काठमाडौं : सम्पर्क अधिकृत अनुपस्थित हुँदा आधारशिविर पुगेका आरोहण दलका सदस्य गैरकानुनी गतिविधिमा संलग्न हुने पाइएको छ । राज्यले कानुनी रुपमा आरोहण दलका सदस्यको निगरानी र सहयोगका लागि सम्पर्क अधिकृत फिल्डमै खटाए पनि उनीहरू आधारशिविरमा नबस्दा जथाभावी फोहोर फाल्ने, कामदारबीच समन्वय नहुने, विदेशी आरोहीको अपमान गर्नेलगायत समस्या आउने गरेको छ ।
समस्या समाधानका लागि पहल गर्न सम्पर्क अधिकृत नै नभेटिने मनास्लु आधारशिविरबाट आरोहण दलका बेसक्याम्प मेनेजर तेम्बा छिरी शेर्पाले बताए । मनास्लु हिमाल आरोहणका लागि एक महिनाअघि २० आरोहण दलका सदस्य आधारशिविर पुगिसकेका छन् । एउटा आरोहण दलका लागि एक जना सम्पर्क अधिकृत खटाइए पनि २० जनामध्ये कोही पनि आधारशिविर नपुगेको आरोहीको गुनासो छ ।

आरोहण सफल भए÷नभएको सम्पर्क अधिकृतले फिल्डबाटै विभागमा जानकारी सहितको प्रतिवेदन बुझाउनुपर्ने हुन्छ तर सम्पर्क अधिकृत फिल्ड नजाँदा नक्कली आरोही र गैरकानुनी गतिविधि बड्दै गएको छ । यता ट्रेकिङ एजेन्सीले भने सम्पर्क अधिकृतलाई लत्ताकपडाको रकम नदिए काठमाडौंबाटै प्रतिवेदनमा समस्या बनाउने गरेको आरोप लगाएका छन् ।

सम्पर्क अधिकृत उपस्थित भए आफूहरूलाई सहयोग पुग्ने भन्दै तत्काल आधारशिविर पठाइदिन आरोहण दलका सदस्य पासतेन्जी शेर्पाले पर्यटन विभागका महानिर्देशकसँग माग गरे । आरोहण दलका एजेन्सीले आधारशिविर पुग्ने भन्दै गुणस्तरीय कपडा, जुत्ता, अत्यावश्यक सामग्री गरी करिब २ लाखभन्दा बढी रकम बुझाए पनि आधारशिविर नपुगेको भन्दै शेर्पाले गुनासो पोखे । खटाएको कर्मचारी नगएको जानकारी पाए पनि विभागले फिल्डमा जान कुनै निर्देशन नदिने गरेको बुझिएको छ । सम्पर्क अधिकृत फिल्डमा जाँदैनन् भनेर सोध्दा विभागबाट यो पुरानै रोग हो जस्ता जवाफ आउने गरेको छ तर पठाउन कडाइ गरेको पाइँदैन । सम्पर्क अधिकृत नपुग्दा समस्या थपिने गरेकाले आरोहण क्षेत्र नै दूषित बन्दै गएको छ ।

एउटा आरोहण दलका लागि एक जना सम्पर्क अधिकृत खटाइए पनि २० जनामध्ये कोही आधारशिविर नपुगेको आरोहीको गुनासो छ ।

आरोहणमा सम्पर्क अधिकृतविना कुनै पनि गतिविधि अघि बढाउन सकिँदैन । बिरामी या मृत्यु भए पनि सनाखतमा सरकारी प्रतिनिधि आवश्यक पर्छ तर हुँदैनन् । बिमा कम्पनीले सरकारी प्रतिनिधिविना गरिएको मुचुल्कालाई मान्यता नदिँदा झन् समस्या हुने गरेको पाइएको छ । आरोहीले जबरजस्ती आरोहण अघि बढाउने प्रयास गरी गर्दै आएको तेम्बाले बताए ।

शरद ऋतु (अटम) सिजन भए पनि सुरुमै नेपाल तर्फबाट हिमाल आरोहण गर्नेको संख्या बढेको छ । चीनले सगरमाथा आरोहण एक वर्षयता बन्द गरेपछि यो मौसम सुरुमै ठूला हिमालका लागि ३९ आरोहण दलका ३ सय ११ र साना हिमालका लागि १९ दलका ३९ जनाले आरोहण अनुमति लिइसकेका छन् । नाङपाइ-१, मुस्ताङ-३, धौलागिरि-२, सारेवुङ-२, अरनिको चुली-१, मकालु-१ र ल्होत्सेमा एउटा आरोहण दल आधारशिविर पुगे पनि सम्पर्क अधिकृत नपुगेको आरोहण दलले जनाएको छ ।

 

Source:Annapurna post

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय