ताप्लेजुङ जिल्लामा अवस्थित याक्थुङ लिम्बुहरूको ऐतिहासिक तथा धार्मिक स्थल मुकुमलुङ्गमा केवलकार निर्माण गर्ने सरकारी योजनाको स्थानीय जनताले चर्को विरोध गरिरहेका छन्। स्थानीय समुदाय र सरोकारवाला संस्थाहरूले धार्मिक र प्राकृतिक दृष्टिकोणले यो योजना उपयुक्त नभएको भन्दै यसको खारेजीको माग गरेका छन्।

केवलकार निर्माणको विरोधमा स्थानीय जनताले सर्वोच्च अदालतमा रिट निवेदन समेत दर्ता गराएका छन् र मुद्दा विचाराधीन रहेको अवस्थामा पनि सरकारले बलजफ्ती व्यापारीको हितमा काम गरेको आरोप छ। २०८१ साल माघ १२ गते स्थानीय जनतामाथि प्रहरी दमन गरी गोली प्रहार समेत गरिएको घटनाप्रति जसपा नेपालको प्रवास समिति नेपाली समाज जापानले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

नेपाली समाज जापानले एक विज्ञप्ति जारी गर्दै स्थानीय जनताको आस्था, धर्म, विश्वास र भावना विपरीत सरकारले दमन गरेको भन्दै घोर भर्त्सना गरेको छ। पवित्र र शक्तिशाली धार्मिक स्थलको रूपमा पहिचान बनाएको मुकुमलुङ्ग क्षेत्रमा थप अप्रिय घटना हुन नदिन सरकार जिम्मेवार हुनुपर्ने उनीहरुको भनाइ छ। बन्दुक र प्रहरीको बल प्रयोग गरेर आन्दोलनकारीहरूको माग सम्बोधन नहुने भन्दै नेपाली समाज जापानले आन्दोलनरत नेतृत्व, संघ संस्था, नेपाल सरकार, स्थानीय राजनीतिक दल र सरोकारवाला संघ संस्थाहरूलाई तत्काल बैठक बसी वार्ता गरी समस्याको समाधान खोज्न आव्हान गरेको छ।

अन्धाधुन्ध गोली प्रहारबाट गम्भीर घाइते भएका ५ जना स्थानीयको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै नेपाली समाज जापानले घाइतेहरूको निःशुल्क उपचारको माग समेत गरेको छ। ‘मुकुमलुङ्ग बचाऔं’, ‘धार्मिक स्थलमा केवलकार खारेज गरौं’ जस्ता नारासहित जारी विज्ञप्तिमा महासचिव गेल्भु शेर्पा र अध्यक्ष शिशिर निङ्लेकु लिम्बुको हस्ताक्षर रहेको छ। नेपाली समाज जापानले इमेल मार्फत यो घटनाको जानकारी सार्वजनिक गरेको छ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय