काठमाडौं, कार्तिक ५ । पहिलो चरणमा मंसिर १० गते हुने प्रदेश र प्रतिनिधिसभा प्रत्यक्षतर्फको निर्वाचनका लागि आइतबार ३२ जिल्लामा उम्मेदवारी दर्ता भएको छ । बिहान १० देखि ५ बजेसम्म उम्मेदवारी मनोनयनको समय तोकिए पनि दर्ताका लागि पुगेकाहरूको प्रक्रिया रातिसम्म जारी थियो । ‘५ बजेभित्र निर्वाचन अधिकृतको कार्यालय पुगेका सबैको दर्ता गर्नुपर्ने भएकाले प्रक्रिया अबेरसम्म जारी रहेको हो,’ आयोग प्रवक्ता नवराज ढकालले भने ।
राति ८ बजेसम्म आयोगमा उपलब्ध जानकारीअनुसार प्रतिनिधिसभाको ३७ सदस्यका लागि २ सय ५ र प्रदेशसभाको ७४ सदस्यका लागि ३ सय १३ जनाको उम्मेदवारी परेको छ । प्रवक्ता ढकालले अझै थप विवरण आउन बाँकी रहेको बताए । प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले उम्मेदवारी मनोनयन दर्ता शान्तिपूर्ण भएको र राजनीतिक दलहरूको सहभागिता उत्साहजनक रहेको बताए । मनोनयन दर्तासँगै उम्मेदवारका लागि निर्वाचन आचारसंहिता लागू भएको उनले जानकारी दिए ।
आयोगले उच्च हिमाली तथा पहाडी जिल्लाको निर्वाचन पहिलो चरणमा मंसिर १० गते र बाँकी ४५ जिल्लामा दोस्रो चरणमा मंसिर २१ गते तोकेको छ । दोस्रो चरणमा निर्वाचन हुने स्थानमा उम्मेदवारी दर्ता कात्तिक १६ गते हुनेछ । पहिलो चरणमा निर्वाचन हुने जिल्लाहरू प्रदेश १ का सोलुखुम्बु, संखुवासभा, भोजपुर, ओखलढुंगा, ताप्लेजुङ, पाँचथर र खोटाङ, प्रदेश ३ का नुवाकोट, रसुवा, धादिङ, सिन्धुपाल्चोक, दोलखा र रामेछाप छन् । त्यस्तै प्रदेश ४ को मुस्ताङ, म्याग्दी, बागलुङ, मनाङ, लमजुङ र गोरखा, प्रदेश ५ को रुकुम (पूर्वी भाग) र रोल्पा छन् । त्यसैगरी प्रदेश ६ का रुकुम (पश्चिम भाग), जाजरकोट, हुम्ला, मुगु, जुम्ला, कालिकोट र डोल्पा तथा प्रदेश ७ का दार्चुला, बझाङ, बाजुरा र बैतडीमा पनि १० गते पहिलो चरणमा निर्वाचन हुने हो ।
पहिलो चरणमा निर्वाचन हुने ३२ जिल्लामा प्रतिनिधिसभाका लागि ३७ निर्वाचन क्षेत्र छन् । नुवाकोट, धादिङ, सिन्धुपाल्चोक, बागलुङ र गोरखामा प्रतिनिधिसभाका लागि २/२ वटा निर्वाचन क्षेत्र छन् । अन्य जिल्लामा १/१ वटा मात्र निर्वाचन क्षेत्र छन् । पहिलो चरणको निर्वाचनमा ३२ लाख २८ हजार ८ सय ७९ जना मतदाता छन् । प्रत्येक जिल्ला सदरमुकाममा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालय र निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी मनोनयन दर्ता गरिएको आयोगका प्रवक्ता ढकालले बताए ।
एउटा मात्रै निर्वाचन क्षेत्र रहेको जिल्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय मात्रै खोलिएको छ । दुई निर्वाचन क्षेत्र रहेका जिल्लामा मुख्य निर्वाचन अधिकृत र थप एउटा निर्वाचन अधिकृतको कार्यालय खोलिएको छ । प्रदेशसभातर्फको उम्मेदवारी मनोनयन पनि सँगै भएको छ । प्रदेशसभाका लागि छुट्टै निर्वाचन अधिकृतको कार्यालय खोलिएको छैन । प्रतिनिधिसभातर्फका मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरूले नै प्रतिनिधिसभाको निर्वाचन क्षेत्रभित्र परेका प्रदेशसभा क्षेत्रको उम्मेदवारी मनोनयनदेखि निर्वाचन सम्पन्न गराउनेसम्मको जिम्मेवारी पाएका छन् ।
पहिलो चरणमा निर्वाचन हुने जिल्लामा प्रदेशसभातर्फ ७४ वटा निर्वाचन क्षेत्र छन् । प्रत्येक प्रतिनिधिसभाको निर्वाचन क्षेत्रभित्र प्रदेशसभाका दुईवटा क्षेत्र निर्धारण गरिएका छन् । प्रदेशसभा सदस्यको उम्मेदवारका लागि सोही प्रदेशभित्रको मतदाता हुनुपर्ने प्रावधान छ । विगतको निर्वाचनमा जस्तो एउटै व्यक्तिले एकभन्दा बढी निर्वाचन क्षेत्रबाट उम्मेदवार हुन पाउने छैन । संविधानले नै एकभन्दा बढी स्थानमा उम्मेदवार हुन नपाउने व्यवस्था गरेको हो । उम्मेदवारीउपर छानबिन र फिर्ताको समय सकिएपछि कात्तिक ८ गते निर्वाचन चिह्न प्रदान गरिने छ ।
टोपी, टि–सर्ट प्रयोगमा रोक
आयोगले आगामी निर्वाचनमा निर्वाचन चिह्न अंकित पहिरन टोपी, स्टिकर, टि–सर्ट, झोला, ट्याटु र गम्छा जस्ता सांकेतिक सामग्रीको उत्पादन, वितरण र प्रयोगलाई सख्त निषेध गरेको जनाएको छ । निर्वाचन खर्चलाई मितव्ययी बनाई निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र पारदर्शी बनाउने उद्देश्यले प्रचारका ती सामग्रीमा रोक लगाइएको हो ।
आयोगले आइतबार ७७ वटै जिल्लाका मुख्य निर्वाचन अधिकृत/निर्वाचन अधिकृत र प्रमुख जिल्ला अधिकारीलाई पत्र पठाएर त्यस्ता सामग्रीको उत्पादन तथा प्रयोगमा रोक लगाउन र नियन्त्रणमा लिन निर्देशन दिएको छ । आदेशविपरीत त्यस्ता सामग्री चुनाव प्रचारमा प्रयोग गर्ने दल र उम्मेदवारलाई कारबाही गरिने आयोगले चेतावनी दिएको छ ।
श्रोत इकान्तिपुर