काठमाडौँ – संघीय समाजवादी फोरम नेपाल राष्ट्रिय राजनीतिमा एकपटक पुनः चर्चामा आएको छ । २ नम्बर प्रदेशमा भएको स्थानीय चुनावमा दोस्रो स्थान कायम गरेपछि फोरम नेपालको ‘कमब्याक’ भएको पनि विश्लेषण भइरहेका छन् ।

२०५४ सालमा एक सामाजिक संस्थाको रुपमा गठित मधेशी जनअधिकार फोरम नेपाल आन्दोलनकै मध्यमबाट २०६४ सालको संविधानसभा चुनावमा देशकै चौथो र मधेशको पहिलो पार्टी बनेर चर्चामा आएको थियो ।

एकपटक मधेशी जनताले पुनः फोरम नेपाललाई पत्याएका छन् । ‘मधेशको मुद्दा छाड्यो, पार्टीबाट मधेश शब्द नै हटायो, मधेशलाई छाडेर पहाडतिर सर्यो’ जस्तो आरोेप खेपेको फोरम नेपाल ती सबै आरोपलाई यो चुनावबाट खण्डन गर्न सफल भएको छ ।

पहिलो मधेश आन्दोलनबाट उदाएको फोरम नेपाल पटक–पटक विभाजन भएर लगभग विघटनको अवस्थामा नै पुगेको थियो । आन्दोलनको क्रममा जुन–जुन नेतालाई उनले पार्टीमा प्रवेश गराएका थिए, ती सबैले पार्टी छाडेर हिडेका छन् । त्यतिबेला उपेन्द्र यादवलाई आरोप पनि लागेको थियो कि, ‘आन्दोलनकारीलाई पाखा लगाएर नवप्रवेशीलाई स्थान दिएका छन् ।’
विजयकुमार गच्छदार, शरतसिंह भण्डारी, जेपी गुप्ता, मृगेन्द्रसिह यादव, रामेश्वर राय यादव, जितेन्द्र सोनल, रामकुमार शर्मा जस्ता नेताहरु त्यतिबेला फोरम नेपालमा थिए । तर, समयको क्रमसँगै यीमध्ये कोही पनि पार्टीमा रहेनन् । सबैले फोरम फुटाएर अलग भएका थिए । त्यसले फोरम नेपाललाई निकै क्षति भएको थियो । संगठनमा ठूलो धक्का लागेको थियो ।

पार्टी फुटेको कारण उपेन्द्र यादव निराश थिए, तर हिम्मत कहिल्यै हारेनन् । त्यसपछि उनी पार्टी बनाउन आफै कम्मर कसेर लागेका थिए । पार्टी छाडेर गएकालाई कहिल्यै पनि नफर्काउने सोच बनाएका उपेन्द्र यादव आदिवासी– जनजातिलाई पार्टीमा जोड्न थाले । उनले त्यसको शुरुवात अशोक राई नेतृत्वको आदिवासी–जनजातिको पार्टी संघीय समाजवादी पार्टीसँग एकीकरणबाट गरेका थिए । अन्य साना दलहरुलाई मिलाउँदै उनी मधेशसँगै हिमाल र पहाडलाई जोड्ने काम गरे । यहाँसम्म कि आफ्नै नेतृत्वमा संघीय लोकतािन्त्रक गठबन्धन पनि गठन गरेका थिए, जसमा अधिकांश आदिवासी जनाति र मधेशी दलसहभागी थिए ।

संविधानमा मधेशीको अधिकार उल्लेख गराउनका लागि मधेशी मोर्चा र गठबन्धन बनाएर आन्दोलन शुरु गरेका उपेन्द्र यादवले आफ्नो संगठन निर्माणमा पनि उनले उत्तिकै ध्यान दिएका थिए ।
अन्य मधेशवादी दलको तुलनामा मधेशमा अलि बढी नै समय दिएर संगठन बनाए उनले । मोर्चामा रहेका अन्य दलहरु काठमाडौँमै अल्झेर बसे । तर, उनी संगठन निर्माणका लागि मधेश दौडाहामा नै रहे । त्यतिबेला देखि नै संविधान संशोधन नभएसम्म चुनावमा नजाने उद्घोष गरेका उपेन्द्र यादव भित्रभित्र चुनावको तीब्र तयारीमा थिए । ‘संविधान पुनः लेखन गर्नुपर्छ, संविधानलाई रद्दीको टोकरीमा फ्याल्नुपर्छ’ भन्दै पटक–पटक संविधानको प्रतिलिपी च्यातेका र जलाएका उपेन्द्र यादव आन्दोलनसँगै चुनावको तयारीमा जुटिसकेको विश्लेषक ठान्छन् । चुनाव अगाडि तराई मधेश पुग्दा पनि सो पार्टीका नेताहरु पहिलादेखि चुनावी तयारीमालागेको बुझ्न सकिन्थ्यो, उनीहरुसँगको कुराकानीमा ।

जतिबेला मधेशी मोर्चामा रहेका अन्य दलहरुले चुनाव विथोल्ने र चुनाव हुन नदिन रणनीतिमा लागेका थिए, त्यतिबेला उपेन्द्र यादवले मधेशमा गएर भित्रभित्रै चुनावको तयारी गर्दै स्थानीय तहमा चुनावमा उठाउनका लागि उम्मेदवार तयारी गर्दै थिए ।

