टोकियो, जापान: गण्डकी प्रदेश सरकारले नेपाली खस भाषाका अतिरिक्त गुरुङ र मगर भाषालाई सरकारी कामकाजको भाषाको रूपमा प्रयोग गर्ने सम्बन्धी विधेयक सर्वसम्मतले पारित गरेपछि टोकियोमा एक विशेष उत्सव तथा बधाई कार्यक्रम सम्पन्न भएको छ।
गण्डकी प्रदेश सभाको आठौं अधिवेशनको २२ औँ बैठकले गरेको यो ऐतिहासिक निर्णयको खुसीयाली मनाउन गुरुङ समाज जापानले हिजो जुलाई १२ तारिखका दिन टोकियोको सिनोकुबोस्थित ब्याम्बो छेमा एक विशेष कार्यक्रमको आयोजना गरेको थियो।

सो कार्यक्रममा गुरुङ समाज जापानका अध्यक्ष युवराज गुरुङले यो ऐतिहासिक उपलब्धिका लागि गण्डकी प्रदेश सरकार, प्रदेश सभाका सम्पूर्ण माननीय सदस्यज्यूहरू, र यो मागलाई निरन्तर उठाइरहने तथा भूमिका खेल्ने गुरुङ र मगर जातिको साझा छाता संस्था तमू ह्यल छोंज धीं गुरुङ राष्ट्रिय परिषद र नेपाल मगर संघका सम्पूर्ण सदस्यहरूप्रति हार्दिक आभार व्यक्त गर्नुभयो। उहाँले विशेषतः प्रदेश अर्थमन्त्री माननीय डा. टकराज गुरुङ, भाषाशास्त्री अमृत योन्जन तामाङ, भाषा आयोगका पदाधिकारीहरूसहित यो अभियानमा महत्त्वपूर्ण योगदान पुर्याउने सबैलाई धन्यवाद ज्ञापन गर्नुभयो।
यो निर्णयले गण्डकी प्रदेशभित्र बहुसंख्यकले बोल्ने मगर र गुरुङ भाषाको संरक्षण र विकासमा ठूलो योगदान पुग्ने अपेक्षा गरिएको छ। विधेयकको व्यवस्थाअनुसार, अब प्रदेशका मन्त्रालय, आयोग, र कार्यालयहरूमा यी दुई भाषामा समेत काम हुनेछ। यसले सरकारी कामकारबाहीलाई सरल र सहज बनाउनुका साथै, सेवाग्राहीले आफ्नै भाषामा निवेदन र कागजात पेश गर्न सक्नेछन्।
टोकियोमा आयोजित उक्त खुसीयाली कार्यक्रममा जापानमा रहेका गुरुङ र मगर समुदायका साथै शुभचिन्तकहरूको बाक्लो उपस्थिति रहेको थियो।

अध्यक्ष गुरुङले यो ऐतिहासिक अवसरमा विश्वभरका सम्पूर्ण तमू (गुरुङ) हरूलाई खुसीयाली बाँड्दै हार्दिक बधाई ज्ञापन गर्नुभयो। यो निर्णय कागजमा मात्र सीमित नभई कार्यान्वयनमा लैजान आग्रह गर्दै, यसले नेपालको भाषिक विविधता र सांस्कृतिक सम्पदालाई थप बलियो बनाउने विश्वास व्यक्त गरिएको छ।
कार्यक्रमको संचालन संस्थाका महासचिव मोति गुरुङले गर्नुभएको थियो ।
photo -Chandra Gurung





