एमालेले पार्टी मुख्यालय धुम्बाराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा सञ्चारकर्मीले गुण्डा नाइके दीपक मनाङ्गेलाई सर्वोच्च अदालतले पाँच वर्ष कैदको फैसला गरेकोबारे अध्यक्ष ओलीलाई प्रश्न गरे। प्रश्न सुनिसकेपछि ओलीले उत्तर दिने क्रममा सोधेः ‘को रे? दीपक मनाङ्गे रे?’
ओलीले मनाङ ‘ख’ बाट निर्वाचित मनाङ्गेको नाम राजिव गुरुङ भएको तर्फ अप्रत्यक्ष रुपमा संकेत गरेको बुझ्न गाह्रो थिएन। उनको ‘बडि ल्याङ्ग्वेज’ बाट दीपक मनाङ्गे भनेको ओलीले मन नपाराएको प्रष्ट बुझिन्थ्यो।
एकाध पटक सोधिसकेपछि उनले मनाङ्गे स्वतन्त्र सांसद भएकाले उनका बारेमा एमालेलाई कुनै सरोकार नभएको बताए।
‘दीपक मनाङ्गे स्वतन्त्र सांसद हो, अदालतमा बयान होला, अदालतको फैसला होला, उनको मुद्धा हाम्रो सरोकारको विषय होइन’, ओलीले भने।
ओलीले एमालेकै सांसद तथा नेपाल प्रहरीका पूर्व डिआइजी नवराज सिलवालले असुरक्षाको अनुभुति गर्नु चाहिँ अस्वाभाविक नभएको बताए। सिलवाललाई अनेक किसिमले धम्की दिइएको दावी गर्दै ओलीले भने, ‘जनताबाट छानिएको सांसदका पछाडि १६५ जना प्रहरी कुदाएको छ, आतंकित बनाउन उनको घर अगाडि कालो सिसा लगाएका प्राइभेट गाडीहरु राखिएका छन्, ठिक लगाउँछौं भनेर फोन गरेर धम्क्याइएको छ।’
ओलीले नयाँ सरकारले नवराज सिलवालको किर्ते मुद्धा सम्बन्धि छानविन गरेर दोषीलाई कारबाही गर्ने बताए। ‘किर्ते गरेको सम्बन्धि नयाँ सरकारले छानविन गरी दोषीलाई कारबाही गर्छ’, उनले भने।
यस्तै, ओलीले राष्ट्रियसभामा कोमल वलीको उम्मेदवारी राष्ट्रिय सहमतिजस्तै भएको बताए। ‘कोमल वलीको सवालमा त राष्ट्रिय सहमतिजस्तो पो देखियो, कांग्रेसले पनि उनलाई कुनै बिरोध हालेन।’
सिमा मिचिएको सम्बन्धि प्रश्नमा ओलीले आफूलाई यसबारेमा ठ्याक्कै थाहा नभएको बताए। ‘यसबारेमा ठ्याक्कै थाहा भएन, नेपाली सिमा मिचिनुहुँदैन, मिचिएको मान्य हुँदैन।’
प्रकाशित ११ माघ २०७४, बिहिबार | 2018-01-25 18: