संघीय गणतन्त्र नेपालको पहिलो प्रदेश शभा र प्रतिनिधि शभाको निर्वाचन २०७४ परिणाम पश्चात राजनैतिक वृत्तमा बहसको बिषय बन्यो कि पहाडे आदिवासी, जनजातीहरुको मत पहिचानको पक्षमा रहेन किनभने जुन पार्टीहरुले आदिवासी, जनजातीहरुको जाती, भाषा, संस्कृति र पहिचानको पक्षमा वकालत गर्दै निर्वाचनमा गएका थिए उनीहरुको पक्षमा धेरै कम मत मात्र प्राप्त भयो ।
पहाडे आदिवासी जनजातीहरुको मत पार्टीको लागि भयो तर आफ्नो स्वाभिमान, जाती, भाषा, संस्कृति, सभ्यता र पहिचानका लागि भएन । हुन त नेपालका, बिशेष गरेर पहाडे आदिवासी, जनजातीहरुको चेतनास्तरले वर्तमान अवस्थामा आत्मसम्मान र स्वाभिमान के हो ? आफ्नो जाती, भाषा, संस्कृति र सभ्यताको पहिचान के हो ? राष्ट्रियता र राष्ट्रबाद भनेको के हो ? भन्ने आदि कुराहरु बुझ्न नसक्ने पनि हुन सक्तछ । किनकि सयौं वर्षसम्म यहाँका पहाडे आदिवासी, जनजातीहरु खस आर्य एक जाती एक भाषा र एक संस्कृतिको बर्चस्वतामा परेका हुनाले त्यहिअनुरुप आफुहरुलाई अनुकूल बनाउन अभ्यस्त भैसकेका छन् । हुन सक्छ आफ्नो जाती, भाषा, संस्कृती र सभ्यतालाई बिर्षनै पनि किन नपरोस । आदिवासी, जनजातीको जाती, भाषा, संस्कृति र राष्ट्रमा सशक्त पहिचानको आवाज उठाउने पार्टी नेतृत्व समूहबाट यसपटकको निर्वाचनमा आफ्नो राजनैतिक मुद्दा र आवाज बिशेष गरेर पहाडे आदिवासी, जनजातीलाई बुझाउन नसकेको कुरा स्वीकारोक्ति भएकोले माथिको कुरा पुष्टि हुन्छ ।
यसै निर्वाचन परिणाम पश्चात अर्को राजनैतिक बहसको बिषय पनि बन्यो कि, मधेसी जनताहरुको मत मधेसी भाषा, संस्कृति, सभ्यता र पहिचानको पक्षमा रह्यो । मधेसी पहिचान र राष्ट्रियताको पक्षमा मत माग्ने पार्टीहरुलाई अत्याधिक मत दिएर मधेसी जनताले आफ्नो आत्मसम्मान र स्वभिमानलाई जनमतमार्फत प्रदर्शन गरे । सम्पूर्ण राज्य संयन्त्र, कर्मचारीतन्त्र, संचारमाध्यम आदि आफू अनुकूल नरहे पनि मधेसी जनता शान्तिपूर्ण जनमतमार्फत आफू आत्मसम्मान र स्वाभिमानसहित भाषिक, संस्कृतिक र सभ्यता सहितको पहिचानको पक्षमा रहेको सन्देश दिन सफल भए । हो मधेसी जनताको जनमतले भन्छ कि धोती र कुर्ता लगाएर पनि स्वाभिमानी नेपाली बन्न सकिन्छ यसका लागि दौरा सुरुवाल र टोपी नै लाउन जरुरी छैन । मैथिली, भोजपुरी र थारु भाषाभित्र पनि नेपाली राष्ट्रबाद छ, न कि आदिकविको रामायण सृजित खस नेपाली भाषा भित्र मात्र । यसै निर्वाचन परिणाममा स्वाभिमानी मधेसी जनताको जनमतले छट पर्वको उल्लासमा पनि नेपालीपन छ भन्दै स्वाभिमान र पहिचानविहीन फगत पद र पैसामा आफ्नो भाषा, संस्कृति, सभ्यता र पहिचानलाई बन्धक नबनाउन पहाडे आदिवासी, जनजाती केही टाठाबाठा हूँ भन्नेहरुलाई गहकिलो सन्देश दिएको छ ।
नेपालजस्तो बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक मुलुक र सबै अल्पसंख्यकहरुको बसोबास भएको राष्ट्रमा राष्ट्रको सम्पूर्ण राज्य संयन्त्रहरु, व्यवस्थापिका, कार्यपालिका, न्यायपालिका, कर्मचारीतन्त्र, संचारमाध्यम, पेशागत र सामाजिक संजालहरुमा केवल खस आर्य एक जाति, एक भाषा र एक संस्कृतिको मात्र बर्चश्वता कायम छ । पहाडे आदिवासी, जनजातिहरु राज्य संयन्त्रको केही सामिप्यमा छन् । सामिप्याताको