भाद्र २०, २०७४-गैरआवासीय नेपाल संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद, अमेरिकाको निर्वाचन मंगलबार र बुधबार हुँदैछ । सुचना प्रविधिसम्बन्धी व्यवसायी गौरी जोशीको उम्मेदवारीको विषयलाई लिएर विवाद चर्किएपछि यो विषयले अदालतमा प्रवेश पाएको थियो । अन्तत, जोशीले मुद्दा फिर्ता लिनुका साथै उम्मेदवार नबन्ने घोषणा गरेपछि निर्वाचनको नयाँ मिति तय भएको हो ।
स्थानीय समय अनुसार मतदाताहरुले मंगलबार बिहान आठ बजेदेखि बुधबार मध्यरातसम्म अनलाइनमार्फत मतदान गर्नसक्ने छन् । करिब १५ हजार मतदाताहरुले अध्यक्ष एवम् अन्य पदका लागि मतदान गर्नेछन् ।

अमेरिकी एनआरएन नेतृत्वका लागि चार जना प्रत्यासी चुनावी मैदानमा छन् । वर्तमान कार्यसमितिका अध्यक्ष केशव पौडेल, वरिष्ठ उपाध्यक्ष कृष्ण पोखरेल एवम् उपाध्यक्षद्वय रविना थापा र राम सी पोख्रेलबीच आगामी अध्यक्ष पदका लागि प्रतिस्पर्धा हुने भएको छ । चारै जना उम्मेदवारसँग चुनावी एजेण्डाहरुको विषयमा कान्तिपुरले संक्षिप्त कुराकानी गरेको छ ।

डा केशव पौडेल, चिकित्सक, (न्यू मेक्सिको)

पहिलो कार्यकालमा मैले आफूले घोषणा गरेका ६० प्रतिशत काम फत्ते गरेको छु । विवादका कारण केही काम बाँकी रहे । पहिलो कार्यकालमा मैले अनुभव बटुलेको छु । जसको भरपुर उपयोग गर्न फेरि उम्मेदवार बनेको स्पष्ट पार्न चाहन्छु ।

आप्रवासीलाई नेपाली नागरिकताको निरन्तरता, दोहोरो कर छुटको व्यवस्थाको विषयमा नेपाल सरकारसँग गर्नुपर्ने कामहरु नै मेरो एजेण्डाहरु हुन् । अमेरिकामा विभिन्न सहरहरुमा नेपाली सामुदायिक भवन बनाउने मेरो योजना छ । संस्थालाई पारदर्शी, सक्षम बनाउने एवम् अन्तर्रास्ट्रिय क्षेत्रमै उदाहरणीय बनाउने छु ।

 

 

कृष्ण पोखरेल, बिमा ब्यवसायी, (न्युयोर्क)

एनआरएन, अमेरिकाको संस्थागत पुरै सिस्टम गलत भयो । व्यक्तिवादी प्रवृति बढ्यो । स्वेच्छाचारी प्रवृतिले संस्थालाई डुबाउन लाग्यो । संस्थाको पुरै संरचनाको सुधारका लागि मेरो उम्मेदवारी हो । यो संस्था, पैसा हुनेहरुको पेवा होइन, सर्वसाधारण सबैलाई साझा संस्था बनाउन मेरो भूमिका रहनेछ । प्रत्येक सदस्यलाई संलग्न गराएर, आपतकालीन कोष खडा गरिने, मेरो प्रमुख एजेन्डा छ । हरेक सदस्यलाई परिचय पत्र प्रदान गरिने र त्यसबाट सदस्यसबैले सहुलियत पाउने व्यवस्था गरिनेछ

 

 

 

 

 

रविना थापा, रेस्टुरेन्ट व्यवसायी, (मेरिल्यान्ड)

सबैभन्दा पहिले त सदस्यता वितरणको प्रक्रियामा ठोस नीति तय गर्ने मेरो एजेन्डा हो । किनकि, अव्यवस्थित सदस्यता वितरण प्रक्रिया कारण नै धेरै खाले विवाद र संस्थामा मनोपोली गर्नेहरु उत्साहित भएको स्पष्ट छ । यसलाई तुरुन्त निकास दिनुपर्छ । सदस्यता भेरिफिकेसन नै गर्न हुँदैन । त्यसअघि नै स्पष्ट नीतिमार्फत् सदस्यता प्रदान गरिनुपर्छ । एनआरएनलाई सर्वसाधारणको संस्था बनाउन मेरो स्पष्ट कार्यनीति छ । अहिले पनि ग्रासरुटमा यो संस्था पुगेकै छैन । समाजको हरेक तप्कामा यो संस्थालाई पयाउने मेरो योजना छ । आपतकालीन कोष खडा गरिनेछ ।

 

 

 

राम सी पोखरेल, व्यवसायी (टेक्सास)

गैरआवासीय संघलाई राजनीतिबाट मुक्त गर्नुपर्छ भन्ने मेरो स्पष्ट एजेन्डा छ । यो चुनावमा मेरो कुनै प्यानल छैन । एनआरएनए अमेरिकाको नेतृत्व गुट-उपगुटमा अल्झियो, जुन दुर्भाग्य हो । अहिले पनि चुनावी प्रतिस्पर्धाको नाममा समाजलाई विभाजित पारिँदैछ । यसलाई कसरी साझा संस्था बनाउन सकिन्छ भन्ने स्पष्ट खाका म सँग छ ।

आप्रवासी समाजको आवश्यकतालाई नेतृत्वले बुझेन । विद्यमान विभाजनलाई मेटाउन र राजनीति दाउपेचबाट संस्थालाई मुक्त पार्न म उम्मेदवार बनेको हुँ । साझा भावना पैदा नहुन्जेल, यो संस्था माथि उठ्न सक्दैन ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय