नेपाल पत्रकार महासङ्घको निर्वाचन मङ्सिर २८ गते हुने भएको छ। लामो समयदेखि विवादित बनेको सदस्यता समस्या समाधान गर्दै महासङ्घले यो निर्णय गरेको हो।
मध्यपुरथिमिको बोडेमा सम्पन्न राष्ट्रिय भेलामा सहभागी प्रतिनिधिहरूले सदस्यता विवाद समाधानका लागि विभिन्न निर्णय गरेका छन्। जसअनुसार, जिल्ला शाखाले सर्वसम्मतिले गरेका सदस्यतालाई मान्यता दिइनेछ भने प्रदेशले थप गरेका सदस्यहरूलाई पनि स्वीकार गरिनेछ। यस्तै, सदस्यतामा विवाद भएमा केन्द्र, प्रदेश र शाखाका प्रतिनिधिहरू सम्मिलित एक समिति गठन गरी विवाद समाधान गरिनेछ।
भेलामा सहभागीहरूले आगामी कात्तिक मसान्तसम्म सबै सदस्यता टुङ्गो लगाउने निर्णय पनि गरेका छन्। यससँगै, लामो समयदेखि अन्योलमा रहेको महासङ्घको निर्वाचन प्रक्रिया अघि बढ्ने भएको छ।
कार्यवाहक अध्यक्ष बाला अधिकारीको अध्यक्षतामा भएको भेलामा पूर्वकेन्द्रीय अध्यक्ष डा सुरेश आचार्य, डा महेन्द्र विष्ट, तारानाथ दाहाललगायत विभिन्न जिल्ला एवं प्रदेशका अध्यक्षहरूको सहभागिता रहेको थियो।
महासंघमा सदस्यता विवादका कारण पटक–पटक निर्वाचनको मिति सरेको थियो। यसले महासङ्घमा अन्योल सिर्जना गरेको थियो। तर, यो भेलापछि निर्वाचनको मिति तय भएसँगै यो अन्योलको अन्त्य भएको छ।
सदस्यता विवाद समाधान भएसँगै अब महासङ्घमा नयाँ नेतृत्व चयन गर्नेछ र आगामी दिनमा महासङ्घ कतातिर उन्मुख हुनेछ भन्ने निर्धारण गर्नेछ।