टोकियो/जापान

गुरूङ समाज जापानको प्रथम साधारण सभा भव्य र सभ्य रूपमा सम्पन्न भएको छ।

टोकियो सिनओकिबो स्थित नेवा डाईनिङग हलमा सम्पन्न भएको सभामा जापानमा रहेका गुरूङ समुदायका अगुवा, बुद्धिजीवी, समाजसेवी तथा विभिन्न क्षेत्रमा क्रियाशील व्यक्तित्वहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

सभाको प्रारम्भ संस्थाका महासचिव मोति गुरूङले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै भएको थियो। प्रतिवेदनमा संस्थाको स्थापनादेखि हालसम्म भएका विभिन्न गतिविधिहरू, सांगठनिक विस्तार, सामाजिक सेवाका कार्यहरू र भावी योजनाहरू समेटिएका थिए। महासचिव गुरूङले संस्थाको एक वर्षे कार्यकालमा हासिल भएका उपलब्धिहरूमा खुसी व्यक्त गर्दै सबैको सहयोग र सहकार्यको लागि धन्यवाद ज्ञापन गर्नुभयो।

प्रतिवेदनमा उल्लेख भए अनुसार, संस्थाले छोटो समयमै जापानका विभिन्न प्रमुख शहरहरूमा आफ्नो सांगठनिक संरचना विस्तार गर्न सफल भएको छ। तोहोकु सेन्दाई, कान्तो टोकियो, तोकाई मिया केन र कान्साई ओसाकामा क्षेत्रीय समितिहरू गठन भइसकेका छन्। यसैगरी, संस्थाले विभिन्न सामाजिक तथा सांस्कृतिक कार्यक्रमहरू आयोजना गर्नुका साथै आपतकालीन सहयोगको आवश्यकता परेका समुदायका सदस्यहरूलाई सहयोग गर्दै आएको छ।

कार्यक्रममा संस्थाका कोषाध्यक्ष राम गुरूङले आर्थिक विवरण प्रस्तुत गर्नुभएको थियो। आर्थिक पारदर्शितालाई संस्थाले उच्च प्राथमिकता दिएको उहाँले बताउनुभयो।
सभामा बिशेष अतिथि तथा संरक्षक लिल बहादुर गुरूङ, आस बहादुर गुरूङ, गोविन्द गुरूङ र प्रमुख सल्लाहकार जीवन कुमार गुरूङले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो। उहाँहरूले गुरूङ समाज जापानले छोटो समयमै समुदायको हितमा गरेको कार्यहरूको प्रशंसा गर्दै आगामी दिनमा अझ सशक्त रूपमा अघि बढ्न सुझाव दिनुभयो। सल्लाहकार चित्र गुरूङले पनि आफ्नो विचार राख्नुभएको थियो।

कार्यक्रमको उद्घाटन पानसमा दीप प्रज्ज्वलन गरी संस्थाका अध्यक्ष युवराज गुरूङले गर्नुभएको थियो। आफ्नो मन्तव्यमा अध्यक्ष गुरूङले संस्थालाई यो स्थानसम्म पुर्याउन सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै आगामी दिनमा समुदायको एकता र पहिचानलाई थप बलियो बनाउन सामूहिक प्रयासको आवश्यकता औंल्याउनुभयो।

शिक्षा विभाग प्रमुख सोमान गुरूङले कार्यक्रम सञ्चालन गर्नुभएको थियो भने महिला विभाग प्रमुख जमुना गुरूङले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो।
साधारण सभाको अवसरमा विभिन्न सांस्कृतिक कार्यक्रमहरू पनि प्रस्तुत गरिएका थिए। प्रकाश गुरूङ, सुजन गुरूङ, युकेस गुरूङ, उज्जल गुरूङ, मञ्जु गुरूङ, पिया गुरूङ लगायत दर्जनौं कलाकारहरूले आफ्नो प्रस्तुति मार्फत दर्शकहरूलाई मनोरञ्जन प्रदान गरेका थिए।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय