सोलुखुम्बु : सोलुखुम्बुमा पछिल्लो दुई दिन यता चोरी हुने क्रम बढेको छ । नाजिङ, गार्मा र नेले क्षेत्रमा चोरी भएको २४ घण्टा बित्न नपाउँदै पुनः तिङला, रमिते क्षेत्रका घर तथा पसलहरुबाट २ लाख ५५ हजार नगद सहित सुनचाँदी चोरी भएको प्रहरीले जनाएको छ ।

गएराती (बुधबार राती) स्थानीय सेर बहादुर खड्काको १ लाख १० हजार नगद सहित ३ तोला सुन र ८ तोला चाँदी, टोही बहादुर कटवालको ३० हजार र चल बहादु कार्कीको २० हजार नगद चोरी भएको छ । यस्तै जित बहादुर राईको १५ हजार, नर बहादु विश्वकर्माको २५ हजार नगद र २० हजारको रिचार्ज कार्ड, नानु विश्वकर्माको ३५ हजार र मधु कार्कीको ४ सय नगद चोरी भएको सोलुदुधकुण्ड नगरपालिका ११ तिङलाका वडा सचिव रमेश कार्कीले जानकारी दिनुभयो ।

उहाँका अनुसार वडा कार्यालय तिङला र सिंहकाली आधारभुत विद्यलय तिङलाको पनि ताला फोडिएको छ । कार्यालयमा नगद नभएकाले अन्य सामाग्रीहरु भने चोरी नभएको कार्कीले बताउँनुभयोे । उहाँका अनुसार वडा कार्यालयको ५ वटा सहित सो क्षेत्रमा करिब १६ वटा घरको गरी ३५ वटा भन्दा बढी ताला तोडिएको छ ।

कतिपय घर तथा पसलहरुमा नगद नराखिएकाले ताला मात्रै तोडिएको उहाँको भनाई छ । तोडिएका सबै ताला घटना स्थलमा नभेटिएको प्रहरीले जनाएको छ । मगंलबार राती मात्रै सोलुदुधकुण्ड नगरपालिका ७ को वडा कार्यालय सहित नाजिङ गार्मा तथा जीवन ज्योति माध्यमिक विद्यालय नेलेबाट करिब २ लाख नगद, सुन, मोबाईल सेट तथा रिचार्ज कार्ड चोरी भएको थियो ।

घटनाको विषयमा गहन ढंगबाट अनुसन्धान भईरहेकाले ढिलो चाँडो संलग्न ब्यक्ति पक्राउ पर्ने जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । तर घटनालाई प्रहरीले हल्का रुपमा लिएको नाजिङका भलाकाजी कार्कीको भनाई छ । सदरमुकाम नजिकै रातै पिच्छे सरकारी कार्यालय सहित दर्जनौँ घरहरु फोडिदा समेत प्रहरीले घटनालाई सामान्य रुपमा लिएको नागरिकहरुले बताएका छन् ।

चोरको विगविगी बढेसँगै नागरिकको जिउधनको सुरुक्षामा चुनौती थपिएको भन्दै संलग्न ब्यक्तिलाई पक्राउ गर्न प्रहरीले आफ्नो सकृयता बढाउनुपर्ने स्थानीयको माग छ ।
-Source:solu Fm

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय