Advertisement


हिमाली सन्देश विश्वको सर्बोच्च शिखर सगरमाथा लगायतका धेरै हिमश्रृखलाहरू भएको देश नेपालको हिमाली क्षेत्रहरूमा बसोबास गर्ने शेर्पा जाति नेपालका आदिवासी हुन । नेपालको हिमाली क्षेत्रहरूमा आदिमकालदेखि नै बसोबास गर्दै आएको शेर्पा जाति अहिले विश्वमा प्रख्यात छ । विशेष गरी पर्वतारोहण क्षेत्रसँग सम्बन्धित भएका कारणबाट नै शेर्पाहरू विश्वमा सहासिक र ईमान्दार जातिको रुपमा परिचित छ । विश्वको सर्वोच्च शिखर सगरमाथामा पहिलो पटक पाईला टेक्ने र टेकाउने काम गरेको कारण आज शेर्पाहरूलाई सबैले चिन्ने गर्दछन । विश्वको सर्वोच्च शिखरमा पहिलो पाईला टेक्ने काम न्युजिल्याण्डका सर एडमण्ड हिलारी र तेन्जिङ नोर्ग शेर्पाले गर्नुभएको कुरा संसारलाई थाहै छ । त्यसपछि अहिलेसम्म जति पनि सगरमाथामा पाईला टेकेर किर्तिमान बनाइरहेका जो पनि छन उनीहरू सबैलाई सहयोग गर्ने भनेको शेर्पाहरू नै हुन । तसर्थ सबैले शेर्पा भनेको हिमालमा काम गर्ने मान्छे मात्रै भनेर बढी चिन्ने गर्दछ, तर शेर्पाको परिचय त्यत्ति मात्रै नभएर शेर्पा भनेको नेपालको एउटा आदिवासी जाति पनि हो र शेर्पाहरूको आफ्नै पृथक मौलिक भाषा, कला संस्कृति तथा परम्परा र ऐतिहासिक मुल्य र मान्यताहरू पनि रहेका छन । यद्यपी विशेष गरेर हिमाली क्षेत्रहरूमा बसोबास गर्ने भएको कारण र त्यस क्षेत्रको बातावरणसँग राम्रोसँग गुलमिल भएका कारण शेर्पाहरूको बढी पर्वतारोहण क्षेत्रमा नै क्रियाशिल रहेको अवस्था हो ।

प्रकृतिले रचना गरेका ८ हजार मिटर भन्दा माथिका अग्ला १४ वटा हिमालहरू मध्ये सगरमाथा सहितका ८ वटा हिमश्रृखलाहरू भएको देश नेपालमा ती हिमालहरूको आरोहण गर्ने पर्वतारोहण पेशा आफैमा सजिलो पेशा भने पक्कै होईन । यो कार्य वा पेशा आफैमा ज्यादै चुनौतीपूर्ण छ, किनकी यस्ता पेशाहरू शेर्पाहरूले आफ्नो ज्यानको बाजी लगाएर गरिरहेका हुन्छन । यही क्रममा नेपालको पर्वतारोहण क्षेत्रमा संलग्न धेरै शेर्पाहरूको ज्यान पनि गईसकेका छन भने थुप्रै अपाङ्ग समेत बनेका छन । यसरी यस्तो सहासिक कार्यलाई आफ्नो पेशा बनाएर कार्य गरिरहेका शेर्पाहरू आधुनिक विश्व समाजमा विभिन्न तरिकाबाट परिचित छन तर, प्रष्ट रुपमा उनीहरूको सहासिक कार्यको मुल्यांकन सहितको परिचय भने गराउन सकेका छनैन् भन्ने मेरो बुझाई रहेको छ । नेपालकै सन्दर्भमा कुरा गर्नपर्र्दा, ती पर्वतारोहीहरूले राज्यकै लागि आफ्नो ज्यानको बाजी लगाएर यो पेशा गरिरहेका छन तर, नेपाल सरकारको तर्फबाट अहिलेसम्म यी पेशामा रहेकाहरूका लागि उचित व्यवस्था र मूल्यांकन गरेका छैनन् । भवितव्य घटनाहरूमा परेकाहरूलाई तत्कालका लागि केही सहयोगहरू गरेको बाहेक अन्य उनीहरूको जीवन विमा लगायतका आरक्षित र सुरक्षित व्यवस्था गरेका छैनन, तसर्थ, यस सहासिक पेशामा काम गर्ने विशेष गरी शेर्पाहरू शरीरमा बल रहुञ्जेल जतिनै दुःख गरेपनि बुढेशकालमा र भवितव्य घटनाहरूमा परेको अवस्थामा उनीहरूको परिवारहरूको विचल्ली हुने गरेको यथार्थता सत्य रहने गरेका उदाहरणहरू छन । तर, यस्ता बिषयहरूको बारेमा विश्व मानव समाज झण्डै वेखबर नै होला सायद । म आफै पनि एकजना पर्वतारोही र शेर्पा समूदायको सामाजिक अभियान्त समेत भएको कारणले यस्तो महसुस गरेको हो । शेर्पाको बारेमा थुप्रै वृत्तचित्र, पुस्तकहरू बनेका छन तर ती सबैले शेर्पाहरूले गरिरहेको कार्यलाई सतही रुपमा मात्रै देखाउने प्रयास भईरहेको छ । हिमाल आरोहण पेशालाई अंगालेका शेर्पाहरूको वास्तवमा युद्धमा गएको सेना जस्तै हो तर, तिनको उचित मुल्यांकन नेपालमा सरकारले पनि गरिरहेको छैन । यसर्थ, शेर्पा जाति र उनीहरूको सहासिक पेशको बारेमा वास्ताविक यथार्थता सहितको स्थलगत दस्तावेज संकलन गरेर शेर्पाहरू र उनीहरूको पेशा तथा शेर्पाहरूले सो पेशाका लागि प्रदर्शन गर्ने सहासिकताको बारेमा विश्वका सबै मानव समाजलाई उचित जानकारी गराउने र सम्बन्धित निकायलाई समेत विशेष ध्यानाकर्षण गराउने उद्देश्यले गत मे २० तारीख २०१७ मा पुनः एकपटक सगरमाथाको आरोहण गरी स्थलगत रुपमा नै त्यहाँका सबै भिडियो दस्तावेज संकलन कार्य सम्पन्न गरिसकेको छु । तसर्थ अहिले उक्त स्थलगत रुपमा मैले संकलन गरेको भिडियो दस्तावेजलाई समायोजन गरेर अगाडी उल्लेख गरेका सबै बिषयहरुलाई समेटेर एउटा वृत्तचित्र बनाउने क्रममा रहेको जानकारी गराउदै यस अभियानमा यहाँको अमुल्य सहयोगका लागि सबैमा विशेष अनुरोध गर्न चहान्छु । उक्त वृत्तचित्र विशेष गरी सामाजिक र जनचेतनाका लागि निर्माण गरिने भएको हुँदा विशेष गरी आरोही शेर्पाहरुलाई निम्नलिखित बुँदामा टेवा पुगोस भन्ने उद्देश्यका साथ तयार गरिनेछ ।

