेर्पा, बाबु शेर्पा लगायतका युवाहरु पूर्वी भेगबाट जुटेका छन् । पात्ले गाविस एक वर्ष अघिसम्म अति दुर्गम मानिन्थ्यो । सडक निर्माणको तीव्रतासँगै पात्लेमा रिङरोड बन्ने चरणमा छ । पात्लेको व्यापारिक केन्द्र तालकोटमा तीन तीरबाट सडक जोडिने चरणमा छ । खिजीफलाटेबाट आएको सडक छेर्मादिङ हुँदै तालकोट र सोलुको टाप्टिङ हुँदै आएको तोलक गोटेपम्दक सडक पनि टुक्सिन्दु हुँदै तालकोट जोडिने क्रममा छन् ।
त्यस्तै सदरमुकाम ओखलढुंगाबाट ढुस्के हुदै रागादिप तालकोट सडकको सर्भे भइ निर्माणको चरणमा रहेको छ । एकर्षभित्र पात्लेमा मन्थली हुँदै खिजीफलाटेबाट आउने सडक, सोलुको टाप्टिङ र ओखलढुंगा सदरमुकामबाट जाने सडक जाडेर रिङरोड बनाउने लक्ष्य राखिएको सांसद यज्ञराज सुनुवारले बताए । उनले पात्लेको दुर्गम उपनाम अब विगत हुने दावी गरे ।
पात्लेमा यही वर्षमा मन्थली र ओखलढुंगा दुई तिरबाट आएको जोडिने तोलक गोटेपम्दक सडक निर्माणको अगुवाइ गरेका स्थानीय युवा बाबु शेर्पाले बताए । उनले गाविसको ७ लाख रकमबाट अहिले साढे सात किलोमिटर सठक निर्माण गरेको बताए । उधारो समेत खनेर तालकोट जोड्ने लक्ष्य रहेको उनले बताए ।
अनुगमन टोलीलाई बाटैभरि स्वागत
सडक अनुगमनमा पुगेका ओखलढुंगा निर्वाचन क्षेत्र नं. १ का सांसद यज्ञराज सुनुवार, सांसद हर्कबोल राई सडक निर्माणका लागि चन्दा दिने दाता र निर्माण समितिका पदाधिकारहिरुलाई स्थानीयले बाटैभरि फुलमाला ले स्वागत गर्दै नाचगान गरे । चुनाव जितेपछि पात्ले कुनै सांसदहरु अहिले सम्म नआएको विगत सम्झदै समाजसेवी तथा माओवादी केन्द्रका नेता लाप्साङ शेर्पाले पटक पटक गाउँ आउने र सडक लगायतका विकास निर्माणमा बजेट व्यवस्था गरिदिने सांसदहरुलाई सम्मान गर्न पाउँदा खुसी लागेको बताए । ‘चुनाव जितेपछि गाउँघरमा आइरहने र विकास निर्माण गर्न पात्लेलाई बजेट दिने पहिलो सांसद यज्ञराज हुन्’ उनले भने । दलका कुरा भन्दा विकासका कुराले स्थानीयले सम्मान गरेको उनले बताए ।
विकेन्द्रकरणले विकासः संघीयतामा समृद्धि
आफ्नो गाउँ आफै बनाउन तम्सिएका युवाहरुलाई सांसदले साथ दिएपछि सडक निर्माण गर्न सफल भएको समाजसेवी कर्मा गेल्जे शेर्पाले बताए । उनले आफुहरुले शुरु गरेको अभियानमा सांसद सुनुवारले बजेट व्यवस्थापन, निरन्तर अनुगमन र हौसलाले आफुहरुलाई सामाजिक सेवामा लाग्ने प्रेरित गरेको बताए ।
सडक अनुगमनमा पुगेका जिल्ला विकास समितिका योजना अनुगमन तथा प्रशासकीय अधिकृत विष्णुहरि बरालले समृद्धिको यात्रा सडकबाट शुरु भएको बताए । अब संघीयताले गाउँमै राज्यको परिकल्पना गरेकाले शुरु भएका विकासका गतिविधी संस्थागत गरेर समृद्धि ल्याउन सकिने बताए ।
पात्लेमा पहिलोपटक सडक पुगेपछि पात्ले पुगेका छिमेकी गाविस खिजीकातिका अगुवा कमल न्यौपानेले विकेन्द्रिकरण नीति पात्लेमा स्थानीय आफैले कार्यन्वयन गरेको प्रतिक्रिया दिए ।
उनले गाविस तहमा बजेट ०५१ सालतबाट आउन शुरु भएपछि गाउँघरमा विकासको शुरुवात् भए पनि द्वन्द्वको समयपछि मात्रै गाविसका अनुदान विकासका काममा खर्च हुन थालेको अनुभव सुनाए । ‘पहिले कोठामा बसेर २÷४ जनाले दुरुपयोग गर्थे, अहिले गाउँ गाउँमा राज्यको अनुदान पुगेको छ’ उनले भने– ‘विकेन्द्रिकरणको नीति त ०६२÷०६३ को जनआन्दोलनपछि मात्रै कार्यन्वयन भयो, यसले विकास ढोकाहरु खुलेका छन् ।’ विकास निर्माणको शुरुवात् विकेन्द्रिकरणको नीतिआएपछि भएको भन्दै उनले अब मूलक संघीयतामा गएकाले समृद्धि आउने विश्वास व्यक्त गरे ।
‘अब संघीयताले घर आँगनमै राज्य हुने परिकल्पना गरिएको छ, सहजै भेट्न र देख्न सकिने राज्यले नागरिकमा समृद्धि ल्याउन सक्नु पर्छ’ न्यौपानेले भने । विकास निर्माणसँगै गाउँका समाजसेवी र अगुवाहरुले संघीयता कार्यन्वयन गर्न स्थानीय तहको निर्वाचन हुनु पर्ने समेत माग गर्न थालेका छन् । संघीयताले जनतालाई दिएको अधिकार प्रयोग गर्न चुनाव हुनुपर्ने उनीहरुको जोड छ । सडक अनुगमनसँगै स्थानीयसँग अन्र्तक्रिया गर्न पात्ले पुगेका सांसदहरु हर्कबोल राई र यज्ञराज सुनुवारसँग पात्लेबासीले सडक मात्र नभइ खानेपानी र विजुली समेत माग गरेका थिए ।
स्थानीयसँगको अन्र्तक्रियापछि साँसद सुनुवारले अब संघीयता कार्यन्वयनको चरणमा रहेकाले संघीयताले समृद्धि ल्याउने बताए ।
-sagarmathaonline