काठमाडौं । नेपाल आदिवासी जनजाति महासंघ, अन्तर्राष्ट्रिय समन्वय परिषदको पहिलो महाधिवेसन काठमाडौंमा सुरु भएको छ ।

विश्वभर रहेका आदिवासी जनजातिहरुलाई समन्वय गर्ने उद्देश्यले १५ महिनाअघि स्थापित सो परिषदको कुपण्डोलस्थित होटल हिमालयमा उद्घाटन समारोह सम्पन्न भएको छ । महाधिवेसनको उद्घाटन समारोहमा परिषदका संयोजक मान राना मगरले विश्वभर रहेका आदिवासी जनजाति महासंघहरुको समन्वयका लागि परिषद् स्थापित भएको जानकारी दिए ।

उनले आदिवासी जनजातिहरुको अधिकार र आन्दोलनका लागि सघाउ पुर्याउनका लागि परिषद् स्थापना गरिए पनि आदिवासी जनजातिहरुले नै अघि बढ्नका लागि अवरोध गरेको बताए । कार्यक्रममा सन् २०१२ देखि आदिवासी जनजातिहरुको अन्तर्राष्ट्रिय समिति बनाएर काम गरेका हुम सुनारी मगरले आदिवासी जनजाति आन्दोलनलाई प्रवासमा रहेका आफूहरुले सक्दो सहयोग गरेको बताए । तर, प्रवासमा रहेकाहरुलाई समन्वय गर्न नसकेको गुनासो गरे ।

कार्यक्रममा शुभकामना दिँदै गैरसरकारी संस्था महासंघका अध्यक्ष जितराम लामा, आदिवासी जनजाति साहित्य महासंघका अध्यक्ष राजन मुकारुङ, चलचित्र महासंघका अध्यक्ष अमृत सुनुवार, युवा महासंघका अध्यक्ष हेमन्त राई लगायतले मन्तव्य राखेका थिए । कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ फिप्नाका अध्यक्ष लोक चेम्जोङ, दक्षिण कोरियाका अध्यक्ष युगेल तेन्डुप शेर्पाले पनि शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा अन्तर्राष्ट्रिय समन्वय परिषदका संस्थापक सदस्य तथा नेफिन हङकङका अध्यक्ष किसन राईले स्वागत मन्तव्य राखेका थिए । महाधिवेसनको शुक्रबार बन्दसत्र हुँदैछ । बन्दसत्रले नयाँ कार्यसमिति चयन गर्नुका साथै विधान पारित गरिने आयोजकले जानकारी दिएको छ ।
नेपालमामिला संवाददाता

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय