संयुक्त राज्य अमेरिकाले आसन्न राष्ट्रपति निर्वाचनलाई प्रभावित पार्ने उद्देश्यसहित मस्कोले अभियान चलाएको आरोप लगाउँदै रुसी सरकारी सञ्चारमाध्यमका वरिष्ठ अधिकारीहरूमाथि प्रतिबन्ध लगाएको छ।
रुसी पक्षका गतिविधिहरूको “चर्को प्रतिकार” गर्न अमेरिकाका न्याय, विदेश र अर्थ मन्त्रालयहरूले संयुक्त कारबाही गर्ने घोषणा गरेका छन्।
महान्यायाधिवक्ता मेरिक गार्लन्डले रुसको सरकारी प्रसारक ‘आरटी’ले टेनसीस्थित एउटा कम्पनीलाई एक करोड अमेरिकी डलर दिएर “अमेरिकी जनमानसमा गुप्त रुसी सन्देशसहितका सामग्री तयार र वितरण गर्न” लगाएको आरोप लगाएका छन्। यसअघि आरटी ‘रसिया टुडे’ भन्ने नामले चिनिन्थ्यो।
उनका अनुसार आरटीकी प्रधान सम्पादक मार्गरिटा सिमोन्यान “हाम्रो संस्थामा रहेको जनविश्वास”मा क्षति पुर्याउने सन्दिग्ध प्रयासका लागि प्रतिबन्धित १० जनामध्ये एक हुन्।यद्यपि आरटीले आफ्नो संलग्नता अस्वीकार गरेको छ।
डोनल्ड ट्रम्प र कमला ह्यारिसबीचको प्रतिस्पर्धामा मस्कोले “आफूअनुकूलको परिणाम” सुनिश्चित गर्ने प्रयास गरेको दाबी गार्लन्डको छ।
ह्वाइटहाउसका राष्ट्रिय सुरक्षा प्रवक्ता जोन किर्बीले रुसले “युक्रेनका लागि अन्तर्राष्ट्रिय सहयोग घटाउन, रुसपक्षधर नीति र हितलाई सबल बनाउन र अमेरिकामा मतदातालाई प्रभावित गर्न” खोजेको थियो बताए।
यसैबीच अर्थ मन्त्रालयका एक अधिकारीले आरटी र अन्य रुसी सरकारी सञ्चारमाध्यमहरू “आफ्नो नीच गतिविधिको पक्षमा अमेरिकी इन्फ्लूएन्सरहरूलाई गोप्य रूपमा भर्ती गर्ने एउटा कुटिल अभियान”मा संलग्न भएको आरोप लगाएका छन्।