काठमाडौं सगरमाथा आरोहण आफैमा एउटा रोमाञ्चक र साहसी यात्रा हो । यो यात्राका लागि आँटमात्र होइन परिवारको अनुमति, सहयोग चाहिन्छ । खतरा मोल्दै संसारकै चुचुरो चुम्नु सामान्य होइन । यसैले ज्यान बाजी राखेरै संसारको अग्लो स्थानमा पुग्नुपर्छ ।

यसरी पुग्न नेपाली समाजले पुरुषलाई सजिलै अनुमति दिन्छ । तर, महिलाका लागि भने यस्तो अनुमति पाउन मुश्किलै हुन्छ । बा, दाजुभाईले, पतिले मात्र हैन उनीहरुले सबैभन्दा पहिले त आफ्ना आमा, सासु अथवा दिदीबहिनीलाई नै ‘कन्भिन्स’ गनुपर्ने हुन्छ । नभए यस्तो साहासिक यात्राको बाटो बन्द हुने गर्छ ।

यसका बाबजुद यस वर्ष धेरै नेपाली महिलाले सगरमाथा आरोहण तयारी गरेका छन् । आफ्नो परिवार समाजलाई कन्भिन्स गर्दै उनीहरु सगरमाथाको आरोहण तयारीमा जुटिसकेका छन् ।

‘आइस एक्स समातेर सगरमाथाको चुचुरोबाट पत्रकारिता गर्छौ’
सगरमाथा आरोहणको तयारीमा रहेकामध्ये पाँच महिला पत्रकारको टोली अहिले चर्चामा छन् । उनीहरु मिडियामा छाइरहेका पनि छन् । यो टोलीमा टोलीमा रोशा बस्नेत (राष्ट्रिय समाचार समिति), प्रियालक्ष्मी कार्की (न्युज २४ टेलिभिजन), कल्पना महर्जन (मेघा टेलिभिजन), रोजिता बुद्धाचार्य (नेपाल टेलिभिजन) र देउराली चाम्लिङ (स्वतन्त्र पत्रकार) छन् । उनीहरु ड्रिमर डेस्टिनेसन एन्ड ट्रेक्सबाट मे महिनामा सगरमाथा चुम्ने तयारीमा छन् ।

सगरमाथा आरोहणबारे रोशा भन्छिन्–हामी पहिलो महिला पत्रकार टोली हो । महिलाको क्षेत्रमा केही नयाँ केही गरौ भनेर हो । रोजिताले भने सगरमाथाको चुचुरोमा पुगेर नयाँ ढंगले पत्रकारिता गर्न लागेको बताइन् । भनिन्, ‘मे १२ देखि २९ सम्ममा चाहि सगरमाथा एटेम्ट गर्ने हाम्रो योजना बनेको छ । परिवारमा कन्भिन्स गर्दैछौ । कलम समाएर डेस्कमा काम गथ्र्यौ । अब आइस एक्स समातेर सगरमाथाको चुचुरो पुगेर जर्नलिजम गर्छौ । माथि गएर महिला सशक्तीकरणका मुद्दा उठाउँदा भोल्युम हाइ हुन्छ भनेर हामी सगरमाथा चढ्न थालेको हो । शेर्पा टिचरको सहयोगबाटै हामी सगरमाथा चढ्दै छौ ।’

समूहकी कल्पना भने एका छोराकी आमा हुन् । त्यसैले उनलाई घरबाट अनुमति पाउन निकै मुश्किल भएको रहेछ । भन्छिन्, ‘छोरा १८ महिना हुँदा नै म माउन्टेनियरिङमा निस्केको थिएँ । श्रीमानको साथ पाएँ । सुरुमा सासुलाई भन्न सकिनँ । पछि पन िसासुले त सपोर्ट गर्नु भएन । दोलखाको हिमाल चढेर नामदुम हिमाल चढेर आएको भनेर छोरासँग सेयर गरेको उसले त किन त्यो हिमाल चढेको भनेर सोधे । त्यसपछि कुन चढ्नु भनेर सोधेको उसले त सगरमाथा किन नचढेको भनेर पो सोधे । त्यसपछि मलाई सगरमाथा चढ्ने उत्साह आयो । अहिले छोरो ६ वर्ष पुग्यो छोरो ।’

देउरालीलाई भने परिवारलाई मनाउन खासै गाह्रो भएन । भन्छिन्, ‘गाउँमा जन्मेको, गाउँमै हुर्केको । परिवारमा खासै अनुमति माग्न खासै गाह्रो भएन । घुम्न मन पराउने । बन्जी, प्याराग्लाइडिङ मन पराउँछु । आमा सधै पूजा गर्नुहुन्छ हाम्रो यात्रा सफल होस ।’

