काठमाडौं, पुस ६ । पुस महिना लाग्दानलाग्दै हिमाली क्षेत्रमा हिमपात र तराई क्षेत्रमा शीतलहर चल्न थालेपछि जनजीवन प्रभावित भएको छ । हिमाली क्षेत्रमा हिमपात सुरु भइसकेकाले पदयात्राका लागि योजना नबनाउन र पदयात्रा छोट्याई सुरक्षित स्थानतिर आउन विज्ञले सुझाव दिएका छन् ।
तराई र तराईसँग जोडिएका भित्री मधेसका जिल्लामा लामो शीतलहर चल्नसक्ने भएकाले मानव स्वास्थ्यमा प्रतिकूलता पर्नसक्नेतर्फ सचेत हुन पनि सबैलाई विज्ञले सुझाव दिएका छन् ।
डिसेम्बरको दोस्रो हप्तादेखि नेपाललगायत भारत, भुटान, पाकिस्तान, म्यानमार, बङ्गलादेश लगायतका दक्षिण एसियाली मुलुकमा लामो शीतलहर चल्ने गर्छ । डिसेम्बर १० देखि नेपालका पश्चिम तराईमा शीतलहर चल्न सुरु भएको र डिसेम्बर १५ सम्ममा पूर्वी नेपालमा समेत शीतलहर चलेको जल तथा मौसम विज्ञान विभागका मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
गत हप्तादेखि सुरु भएको शीतलहरले तराईको जनजीवन निकै प्रभावित बनाएको छ । पहाडी क्षेत्रमा बाहेक तराईका प्रमुख सहरको हवाई सेवासमेत अवरुद्ध भएको महाशाखाले बताएको छ । गत आइतबारबाट तराईमा दिउँसो घाम झुल्किए पनि पुनः शीतलहर चल्नसक्ने सम्भावना रहेकाले बालक, वृद्धवृद्धाको स्वास्थ्यमा असर पर्नसक्नेतर्फ सचेत रहन आग्रह गरिएको छ । समाचार आजको गोरखापत्रमा छापिएको छ ।
डा. मदन ज्ञवाली चिसोले आममानिसलाई असर पार्ने भए पनि विशेष गरेर बालबालिका र वृद्धवृद्धाको स्वास्थ्यमा निकै असर पर्ने हुँदा बालबालिका र वृद्धवृद्धाले खानपानमा ख्याल गर्नुपर्ने, बाक्लो लुगाकपडा लगाउनुपर्ने र खुला चउर वा स्थानमा धेरै बेर बस्न नहुने सुझाव दिन्छन् ।
डिसेम्बरको तेस्रो साता लाग्दासम्म काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम पाँच डिग्री सेल्सियसभन्दा ओरालो लाग्दै गएको छ भने दिपायल, सुर्खेत, धनकुटा, इलाम लगायतका क्षेत्रमा पाँच डिग्रीभन्दा पनि तल झरिसकेको विभागले जनाएको छ । त्यसैगरी जुम्ला, बझाङ, सोलुखुम्बु, ताप्लेजुङ, मनाङ, मुस्ताङ लगायतका उच्च हिमाली क्षेत्रमा तापक्रम घटेर ऋणात्मक (माइनस)मा झरिसकेको छ ।
उच्च हिमाली क्षेत्रमा हिमपात हुन सुरु भइसकेको छ भने माथिल्लो क्षेत्रका बस्ती तल बेसीतिर झरिसकेका छन् । जल तथा मौसम विज्ञान विभागका महानिर्देशक डा. ऋषिराम शर्माका अनुसार एक/दुई दिन तराई क्षेत्रमा दिउँसो घाम लाग्न थाले पनि पुनः लामो समयसम्म शीतलहर चल्नसक्ने भएकाले मानव स्वास्थ्य र हिउँदे तरकारी बालीमा प्रत्यक्ष असर पर्नसक्ने देखिएको छ ।
स्वास्थ्य विभागका अनुसार तराईमा चिसोले उत्पन्न हुने रोगका कारण स्वास्थ्य संस्थामा आउने बिरामीको चाप बढ्न थालेको छ ।
यसैबीच गृह मन्त्रालयले शीतलहर तथा चिसोबाट प्रभावित परिवारको उद्धार तथा पुनस्र्थापनाका लागि सम्बन्धित मन्त्रालय, विभागहरू, जिल्ला दैवीप्रकोप उद्धार समिति, जिल्ला प्रशासन कार्यालय, स्थानीय निकायहरू र विभिन्न गैरसरकारी सङ्घसंस्थाहरूसँग समन्वय गरी तयारीमा बस्न निर्देशन दिएको जनाएको हो ।