टोकियो, जापान: ‘प्रवासमा भाषा, धर्म, कला र संस्कृतिको संरक्षण’ को मूल नारासहित शेर्पा संघ जापानले आफ्नो लोपोन्मुख पर्व ‘फङ्ङी चाड’ लाई निरन्तरता दिँदै यस वर्ष पनि तेस्रो पटक ‘बृहत फङ्ङी साँझ २०२५’ सफलतापूर्वक सम्पन्न गरेको छ।
जापानको टोकियो, शिनओकुबोस्थित रोयल गार्डन रेस्टुरेन्टमा गत जुलाई २७ तारिख दिउँसो १ बजेदेखि बेलुका ८ बजेसम्म आयोजित यो कार्यक्रम शेर्पा समुदायको सांस्कृतिक पहिचान र परम्परा जोगाउने साहसिक कदमका रूपमा देखिएको छ।
कार्यक्रमको सुरुवातमा दोर्जी शेर्पा लामाद्वारा बौद्ध विधिअनुसार पाठपूजा गरिएको थियो। आयोजक शेर्पा संघ जापानले उपस्थित अतिथिहरूलाई खाता, ब्याच र मौलिक शेर्पा खाना खाप्से वितरण गरी स्वागत गरेको थियो।

शेर्पा संघ जापानका अध्यक्ष सोनाम लामाको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ जापानका अध्यक्ष श्री भक्त गुरुङ प्रमुख अतिथि हुनुहुन्थ्यो। विशेष अतिथिहरूमा शेर्पा संघ जापानका संरक्षक तथा सल्लाहकारहरूका साथै जापानमा रहेका विभिन्न संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरू र एनआरएन अभियानकर्ताहरूको बाक्लो उपस्थिति रहेको थियो।
कार्यक्रममा शेर्पा संघ जापानका उपाध्यक्ष याङजी शेर्पाले स्वागत मन्तव्य राख्नुभएको थियो। स्वागत गीत र शेर्पा मौलिक नृत्य श्याब्रुका लागि कलाकारहरू रिन्जी शेर्पा, याङजी शेर्पा, कीपा शेर्पा, फुल्हमु शेर्पा, आङ फु्री शेर्पा, छोक्पा शेर्पा र ६ वर्षीया साइना मगरले मनमोहक प्रस्तुति दिएका थिए।
कार्यक्रमको संयोजन पासाङ शेर्पाले गरेका थिए भने औपचारिक कार्यक्रमको सञ्चालन ङवाङ दोर्जी शेर्पा र सांगीतिक कार्यक्रमको सञ्चालन दावा ल्हमु शेर्पाले गरेका थिए। कार्यक्रममा गायक दावा के शेर्पा र गायक सोनाम कहानीको प्रस्तुतिले दर्शकलाई झुमाएको थियो भने, चर्चित डिजे नविन लामाले मनोरञ्जनमा थप रौनकता थपेका थिए। कार्यक्रममा कलाकारहरूलाई प्रमुख अतिथिको हातबाट प्रशंसापत्र पनि वितरण गरिएको थियो।

अतिथिहरूले ‘फङ्ङी साँझ’ लाई शेर्पा संस्कृतिको संरक्षणमा महत्त्वपूर्ण कदमका रूपमा प्रशंसा गरे। शेर्पा संघ जापान किताकान्तो संयोजक दावा के शेर्पाले अग्रजहरूले जोगाएर राखेका यस्ता महत्त्वपूर्ण चाडहरू सयौं पुस्तासम्म बचाई राख्ने जिम्मेवारी शेर्पा युवाहरूको काँधमा आएको भन्दै सबै युवाहरूलाई शेर्पा संस्कृति संरक्षणमा लाग्न अनुरोध गर्नुभयो। शेर्पा संघ जापानका सल्लाहकार तथा निवर्तमान अध्यक्ष सोनाम शेर्पाले आगामी दिनहरूमा पनि शेर्पा संस्कृतिको रूपान्तरण, पुस्तान्तरण र हस्तान्तरणका लागि सबै शेर्पा युवाहरूले जोड दिनुपर्ने बताउनुभयो। साथै, राज्यको तर्फबाट ‘फङ्ङी’ लाई लोसार जस्तै राष्ट्रिय चाडको रूपमा घोषणा गराउन पहल भइरहेको जानकारी समेत गराउनुभयो।