हिसाबले मधसी जनता राज्यसंयन्त्रको सामिप्याताबाट पहाडे आदिवासी, जनजातीहरु भन्दा केही टाढा छन् । विविधताको हिसाबले नेपाल एक जाती, भाषा, संस्कृति र सभ्यताहरुको सम्मिश्रण (स्यालड बौल) हो । नेपालको प्रत्येक भाषा, संस्कृति र सभ्यताहरू यति सम्पन्न र पुराना छन् कि एक आपसमा प्रष्ट रुपमा सम्मिश्रण भएर रहन सक्छन् तर बिलय (एसिमिलेशन) हुन असंभव छ । फक्ताङलुंगको काखमा गाइने हाक्पारे र पालमलाई देउडाको लयमा गाउन सकिदैन । हिमालमा लगाइने बक्खुहरु मधेसमा आवश्यकता नै पर्दैन । दसैं मनाउने प्रचलन साथै यसको मूल्य र मान्यता ल्होसार पर्वको प्रचलन साथै मूल्य र मान्यतासँग एकदमै फरक छ ।
पहाडे आदिवासी, जनजातिहरु राज्य संयन्त्रको केही सामिप्यमा छन् । सामिप्याताको हिसाबले मधसी जनता राज्यसंयन्त्रको सामिप्याताबाट पहाडे आदिवासी, जनजातीहरु भन्दा केही टाढा छन् ।
विविधताले यति सम्पन्न र सुन्दर राष्ट्र (कल्चरल मोजैक) नेपाल हुँदाहुँदै पनि सम्पूर्ण राज्य संयन्त्रमा एक जाती, एक भाषा र एक संस्कृतिको मात्र बर्चस्वताका कारण बहुसंख्यक पहाडे आदिवासी, जनजाती, थारु, मधेसी र दलितहरु राज्य संयन्त्रको मूलधारबाट बञ्चित छन् । जाती, भाषा, संस्कृति र सभ्यताले विविधतायुक्त र सम्पन्न राष्ट्र नेपालमा एकल राष्ट्रियताको (कल्चरल हेजेमोनी) चस्माले हेर्ने प्रयास भएकै कारण विभेद र बहिष्करण समस्या बन्न पुगेको छ, जबकि यहाँका सम्पूर्ण जाती, भाषा, संस्कृति र सभ्यताहरुले काँधमा काँध मिलाएर एकसाथ अघि नबढी नेपालको उन्नति र विकास असम्भव छ ।
नेपाल राज्य राष्ट्रको बनावट, ऐतिहासिक पृष्ठभूमि, संस्कृतिको निरन्तरता र संख्यात्मक हिसाबले पनि सम्बृद्ध र बैभवशाली नेपाल निर्माणको निम्ति यहाँका बहु संख्यामा रहेका पहाडे आदिवासी, जनजाती, थारु, मधेसी र दलितहरुको अर्थपूर्ण सहभागिताबिना सम्भव छैन । बिशेष गरेर पहाडे आदिवासी, जनजातीहरु जसले जनसंख्याको सबै भन्दा ठूलो हिस्सा ओगटेको छ, केवल राज्य संयन्त्रको सामिप्यतामा पुग्ने र व्यक्तिगत लाभ लिने मात्र गरिरहने हो भने नेपालको आर्थिक, सामाजिक, संस्कृतिक र कुशल राजनीतिक विकासका नाराहरु केवल नारामा मात्र सिमित हुनेछन् । विज्ञान र प्रविधिको तीव्र विकासले संसारनै साँघुरो भइरहेको अवस्थामा यहाँका पहाडे आदिवासी, जनजातीहरुले नेपालीपन र नेपाली राष्ट्रवादलाई जोगाउन आफ्नो भाषा, संस्कृति, इतिहास र सभ्यतालाई बिर्सन जरुरि छैन । यहाँ जाती, भाषा र संस्कृतिको बिबिधताभित्र नै नेपाल र नेपालीपन छ ।
यहाँ भजन किर्तनसँगै पालम र हाक्पारेभित्र नेपाली लय छ । यहाँ दसैं र तिहारले मात्र होइन ल्हाेसार, माघी पर्व, ईद र किरात चाडहरुले पनि देश उल्लासमय हुन्छ । तामाङ सेलो र केलाङ नाचेर पनि विश्वमा नेपाललाई चिनाउन सकिन्छ । धोती, कुर्ता, हाकु पटासी, घलेक, बक्खु, दौरा सुरुवाल र टोपी सबै पहिरनभित्र समान रुपमा नेपालीपन छ । विशेष गरेर यहाँका पहाडे आदिवासी, जनजातीहरुले विश्वसामू नेपाली हुँ भनेर गर्व गर्न र भविष्यमा आफ्नो सन्ततिको आँसु होइन हाँसो देख्न आफ्नो भाषा, संस्कृति, सभ्यता र इतिहाससँगै आफ्नो सामुहिक पहिचानलाई सशक्त रुपमा स्थापित गर्नु जरुरी छ ।