ललितपुर मेयर्स कप महिला टी–२० क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेश र सशस्त्र प्रहरी बलको एपीएफ क्लबले विजयी शुरुवात गरेका छन् ।

कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा आज भएको पहिलो खेलमा सुदूरपश्चिमले ललितपुर मेयर्स–११ लाई डकवर्थ लुइस नियमका आधारमा १६ रनले हरायो । ११ ओभरमा ६२ रनको लक्ष्य पछ्याएको ललितपुरले ११ ओभरमा २ विकेट गुमाएर ४५ रन बनाएको अवस्थामा पानी परेर खेल हुन सकेन । ललितपुरकी कप्तान पूजा महतोले नट आउट १४ रन बनाइन् । सुदूरपश्चिमकी जानकी थापा र ऋतु कनौजियाले समान १ विकेट लिइन् ।

यसअघि टस हारेर ब्याटिङ गरेको सुदूरपश्चिमले २० ओभरमा ६ विकेट गुमाएर १ सय २२ रन बनायो । सुदूरपश्चिमकी कप्तान विन्दु रावलले ३० रन बनाइन् । ललितपुरकी आरती महतो र कृतिका मरासिनीले समान २ विकेट लिइन् । यो जितसँगै सुदूरपश्चिम २ अङ्कसहित तालिकाको दोस्रो स्थानमा छ । ललितपुर २ खेलमा २ अङ्कसहित तेस्रो स्थानमा छ ।

आजै कीर्तिपुरमा भएको खेलमा एपीएफले कोशी प्रदेशलाई २४ रनले हरायो । वर्षाले प्रभावित खेलमा टस हारेर ब्याटिङ गरेको एपीएफले ५ ओभरमा ३ विकेट गुमाएर ५६ रन बनायो । एपीएफकी इन्दु बर्माले नट आउट ३८ रन बनाइन् । कोशीकी एलिशा खडिया र हिरनमाई रोयले समान १ विकेट लिइन् ।

५७ रनको लक्ष्य पछ्याएको कोशीले ५ ओभरमा २ विकेट गुमाएर ३२ रनमात्र बनाउन सक्यो । कोशीकी कप्तान अप्सरी बेगमले नट आउट २५ रन बनाइन् । एपीएफकी सीता राना मगरले १ विकेट लिइन् ।

यो जितसँगै २ अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ । कोशीको पनि यो पहिलो खेल हो ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय