किरात याक्थुङ चुम्लुङ जापानले नेपालमा आएको विनाशकारी भोटेकोसी बाढीका पीडितहरू र जापानमा दुर्घटनामा परी ज्यान गुमाएका एक नेपाली नागरिकको परिवारलाई आर्थिक सहयोग प्रदान गरेको छ।

संस्थाले मध्य नेपालका विभिन्न जिल्लामा बाढीका कारण क्षति पुगेका परिवारका लागि नेपाल सरकारद्वारा सञ्चालित प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत दुई लाख येन सहयोग गरेको छ। प्रवासमा रहेका नेपाली तथा याक्थुङ लिम्बू समुदायबाट एक हप्तासम्म सङ्कलन गरिएको उक्त रकम संस्थाका अध्यक्ष बालबिक्रम तिगेलाको अध्यक्षतामा आइतबार नेपाल पठाइएको हो।

त्यसैगरी, जापानको नागोया सहरमा रोजगारीको सिलसिलामा बस्दै आएका तेह्रथुम जिल्लाका एकिहाङ लिम्बूको पौडी खेल्ने क्रममा डुबेर निधन भएको थियो। उनको शव नेपाल पठाउन तथा परिवारलाई आर्थिक राहत प्रदान गर्न जापानवासी नेपालीहरूबाट स्वेच्छाले ३ लाख ९७ हजार ९०५ येन सङ्कलन गरी उनको परिवारको बैंक खातामा जम्मा गरिएको उपाध्यक्ष विष्णु आङ्देम्बेले जानकारी दिनुभएको छ।

अध्यक्ष बालबिक्रम तिगेला र महासचिव दुर्गाप्रसाद लिम्बूद्वारा संयुक्त रूपमा जारी गरिएको विज्ञप्तिमा दुवै अभियानमा सहयोग गर्नुहुने सल्लाहकार, पदाधिकारी, सदस्य तथा सम्पूर्ण सहयात्रीहरूलाई धन्यवाद ज्ञापन गर्दै मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली र शोकसन्तप्त परिवारमा गहिरो समवेदना व्यक्त गरिएको छ। स्थापना कालदेखि नै समाजसेवामा सक्रिय रहँदै आएको यस संस्थाले आगामी दिनमा पनि यस्ता मानवीय कार्यलाई निरन्तरता दिने उपमहासचिव तथा प्रचार विभाग प्रमुख सुजन आङ्बोले बताउनुभएको छ।

 

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय