तामाङ समुदायको राष्ट्रिय संस्था नेपाल तामाङ घेदुङले मरेको गाईलाई व्यवस्थापन गर्ने क्रममा पक्राउ परेका निर्दोष स्थानीयहरूको तत्काल बिना शर्त रिहाइको माग गरेको छ । बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै घेदुङले कसैले फोन गरेको भरमा गैरकानुनी ढङ्गबाट निर्दोष नागरिकलाई पक्राउ गर्नु दुःखद भएको भन्दै तत्काल रिहाइको माग गरेको हो ।
गाई काटेको झुठा आरोपमा गत असोज ४ गते मकवानपुर जिल्लाको बकैयास्थित कालिदमारबाट सोही गाउँपालिकाको वडा नं। ११ का जनकबहादुर लो तामाङ, राज लो तामाङ, रविन्द्र लो तामाङ, राज कुमार घलान, प्रल्हादभक्त न्यासुर, सोमार भोलन, सञ्चमाया भोलन, सुनबहादुर तामाङ, फुलमाया थिङ र सन्देश बिक सहित १० जनालाई पक्राउ गरेको थियो ।
विज्ञप्तिमा भनिएको छ– नेपालको मौजुदा कानुनले काट्न, मार्न वर्जित गरेको चौपाय पशु गाईलाई व्यापारीहरूले भारततर्फ बेच्न लादै गरेको अवस्थामा बाटैमा मरेपछि गाउँमा दुर्गन्ध फैलने हुँदा त्यसलाई व्यवस्थापन गर्ने क्रममा उल्लेखित व्यक्तिहरूलाई प्रहरीले काटी मारेको भन्दै पक्राउ गरिएको घटनाको तामाङ समुदायको राष्ट्रिय संस्था नेपाल तामाङ घेदुङ तीव्र निन्दा र खेद व्यक्त गर्दछ ।
घेदुङले वास्तविक सत्य तथ्य नबुझी कसैको गलत सूचनाको आधारमा गौडा ढुकी निर्दोष नागरिकलाई पक्राउ गरी फसाउने नियतले डर त्रासबाट सोही खालको बयान दिन बाध्य पार्नेसम्मको यसखाले कार्यबाट सत्य सेवा सुरक्षणको नारा बोकेको प्रहरी सेवाको विश्वसनीयतामाथि प्रश्न चिन्ह उठेको जनाएको छ ।
घेदुङका महासचिव महितकुमार तामाङद्वारा जारी विज्ञप्तीमा प्रहरीको यसखालको कार्यले विगतको आन्दोलनबाट प्राप्त उपलब्धिहरू सङ्घीयता, गणतन्त्र, लोकतन्त्र र धर्मनिरपेक्षताको मर्ममाथि प्रहार गर्नुका साथै संविधानसभाबाट जारी नेपालको संविधानको समेत धज्जी काढ्ने काम भएको भन्दै यसलाई तत्काल नसच्याए देशव्यापी सङ्घर्षमा उत्रने जनाएको छ ।
आदिवासी जनजाति समुदायको सांस्कृतिक अधिकारसँग बाझिने यसखालको कानुनले पटक पटक राष्ट्रिय समस्या निम्त्याइरहने हुँदा यसको दीर्घकालीन निकासको लागि राज्यपक्ष, नागरिक समाज, पत्रकार र सम्बन्धित पक्षको ध्यानाकर्षण गर्दै छलफल अघि बढाएको महासचिव महितकुमार तामाङले बताए ।
घेदुङले जारी गरेको विज्ञप्तिलाई नागरिक आन्दोलनका अगुवा तथा वरिष्ठ पत्रकार नारायण वाग्लेले समेत सामाजिक सञ्जालमा शेयर गरेका छन् । उसले विज्ञप्ति सेयर गर्दै पुर्खादेखिको चलन अनुसार गाईगोरूको मासु खाने रैथाने समुदायको सदस्यहरूलाई पक्राउ गरी कानुनी दण्ड दिलाउने प्रहरी कारबाही के धर्म निरपेक्ष राज्यसँग मिल्छ रु भनेर प्रश्न गरेका थिए ।
सैलुङअनलाइन संवाददाता