प्रिय लक्ष्मीले अब महिलाहरु बोलेर मात्र हैन समानताको कुरा काम गरेर देखाउनुपर्ने बताउँछिन् । भन्छिन्, ‘मिडियामा समानताका लागि बुलन्द आवाज नाराका साथ कार्यक्रम भइरहेको छ । तर कार्यक्रममात्र भइरहेको छ । महिलासँग समानताका आवाजमात्र उठाएको छ । वर्षौ भइसकेको छ । आवाजमात्र हैन अब एक्सनमा जानुपर्छ भनेर अघि बढेका हौ ।’

अरु दुई जना पत्रकार पनि सगरमाथा आरोहणको तयारीमा छन् । पूर्णिमा फोटो पत्रकारका रुपमा छुट्टै टोलीमा छिन् । डोमा शेर्पा पहिलो महिला शेर्पा पत्रकारका रुपमा एकल आरोहणमा जाने तयारीमा छिन् । उनले अप्रिल ११ मा काठमाडौंबाट सगरमाथा आरोहणका लागि जाने मिति तय गरिसकेकी छिन् ।

पर्यतीय पर्यटनको प्रवद्र्धन र नव आगन्तुक पत्रकार महिलालाई हौसला दिने उद्देश्यका साथ पत्रकार शेर्पाले चैतमा सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने घोषणा गरेकी छिन् ।

पहिलो महिला शेर्पा पत्रकार

काठमाडौँमा पत्रकार सम्मेलन गर्दै उनले ‘पहिलो महिला शेर्पा पत्रकार सगरमाथा आरोहण २०१८’ को तयारीका लागि गत मंसिर २५ गते सोलुखुम्बुमा रहेको छ हजार १८९ मिटर उचाइको आइसल्याण्ड पिकमा सफल आरोहण गरेको जानकारी दिइन् ।

उनले भनिन्, ‘सगरमाथा आरोहणको मुख्य उद्देश्य पर्वतीय पर्यटनलाई महत्व दिन र राष्ट्रिय , अन्तर्राष्ट्रियस्तरमा प्रचारप्रसार गर्नका लागि हो ।’
दूधकुण्ड नगरपालिका वडा नं ३ सोलुखुम्बु निवासी शेर्पा हिमाली सन्देश डट कमका सञ्चालक हुनुका साथै आदिवासी जनजाती पत्रकार महासंघका सदस्य पनि हुन् । उनी इन्डिजेनस टेलिभिजनमा हिमाली आवाज कार्यक्रमसमेत सञ्चालन गर्छिन् ।

सगरमाथाको चुचुरोमा कफी खुवाउने

नयाँ रेकर्डका साथ सगरमाथा आरोहण गर्ने लक्ष्य लिएकी छन् दोलखा उत्तरी गाँउ गौरीशंकर गाँउपालिका स्थित सिमीगाँउकी २३ बर्षीया दाबुटी शेर्पाले । दाबुटी नेपाली कफी प्रमोसन गर्ने उदेश्यका साथ पहिलो बारिष्टा महिला शेर्पा सगरमाथा अभियान सन् २०१८ मा सगरमाथा आरोहण गर्ने तयारीमा जुटेकी छन् ।

अहिले उनी बौद्धमा मितिनीकै शाखाको रुपमा आफ्नै मितिनी नामकै क्याफे सञ्चालन गरिरहेकी छन् । सगरमाथाको आरोहण गर्ने आफ्नो सानो देखिको शौख पनि पुरा हुने र आफ्नो व्यवसायको प्रवद्धन पनि हुने भएकोले कफी सहितको आरोहणको तयारीमा लागेको दाबुटी बताउछिन् । नेपाली कफी हामी नेपालीहरुले कहिल्यै प्राथामीकतामा राखेनौ दाबुटीले भनिन् – यसको बजार विदेशमामात्र सिमित भयो त्यसैले नेपाली कफीको बजार नेपालमै प्रमोसन गर्न सगरमाथा आरोहणको तयारीमा छु ।

दाबुटीले नेपाली कफी प्रमोसनको लागि सगरमाथाको चुचुरोमा पुगेर कफी बनाई अन्य आरोहिहरुलाई दिने योजना बनाएकी छन् । त्यसैगरी क्याम्प १, २, ३ र ४ मा पनि सगरमाथा आरोहणमा सहभागी पर्यटकलाई कफी खुवाउने लक्ष्य लिएको दाबुटी बताउछिन् ।

