सर्लाहीको दक्षिण–पूर्वी भेगमा पर्ने हरि पूर्वा नगरपालिकाका शिक्षक विद्यालय बन्द गरेर धर्नामा बसेका छन् । आर्थिक वर्ष २०८०-०८१ सुरु भएको चार महिना बितिसिक्दा समेत नगर सभा हुन नसक्दा यहाँका शिक्षकले तलब पाउन सकेका छैनन् । गएको साउनदेखि तलब नपाएका शिक्षकले तलब माग गर्दै नगरपालिका कार्यालयमा धर्ना सुरु गरेका हुन् ।

शिक्षकको आन्दोलनले गएको बुधवार देखी नगरपालिकाभित्रका १६ वटा सामुदायिक विद्यालय बन्द हुँदा पाँच हजार विद्यार्थी पठनपाठनबाट वञ्चित भएका छन् । हरि पूर्वा नगरपालिका–५ स्थित केश्वर गरिव जनता माध्यमिक विद्यालय हरिपूर्वाकी शिक्षिका रीनाकुमारी साहले तलब दिनुपर्ने एक सूत्रीय माग राखेर धर्नामा बसेको बताउनुभयो ।

पढाई नै रोकेर आन्दोलनमा उत्रिनुपर्ने आफूहरूको बाध्यता रहेको उहाँको भनाई छ । “विद्यालय बन्द गरेर धर्नामा बस्नुपर्ने अन्य कुनै कारण छैन,” साहले प्रश्न गर्दै भन्नुभयो, “भोकै पेट कति दिनसम्म पढाउने ? चार–चार महिनासम्म पनि तलब नपाउँदा हाम्रो घर, व्यवहार पूरै डामाडोल बनेको छ ।”

नगरपालिकामा पटक–पटक ध्यानाकर्षण गराउँदा दसैँ, तिहार र छठ जस्ता प्रमुख पर्वमा समेत तलब नपाएपछि बाध्य भई धर्नामा बस्नु परेको आन्दोलित शिक्षकको गुनासो छ । हरि पूर्वा नगरपालिका–४, मा रहेको जनशक्ति प्राथमिक विद्यालय डुमरियाका प्रधानाध्यापक राम जीवन रायले गएको असोज १६ गते ज्ञापन पत्र बुझाएर तलब निकासा गरिदिन माग गरे पनि अहिलेसम्म तलब नपाएको बताउनुभयो ।

 

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय