टोकियो, जापान: नेपाल आदिवासी जनजाति महासंघ जापानको १९ औं महाधिवेशनलाई लिएर विवाद उत्पन्न भएको छ।

विभिन्न क्षेत्रीय समिति र व्यक्तित्वहरूले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै महाधिवेशन प्रक्रियामाथि गम्भीर प्रश्न उठाएका छन्।
विज्ञप्तिअनुसार, क्षेत्रीय समितिहरूलाई जानकारी नै नदिई र नेपाल आदिवासी जनजाति महासंघ केन्द्रको निर्देशनलाई अटेर गर्दै जबर्जस्ती महाधिवेशन गराउने प्रयास भइरहेको छ।
१९९९ मा स्थापित नेफिन जापानले नयाँ सचिवालय गठन गर्ने प्रक्रियामा रहेको बेला विधान विपरीत तरिकाले आफू अनुकूलको व्यक्तिलाई अध्यक्ष बनाउने कोशीश भइरहेको आरोप विज्ञप्तिमा लगाइएको छ।
संयुक्त हस्ताक्षरकर्ताहरूले यो कार्य आदिवासी जनजाति महासंघप्रति ‘घात’ र आदिवासी जनजाति आन्दोलनलाई कमजोर पार्ने ‘दुस्प्रयास’ भएको बताएका छन्। ‘विधानले नचिन्ने अमुक पात्रलाई अध्यक्ष बनाउन खोज्नु ऐतिहासिक भूल हुने’ उनीहरूको ठम्याइ छ।
विज्ञप्तिमा, ‘अवसरवादी तथा पहिचान विरोधी तत्वहरू’ सक्रिय भएको भन्दै, आदिवासी जनजाति अभियन्ताहरूलाई एक जुट भई सत्यको पक्षमा उभिन अपील गरिएको छ।
उनीहरूले १९ औं महाधिवेशनसँग सम्बन्धित सम्पूर्ण प्रक्रिया तत्काल रोक्न र विधानअनुसार छलफल गरी बाँकी प्रक्रिया अगाडि बढाउन अनुरोध गरेका छन्। यदि विधान विपरीत प्रक्रिया अघि बढेमा त्यसको सम्पूर्ण जिम्मेवारी अहिलेको निर्वाचन समितिलाई हुने चेतावनी समेत विज्ञप्तिमा दिइएको छ।
यस विज्ञप्तिमा नेफिन जापानका पूर्व अध्यक्ष सन्जिव राई, नेफिन चिबा क्षेत्रीय समितिका अध्यक्ष अमृत लामा, नेफिन क्युस्यु क्षेत्रीय समितिका अध्यक्ष सन्तमान शाक्य, नेफिन तदर्थ समिति, कान्साइका संयोजक राज थिंग लामा, नेफिन जापानका पूर्व अध्यक्ष पेम्बा लामा, गुरुङ समाज जापानका अध्यक्ष युबराज गुरुङ र किराया जापानका ब.उपाध्यक्ष रोशन राइको संयुक्त हस्ताक्षर रहेको छ।