तीन गाइड

तीनजना महिला सगरमाथा चढ्ने भएका छन् । लामो समयदेखि ट्रेकिङ गाईडको रुपमा काम गर्दै आएका तीनजना महिला सगरमाथा चढ्ने भएका हुन् । ‘महिला आत्मनिर्भरका लागि पर्वतारोहण’ भन्ने मुल नारा लिएर पर्यटन क्षेत्रमा महिलाको सहभागी वृद्धि गराउने लक्ष्यका साथ तीन महिला सगरमाथा चढ्न लागेको बताइएको छ । वैदेशिक रोजगारीबाट फर्किएका पीडित, दलित र एकल महिलालाई सहयोग गर्ने आरोहीको लक्ष्यसहित उनीहरु सरमाथा चढ्न लागेका हुन् । १० वर्षदेखि ट्रेकिङ गाईडको रुपमा काम गर्दै आएकी लाक्पा याङ्जी शेर्पाले वुमन–एभरेस्ट एक्पिडिसन–२०१८ टिमको नेतृत्व गर्ने बताएकी छिन् । यस्तै अन्य सदस्यहरुमा ५ वर्षदेखि ट्रेकिङ गाइडको रुपमा काम गर्दै आएकी याङ्डी शेर्पा र १३ वर्षदेखि ट्रेकिङ गाइडको रुपमा काम गर्दै आएकी पासाङ ल्हामु शेर्पा रहेको बताईएको छ । उनीहरुले अप्रिल ७ गते काठमाडौंबाट जाने र मौसमले साथ दिए मे १८ मा विश्वको सर्वोच्च शिखरमा चड्ने योजना रहेको जानकारी दिए ।

बुद्ध नेपालमा जन्मेका हुन् भन्ने सन्देश फैलाउन

काभ्रे रोशी भिमखोरीकी शर्मिला स्याङतान तामाङ र दोलखा जिल्ला गौरीशंकर गाउँपालिका वडा नं २ की छोकी शेर्पा पनि सगरमाथा आरोहणको तयारीमा छन् ।

भगवान बुद्धको जन्म नेपालमा भएको ध्रुवसत्यलाई कुल्चेर भारतीय सञ्चार माध्यमहरूले बुद्धको जन्मस्थलको सम्बन्धमा विभिन्न भ्रमहरू फैल्याइ बुद्धलाई नै विवादास्पद तुल्याउने कार्य भइरहेको अवस्थामा ‘बुद्ध नेपालमा जन्मेका हुन्’ भन्ने सन्देश लेखिएको व्यानरसहित सगरमाथा आरोहण गर्न लागिएको पर्वतारोही तामाङले जानकारी दिए । पर्वतारोही शेर्पाले पर्यटन क्षेत्रको विकास र पर्वतारोहणमा महिलाहरूको सहभागिता वृद्धि गराउने उद्देश्यका साथ सगरमाथा आरोहण गर्न लागिएको बताइन् ।
लक्मी तामाङ

२०१७ को अगस्ट २४ मा गौरीशंकर हिमाल नजिक रहेको रामदुङ हिमालको सफल आरोहण गरिसकेका महिला पर्वतारोही तामाङ र शेर्पा पायोनियर एड्भेन्चर नामक संस्थाको सहयोगमा आगामी वसन्त ऋतुमा सगरमाथाको आरोहण हुने भएको छ । उनीहरुलाई लाक्पा शेर्पाले नेतृत्व गर्नेछिन् । लाक्पा शेर्पा के–२ आरोहणमा कम उमेरको आरोहीको रुपमा रेकर्ड राखेकी आरोही हुन् ।

यसैगरी काभ्रे देवीटारकी लक्मी तामाङ पनि सगरमाथा आरोहणको तयारीमा छिन् । माउन्टिनियरिङको विद्यार्थीसमेत रहेकी उनी ८ हजारभन्दा कम उचाइका हिमालमा आरोहण गरिसकेकी छिन् । यसपटक सगरमाथाको चुचुरो चुम्ने तयारीमा रहेकी उनले सहयोगको अपेक्षासमेत गरेकी छन् । ‘यसपटक सगरमाथा र लोत्से दुबै चढ्ने योजना बनाएकी थिएँ । तर सोचेजस्तो सहयोग नजुटेकोले सगरमाथामात्र चढ्ने योजनामा छु,’ लक्मीले भनिन् ।

लैंगिक समानताका लागि आरोहण

लैंगिक समानताको लागि सकारात्मक सोच, सर्वोच्च शिखरबाट समावेशी समाजको उद्घोष’भन्ने मुलनाराको साथ ट्रेकिङ गाइडको रुपमा काम गर्दै आएकी दिकी शेर्पाले सगरमाथा आरोहण गर्ने भएकी छिन् । शेर्पा आउँदो मार्चमा सगरमाथा आरोहण गर्न लागेकी हुन् । पर्यटन र सहासिक पर्यटनको क्षेत्रमा महिलाहरुको सहभागिता बढाउँदै आर्थिक, सामाजिक, राजनैतिक क्षेत्रमा आम महिलालाई अघि बढाउन प्रेरित गर्ने हेतुले सगरमाथा आरोहण गर्न लागेको उनले जानकारी दिईन् ।
शेर्पा २०७० सालदेखि पर्यटन पथ प्रदर्शकको रुपमा काम गर्दै आएकी छिन् । शेर्पाले ६ हजार ४ सय मिटर अग्लो मेरा पिक र ५ हजार ९ सय २५ मिटर अग्लो राम्दुङ पिक र ८ हजार १ सय ६३ मिटर अग्लो मनास्लु हिमालसमेत सफल आरोहण गरिसकेकी छन् ।

एभरेस्ट टाइम्स बाट साभार

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय