सोलुदुधकुण्ड नगरपालिकाले सोलुखुम्बुमा रहेका बियर गोदाममा ताला लगाएको छ । नगरपालिकाले बजारक्षेत्रमा अब्यबस्थित रुपमा बियरका बोतलहरु जथाभाबी फालिएकाले नगरको सरसफाईमा गम्भिर चुनौती खडा भएको भन्दै गोर्खा ड्रोरी मार्फत बियरको बिक्री बितरण गर्दै आएको लक्ष्मि स्टोर्सको बियर गोदाममा ताला लगाएको हो । गोर्खा वु्रअरी मार्फत सानमिगेल, टुबोर्ग लगायतका बियरहरुको बिक्री हुदै आएको छ । त्यस्तै, राज ब्रुअरी लगायतका अन्य कम्पनीका सिसाजन्य उत्पादनलाई पनि बोतल नउठाएसम्मका लागि विक्रिमा रोक लगाईएको छ । बिक्रेताले बियरका बोतलहरुलाई ब्यबस्थापन गर्न तर्फ कुनै ध्यान नदिएकाले ताला लगाउन बाध्य भएको नगरपालिकाले जनाएको छ । पटक पटक पत्र काटेर बियरका खाली सिसिहरु रि–साईकलका निम्ति लैजान आग्रह गर्दापनि सम्बन्धित डिलरहरुले अटेरी गरेको नगरपालिकाले जनाएको छ । बियरका खाली बोतलहरु संकलन गरी ब्यबस्थापन नगरेसम्म बियर बिक्री गर्न नदिने नगरपालिकाका मेयर नाम्गेलजाङ्गबु शेर्पाले बताउनुभयो । ब्यबसाय गर्न छुट भएपनि नगरको सरसफाईलाई ध्यानमा राख्दै कठोर कदम चालिएको मेयर शेर्पाको भनाई छ ।
हाल सोलुखुम्बुमा बार्षिक ५० हजार कार्टुन बियर भित्रिने गरेको लक्ष्मी स्टोर्सका प्रोपाईटर स्कन्द श्रेष्ठले जानकारी दिनुभएको छ । यसरी हेर्दा बार्षिक ७ लाख २० हजार बियरका बोतलहरु सोलुखुम्बु भित्रिरहेका छन । तर त्यसको उचित ब्यबस्थापन नहुदा नगरको सुन्दरतासंगै सरसफाईमा पनि चुनौती खडा भएको छ । सल्लेरी बजारका होटलहरुमा मात्रै बर्षमा १० हजार कार्टुन बियर खपत हुने गरेको छ । हाल सल्लेरी बजारमा मात्रै १ लाख भन्दा बढि वियरका खालीबोतलहरु भएको अनुमान गरिएको छ । ति बोतलहरुलाई यथाशिघ्र जिल्लाबाट बाहिर पठाउन आफु तयार रहेको लक्ष्मी स्टोर्सका प्रोपाईटर स्कन्द श्रेष्ठले बताउनुभयो । तर नगरपालिकाले भने सबै खाली बोतलहरु नउठाएसम्म बियर बिक्री गर्न नदिनेमा अडान लिएको छ । सोही अडान अनुरुप सल्लेरीमा रहेको तिनवटा गोदाममा नगरपालिकाले ताला लगाईदिएको छ । गोदाममा रहेका ३ हजार ६५८ कार्टुन बियरमा शिलबन्दी गर्दै गोदाममा ताला लगाईएको हो ।
-हिमाल एफ एम्