काठमाडौं विहीबार विहान ६ः३० बजे शेर्पा समुदाय बालुवाटारस्थित प्रधानमन्त्री निवासको ३ नम्बर गेट पुगे । त्यहाँ पुग्दा गेट वन्द थियो । भित्र प्रधानमन्त्री पुष्पकमल दाहाल लगायत थिए नै । प्रधानमन्त्री प्रचण्डलाई ज्ञापन पत्र बुझाउन शेर्पा समुदाय विहानै प्रधानमन्त्री निवास पुग्दा त्यहाँका गेट खुलेनन् अर्थात प्रधानमन्त्रीले शेर्पा समुदायलाई भेट्ने समय दिएनन् ।
करीव एक साताको प्रयासपछि विहीबार विहानको समय निर्धारण भएपनि ज्ञापन पत्र बुझ्ने समय नदिएपछि शेर्पा समुदाय आक्रोसित हुँदै गेटबाटै ‘अपहेलित’ भएर फर्किए । प्रधानमन्त्रीसँगको समय मिलाउने जिम्मा पाएका सांसद ओङदी शेर्पालाई समेत निवास छिर्न दिएनन् । उनी निन्याउरो मूख लगाएर चियापसल तिर छिरे र भने ‘कस्तो पद्धती रहेछ । म यो भिल्ला (व्यवस्थापिका सांसद) फालेर हिँड्छु ।’ सांसद शेर्पा माओवादी केन्द्रकै सांसद थिए । उनलाई प्रधानमन्त्रीले त के स्वकीय सचिव प्रकाश दाहालले समेत भेट्ने समय दिएनन् ।
अधिकांश माओवादी केन्द्र निकट शेर्पा नेताहरुको ज्ञापन–पत्रसहित प्रम निवास पुगेका थिए । साथमा नेपाल शेर्पा संघका अध्यक्ष आङ दोर्जी शेर्पा लामा, संघीय समाजवादी फोरमका केन्द्रीय सदस्य आङ काजी शेर्पा लगायत शेर्पा संघ–संस्थाका प्रतिनीधिहरुको विहानै त्यहाँ पुगेका थिए ।
बुधबार दिउँसो दिनभरी प्रधानमन्त्रीको कार्यालय सिहंदरबारमा सांसद शेर्पासहित शेर्पा अगुवाहरुले प्रधानमन्त्रीलाई समय मिलाउन कुरेका थिए । तर, प्रधानमन्त्री प्रचण्ड त्यहाँपनि समय दिएनन् ।
संविधान संशोधनको प्रस्तावमा शेर्पा जातिको बाहुल्य रहेको १ र ३ नं. प्रदेशलाई जातीय बसोवासको आधारमा सिमांकन गरी शेर्पाहरुको वसोवासलाई खण्डीत पारेको तर्फ संवोधन नगरेको भन्दै असन्तुष्ट शेर्पाहरु ज्ञापन पत्रमार्फत प्रधानमन्त्रीको ध्यान खिच्ने हेतुले बालुवाटार पुगेको थिए । स्रोतका अनुसार विहिवार समय नदिएपछि सांसद शेर्पाले प्रधानमन्त्रीका जनसम्पर्क सचिव रामदीप आचार्यसँग आक्रोससमेत पोखे । त्यस्तै, आचार्यले शुक्रबार जसरीपनि समय मिलाउँछु भनेपछि शेर्पाहरु बालुवाटार छोडेर फर्केका थिए ।
शुक्रबार समय नदिए निवासमै धर्ना दिने तयारी अघि बढेको समाजवादी फोरमका केन्द्रीय सदस्य आङकाजी शेर्पा किसानले बताए ।
जनयुद्ध ताका जातीय नामबाट प्रदेश घोषणा गर्दै आफूलाई पहिचानवादीको पगरी गुथेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले उत्पीडित जाती शेर्पालाई भेट्न समेत समय नदिनुलाई अर्थ पूर्ण रुपमा हेरिएको एक शेर्पा समुदायका एक विद्ले बताए ।
Source:(शेर्पाखबर)