शेर्पा संघ जापानका सल्लाहकार कर्मा गेल्जे शेर्पाले जापानीहरूले पनि शेर्पा र हिमालयको नामबाट नेपाललाई चिन्ने गरेकोमा गर्व गर्दै जापानको नियम कानुनको पालना गर्न र यहाँको राम्रो कुराहरू सिक्न अनुरोध गरे। संरक्षक छेवाङ जाङबु लामाले ‘फङ्ङी’ चाड जापानमै आएर मनाउने अवसर पाउनुको श्रेय शेर्पा संघ जापानलाई दिए। उनले आदिवासी जनजातिहरू आन्दोलनमै रहेको र पहिचान नै राज्यमा पहुँच राख्ने मुख्य आधारशिला भएकोले यसलाई जोगाएर भावी पुस्तामाझ हस्तान्तरण गर्न नसके पहिचानसँगै आफूहरू पनि हराएर जानेमा जोड दिए।
किरात याक्थुङ चुम्लुङ जापानका अध्यक्ष मन कुमार तुम्सा लिम्बुले भाषाप्रतिको माया र मोह अन्य जातहरूले पनि सिक्नुपर्ने भन्दै ‘फङ्ङी’ चाडको रमाइलोसँगै भाषा, लिपि, संस्कार, संस्कृतिलाई पुस्तान्तरण गर्दै अगाडि बढ्न सुझाव दिए। प्रमुख अतिथि श्री भक्त गुरुङले भेषभूषा, संस्कार, संस्कृति र पहिचानकै कारण आदिवासी जनजाति भनेर चिनिँदै आएकाले यसलाई निरन्तरता दिनुपर्नेमा जोड दिए। अन्तमा, सभापति सोनाम लामाले उपस्थित सबै अतिथिहरूलाई धन्यवाद दिँदै आगामी कार्यक्रमहरूमा पनि सहयोग गर्न अनुरोध गरे।
के हो फङ्ङी चाड र कसरी मनाइन्छ?
‘फङ्ङी’ हिमाली भूभागमा बसोबास गर्ने शेर्पा समुदायको ग्रीष्मकालीन चाडपर्व हो। यो चाड दथो (चन्द्रमास) पात्रोअनुसार छैटौं महिनामा पर्छ भने नेपाली महिना श्रावणमा पर्छ। चन्द्रमास पात्रोअनुसार छैटौं महिनामा ‘गुर्जे फग’ भन्ने तिथि आउँछ। यो तिथिमा पानी, खाद्यबाली र फलफूलहरूमा विशेष प्रकारको पौष्टिक तत्वयुक्त हुने जनविश्वास रहेको छ। यो एक हप्तासम्म मनाइन्छ, जसमा शेर्पाहरू एकै ठाउँमा भेला भई खुसी साटासाट गर्ने र सहभोज खाने चलन छ। यो चाड मनाउनका लागि परम्परागत रूपमा ‘फङ्ङी लावा’ नामक समिति छनोट गरिएको हुन्छ, जसले यो चाड तीन दिनदेखि सात दिनसम्म मनाउँछ। यस चाडमा शेर्पा समुदायको परम्परागत सामूहिक श्याब्रु नृत्य तथा शेर्पा लोकगीतहरू ‘जलु’, ‘ठलु’ आदि गाउने परम्परा छ। चाड मनाइसकेपछि अर्को वर्षको लागि आयोजक समिति छनोट गरी नयाँ समितिलाई स्वागत तथा पुरानो समितिलाई खादा (खातक) द्वारा बिदाइ गर्ने चलन रहेको छ।