चुनाव नजाने हो भने तपाई चुनावको तयारीमा किन लागेको ? मोर्चाका नेताहरुले प्रश्न गर्दा उनले कुनै–कुनै बहाना बनाएर त्यो कुरालाई टार्थे । तर, जब बैशाख १४ गते स्थानीय तहको चुनाव हुने निश्चित भयो अनि अध्यक्ष उपेन्द्र यादवले उम्मेदवारको घोषणा गरेपछि मात्र अन्य मधेशवादी दलले थाह पाएका थिए ।

मधेशको माग पूरा नहुँदै फोरम नेपाल चुनावमा गयो भन्दै मधेशी मोर्चा भङ्ग गरि संघीय लोकतान्त्रिक गठबन्धनबाट पनि उनलाई निकालिएको थियो र राजपा नेपालका अध्यक्ष महन्थ ठाकुर आफै अध्यक्ष बनेका थिए । उपेन्द्र यादव चुनावमा भाग लिएपछि राजपा नेपालले फोरम नेपाललाई राजनीतिकको प्रधान शत्रु जस्तै व्यवहार गर्न थालेको थियो ।

राजपा नेपालका नेता तथा कार्यकर्ताहरुले मधेशमा उपेन्द्र यादवको पुतलासमेत जलाए । यहाँसम्म कि मधेश प्रवेशमा समेत प्रतिवन्ध लगाउने प्रयास पनि गरे । त्यो दलले जहाँ त्यही उपेन्द्र यादवको कार्यक्रमलाई अवरोध गर्नुको साथै नारा जुलुस पनि गरेको थियो ।

राजपा नेपालको विरोधका कारण त्यतिबेला फोरम नेपाल रक्षात्मक अवस्थामा पुगेको थियो । थुप्रै ठाउँको कार्यक्रम स्थगित नै गर्नुपरेको थियो । पहिलो चरणको चुनावमा त राजपा नेपालले फोरम नेपाललाई केही गर्न सकेन । तर, असार १४ गते भएको स्थानीय तहको चुनावमा फोरम नेपाललाई हराउनका लागि अभियान नै चलाएका थिए ।

यहाँसम्म कि ठाउँ ठाउँमा स्वतन्त्र उम्मेदवार पनि खडा गरेका थियो । ‘बरु काँग्रेसलाई जिताउँ, वा माओवादी केन्द्र वा एमालेलाई जिताउँ तर फोरम नेपाल जित्नु हुँदैन’ भनि राजपा नेपालको आन्तरिक सर्कुलर नै थियो । आन्तरिक रुपमा नेता तथा कार्यकर्ताहरु परिचालित पनि भएका थिए । त्यतिबेला फोरम नेपाललाई धेरै क्षति भएको थियो । त्यसले गर्दा दोस्रो चरणमा भएको स्थानीय चुनावमा खासै सीट जित्न सकेन ।

पहिलो चरणको चुनावमा फोरम नेपालले एउटा सीट जितेको थियो भने दोस्रो चरणको चुनावमा आठवटा तह मात्र जित्न सकेको थियो, जब कि दोस्रो चरणको चुनाव पनि अधिकांश जिल्ला मधेशकै थियो । मोरङ, सुनसरी, कपिलवस्तु, रुपन्देही, कैलाली, बाँके, बर्दियाजस्ता जिल्लामा पनि फोरम नेपालले राम्रो स्थान ल्याउन सकेन र त्यसको कारण थियो राजपा नेपालको विरोध । जब कि संविधानसभा चुनावमा यी जिल्लाहरुबाट फोरम नेपालले राम्रो मत प्राप्त गरेको थियो ।

मधेश राजनीतिक विश्लेषक तुलानारायण साह भन्छन्, ‘यसरी जवर्जस्त रुपमा फोरम नेपालको आगमन हुनुमा तीन कुराले काम गरेको छ, एक नम्बरमा जारी संविधानलाई उपयोग गरेर जाने, दोस्रो हो संगठन र तेस्रो हो जातीयता ।’

संविधान जारी भएपछि उपेन्द्र यादवले भाषणमा जे जस्तो कुरा भनेपनि भित्रै मनदेखि संविधानलाई स्वीकार गरेको बताउँदै विश्लेषक साह भन्छन्, ‘अब जे हुन्छ यही संविधानलाई उपयोग गरेर अगाडि बढ्नुपर्छ भनि धारणा उहाँले बनाई सक्नुभएको थियो । अर्को कुरा ठूला दलपछि कुनै दलको संगठन छ भने त्यो हो फोरम नेपाल । राम्रो वा नराम्रो संगठन छ भने त्यो फोरम नेपालको मात्रै हो । फोरम नेपाल जतिको संगठन अन्य मधेशवादी दलको छैन ।’

त्यस्तै, उपेन्द्र यादवका लागि जातीय आधार मुख्य आधार भएको छ । २०६४ को आन्दोलनपछि मधेशमा जातीय कलस्टरहरु प्रष्ट रुपमा देखिएको थियो, त्यसमा यादव जाती राजनीतिमा जवर्जस्त रुपमा आए, जो उपेन्द्र यादवका लागि महत्वको विषय हुन गएको साहको टिप्पणी छ । यिनै तीन कारणले उपेन्द्र यादव मधेशमा जवर्जस्त रुपमा उदाएका छन् ।

यो चुनावमा काँग्रेस र एमालेले आफ्नो जनाधार गुमाएको छ भने माओवादी र राजपा नेपालले आफ्नो इज्जत जोगाएको टिप्पणी गर्दै विश्लेषक साह भन्छन्, उपेन्द्र यादवको पुनः आगमन नै भएको हो, जो अगामी दिनका लािग सुखद सन्देश हो ।’

 

Source:ratopati

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय