नेपाल मगर संघ केन्द्रीय समिति जापानले माघे सङ्क्रान्तिमा विशेष सांगीतिक साँझ आयोजना गर्ने भएको छ।

जनवरी १२ देखि १९ तारिखसम्म जापानका विभिन्न ५ शहरमा आयोजना हुने यस सांगीतिक कार्यक्रममा नेपाल तथा जापानका ख्यातिप्राप्त कलाकारहरूको प्रस्तुति रहने छ ।

नेपालबाट आमन्त्रित सिने गायिका रेश्मा पुन मगर र मौलिक गीत संगीतका लागि परिचित हेमन्त आले मगरले कार्यक्रमलाई झनै मनोरञ्जनात्मक बनाउनेछन्। यसैगरी जापानमा रहेका चेतन घर्ती मगर, रचना मगर, याम जर्घामगर, मोडल डान्सर कामना फगामी मगर र सागर पुन मगर लगायतका स्थानीय कलाकारहरूले पनि आफ्नो प्रस्तुति दिने नेपाल मगर संघ जापान केन्द्रिय अध्यक्ष रामहरि खपांगी मगरले जानकारी दिनुभयो।

यो कार्यक्रमको उद्देश्य जापानमा रहेका नेपालीहरूबीच एकता कायम गर्नु, मगर संस्कृतिलाई जीवन्त राख्नु र माघे सङ्क्रान्तिको महत्वलाई उजागर गर्नु मात्र होइन, यसबाट प्राप्त मुनाफा रकम  म्याग्दी जिल्ला, रघुगंगा गाउँपालिका-४ घर भई हाल इटाबाशी चुओ अस्पतालमा दुवै मृगौला फेल भएर डायलासिस गराइरहेकी एलिना पुन मगरलाई सहयोगस्वरूप प्रदान गरिनेछ।

उहाँकी आमा आगामी जनवरीमा नेपालबाट आएर एलिनालाई एउटा मृगौला दान गर्ने तयारीमा हुनुहुन्छ।

कार्यक्रम जनवरी १२ तारिखमा नागोया, १३ तारिखमा ओसाका, १४ तारिखमा फुकुओका, १८ तारिखमा गुन्मा र १९ तारिखमा टोकियोमा आयोजना हुनेछ।

 

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय