
अन्तर्राष्ट्रिय प्रहरी सञ्जाल ‘इन्टरपोल’ को प्रयोग गरेर सहकारी ठगीको आरोप लागी फरार र देशबाहिर भएका ठानिएका व्यक्तिहरूको खोजी तीव्र पारिने नेपाल प्रहरीका प्रवक्ताले बताएका छन्।
हालै सहकारी संस्थाहरूमा सर्वसाधारणको बचत हिनामिनाबारे अनुसन्धान गर्न गठित संसदीय समितिले ‘सोधपुछ गरिने सूची’मा १८ जनाको नाम उल्लेख गर्दै र उनीहरू रहेको ठानिएको देशसहितको विवरण प्रहरीलाई उपलब्ध गराएको थियो।उक्त सूचीमा काठमाण्डू उपत्यका, पोखरा, वीरगन्ज, बागलुङ र चितवनका सहकारी सम्बद्ध व्यक्तिहरू छन्।
“ती प्रहरीकै अनुसन्धानमा खुल्न आएकै व्यक्तिहरू हुन्। केहीका हकमा पहिल्यै इन्टरपोलका विभिन्न नोटिस जारी भइसकेका छन्, अन्यलाई अबको प्रक्रियामा नोटिस जारी गरिनेछ,” केन्द्रीय प्रहरी प्रवक्ता दानबहादुर कार्कीले भने।
“समितिले सार्वजनिक गरेको सूचीमध्ये दुई जनाको बागलुङबाट, तीन जनाको कास्कीबाट र एक जनाको सीआईबीबाट अनुसन्धान भएका आधारमा यसअघि नै छजनाविरुद्ध इन्टरपोलका विभिन्न नोटिस जारी भएका छन्।”
सहकारी ठगीको अनुसन्धान गरिरहेको संसदीय समितिका सभापति सूर्य थापाले आफूहरूले सार्वजनिक गरेको सूची ती व्यक्तिहरू ‘देशबाहिर छन् भन्ने सूचनाका आधारमा’ जारी भएको बताउँछन्।उक्त समितिको कार्यादेशका अनुसूचीमा रहेको २९ सहकारीलाई प्राथमिकतामा राखेर यस्तो सूची तयार पारिएको बताइएको छ।
उक्त समितिले सोमवार गृहमन्त्री रमेश लेखक र प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरलाई बोलाएर यसबारे छलफल गरेको थियो।
“झन्डै दुई दर्जन मानिसहरू जेलमा समेत छन्। फरारमध्ये केही देशभित्र नभएको तर हालको स्थान अज्ञात रहेको त केहीको कुनै देशमा रहेको सूचना रहेका आधारमा यो सूची सार्वजनिक गरिएको हो,” समिति सभापति थापा थप्छन्।
बीबीसी