  1. नेपालको पर्वतारोहण पेशामा रहेका शेर्पाहरूको कुनै पनि बेला दुर्घटनामा परेर मृत्यु भएमा कम्तीमा रू २० लाख नगद राज्यको तर्फबाट र उनीहरूका बालबालिकाहरूको स्वास्थ्य र शिक्षाको व्यवस्था राज्यले गरिदिनुपर्ने ।
  2. काम गर्ने क्रममा अपाङ्ग भएमा उनीहरूको भरणपोषण र उपचारको व्यवस्था राज्यले गरिनुपर्ने ।
  3. पर्वतारोहण क्षेत्र एउटा सहासिक क्षेत्र हो, तसर्थ यस क्षेत्रमा काम गर्नेहरू र पर्यटकहरुका लागि विशेष गरी यस क्षेत्रलाई बढी भन्दा बढी सुरक्षित बनाउन राज्य र सम्बन्धित निकायलाई ध्यनाकर्षण गराउने ।
  4. नेपालको हिमाल आरोहण क्षेत्रमा शेर्पाहरुले गर्दै आईरहेको सहासिक सहयोगी कार्यलाई सबैमाझ जानकारी गराउने ।
  5. उमेर रहँदा सम्म आरोहण क्षेत्रमा काम गरेका आरोहीहरु उमेर हदका कारण यस क्षेत्रमा काम गर्न नसक्ने अवस्था भएपछि उनीहरुका लागि राज्यले विशेष सामाजिक सुरक्षा भत्ताको व्यवस्था गरिनुपर्ने ।
  6. नेपालमा पर्यटन क्षेत्रको अझ विकासका लागि नयाँ नयाँ सम्भावित पर्यटकीय क्षेत्रहरुको पहिचान गरि सो क्षेत्रहरुमा पर्यटन प्रवद्र्धन गर्ने गराउने र विदेशीहरुलाई भ्रमणका लागि आकर्षण बढाउन प्रयास गर्ने ।
  7. आरोहण क्षेत्रमा देखिएका अव्यवस्थाहरुको पहिचान गरी यस क्षेत्रलाई व्यवथित र विश्वसनीय बनाउनका लागि सचेत तुल्याउने ।
  8. हिमाल आरोहणको क्रममा अहिलेसम्म ज्यान गुमाएका आरोहीहरुको पूर्ण तथ्यांक संकलन गरी उनहरुका परिवारलाई समेत राहत उपलब्ध गराउन पहल गरिने गरी उक्त वृत्तचित्र तयार गरिनेछ ।

कामा छिरिङ शेर्पा
उपाध्यक्ष,
शेर्पा सोसाईटी पोर्तुगल

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय