काँकडभिट्टा — मुस्ताङको थासाङ गाउँपालिका–५ कुञ्जी र आसपासका १४ जना दलित बालबालिकालाई लामा पढाइदिने बहानामा भदौ २९ मा भारत लैजान लागिएको थियो । त्यही क्रममा प्रहरीले पूर्वी नाकाबाट उद्धार गरी उनीहरूलाई घर फर्कायो ।
लामाको भेषमा भारततिर लगिँदै गरिएका ८ बालबालिकालाई पनि प्रहरीले मंगलबार नाकाबाटै रोकेर घर पठाएको छ । प्रहरीले काठमाडौं र सिन्धुलीका ३/३ जना र सर्लाहीका दुई बालकलाई फर्काएको हो । इलाका प्रहरी कार्यालय काँकडभिट्टाका डीएसपी सुनिल दाहालले लामा पढाइदिने बहानामा बालबालिकालाई भारत लैजान लागिएको र उनीहरू गम्भीर जोखिममा रहेको पाइएकाले घर फर्काइएको जनाए ।
‘लामाको कपडा लगाएका उनीहरू ९ देखि १५ वर्षसम्मका थिए,’ इलाका प्रहरी कार्यालय काँकडभिट्टाका डीएसपी सुनिल दाहालले भने, ‘लामा पढाउने बहानामा गैरकानुनी रूपमा बालबालिका नाका कटाउन लागिएको थियो ।’
प्रहरीले बालबालिकालाई भारत लैजान खोज्ने सर्लाही हरिवन नगरपालिका–२ की ५० वर्षीया रेखीमाया मोक्तानसहित बालबालिकालाई सम्बन्धित जिल्ला फर्काएको छ । रेखीमायालाई अनुसन्धान गरी कारबाही गर्नसमेत सिफारिस गरिएको छ । ‘लामा पढाइदिने भन्ने बहानामा बालबालिकालाई गैरकानुनी रूपमा भारत लैजाने गिरोह सक्रिय बनेको देखिएको छ,’ डीएसपी दाहालले भने । प्रहरीका अनुसार कोरोनाको महामारीपछि विभिन्न बहानामा बालबालिकाको तस्करी फस्टाएको देखिन्छ । गिरोहले पढाउने बहानामा विपन्नका छोराछोरी भारत पुर्याउने र घरेलु श्रम, यौनजन्य गतिविधि आदि काममा लगाउने गरेको पाइएको छ ।
गिरोहले बालबालिका तस्करीमा अभिभावककै प्रयोग गरेको पनि पाइएको छ । अघिल्लो पटक उद्धार गरिएका १४ बालबालिकाका केही अभिभावकलाई अगुवा बनाइएको थियो । अभिभावकलाई पैसालगायत विभिन्न प्रलोभन देखाएर बालबालिका तस्करीमा मन्जुर गराउने गरेको पाइएको छ । कतिपय घटनामा पालिकासँगको मिलेमतोमा समेत यो काम भइरहेको छ ।
कोलकातास्थित नेपाली महावाणिज्य दूतावासको पहलमा बुधबार चार जना किशोरीलाई विश्व सेवा विस्तार संस्थाले उद्धार गरेर घर फर्काएको छ । विभिन्न बहानामा भारत पुर्याइएका उनीहरूलाई पश्चिम बंगालका विभिन्न सहरबाट उद्धार गरेर फर्काइएको सेवा विस्तार संस्थाका फिल्ड इन्चार्ज इन्द्र बस्नेतले जानकारी दिए । सेवा विस्तार संस्थाले यही वर्ष २० भन्दा बढी बालबालिकालाई भारतबाट उद्धार गरी घर फर्काएको छ । महावाणिज्य दूतावासका अनुसार पश्चिम बंगालका विभिन्न संरक्षण गृहहरूमा अझै धेरै बालबालिका उद्धारको पर्खाइमा छन् ।
Source:Kantipur News