काठमाडौं, कार्तिक १० । मंसिर १० र २१ गते हुने प्रदेशसभाको निर्वाचनपछि सात प्रदेशमा मुख्यमन्त्री चयन हुनेछन् । सात प्रदेशको मुख्यमन्त्री हुनका लागि विभिन्न राजनीतिक दलका केही चर्चित र युवा नेताहरु प्रदेशको प्रत्यक्ष र समानुपातिक सूचीमा छन्।

सांसद र मन्त्री भइसकेका केही नेताहरु समेत भावी मुख्यमन्त्रीको दाबेदारीसहित प्रदेशको प्रत्यक्ष र समानुपातिक सूचीमा छन् । कांग्रेसका केही प्रभावशाली नेताहरुसँगको कुराकानी अनुसार आगामी निर्वाचनमा मुख्यमन्त्रीको सम्भावना बोकेको केही अनुहार यस्ता छन्ः

प्रदेश नम्बर १

गुरुराज घिमिरे : मोरङबाट राजनीति गर्दै आएका घिमिरे नेपाली कांग्रेसका युवा नेता हुन् । नेपाल विद्यार्थी संघको अध्यक्ष रहिसकेका घिमिरे कांग्रेस केन्द्रीय सदस्य छन् । घिमिरे यस पटक प्रतिनिधिसभाका लागि टिकटको दाबेदार भए पनि मुख्यमन्त्रीको दौडका कारण प्रदेशमा झरेका छन्।

आङगेलु शेर्पा : शेर्पा सोलुखुम्बुका चर्चित युवा नेता हुन् । शेर्पा विद्यार्थी, तरुण हुँदै केन्द्रीय राजनीतिमा सक्रिय छन् । आदिवासी जनजाति समेत भएकाले शेर्पा मुख्यमन्त्रीको दौडमा छन्।

प्रदेश नम्बर २

महेन्द्र यादव : पूर्वी मधेसका ८ जिल्ला रहेको दुई नम्बर प्रदेश कांग्रेसको पकड क्षेत्र हो । स्थानीय चुनावको नतिजामा केही खस्किए पनि यसअघिका संविधानसभा र संसदीय निर्वाचनलाई आधार मान्दा मधेसलाई कांग्रेसको भोट बैंक मानिन्छ । यस प्रदेशको मुख्यमन्त्रीको दाबेदारका रुपमा दुई नेतामध्ये एक हुन्, केन्द्रीय सदस्य महेन्द्र यादव । उनी मधेसका प्रभावशाली नेता मानिन्छन् । पूर्वसांसद यादव प्रधानमन्त्री शेरबहादुर देउवा र महामन्त्री विमलेन्द्र निधिसँग नजिक छन् । उनी तरुण दलका पूर्वअध्यक्ष समेत हुन्।

किरण यादव : यादव मधेसमा चर्चित महिला नेता हुन् । कांग्रेस केन्द्रीय सदस्य उनी मधेसको प्रभावशाली नेताहरुको सूचीमा पर्छिन् । दोस्रो संविधानसभामा महोत्तरीबाट प्रत्यक्ष निर्वाचित उनी पूर्वराष्ट्रपति रामवरण यादवकी भतिजी समेत हुन् । उनी भावी मुख्यमन्त्रीको एक्ली महिला दाबेदार हुन्।

प्रदेश नम्बर ३

जगदीश्वर नरसिंह केसी : नुवाकोटका जिल्ला अध्यक्ष रहेका केसी दोस्रो संविधानसभामा सांसद पनि भए । प्रत्यक्षतर्फ टिकट नपाए पनि समानुपातिकबाट सांसद बनेका केसी अर्जुननरसिंह केसीका भाइ हुन् । नुवाकोटमा प्रतिनिधिसभातर्फ २ वटा मात्र क्षेत्र रहेको र चुनाव लड्ने ‘हेभी वेट’का धेरै नेता भएपछि उनी प्रदेशको मुख्यमन्त्री हुने सोचका साथ प्रदेशसभामा उठ्न लागेका हुन् । तीन नम्बर प्रदेशका लागि केसी नै प्रमुख दाबेदारको रुपमा देखिएका छन्।

रमेश धमला : धादिङ जिल्ला सभापति धमला प्रतिनिधिसभामा प्रत्यक्षतर्फ टिकट पाउने सम्भावना बोकेका उम्मेदवार थिए । तर, उनले मुख्यमन्त्री हुने चाहना राख्दै प्रदेशमा लड्ने भएका छन्।

जितनारायण श्रेष्ठ : चितवनका स्थानीय नेता श्रेष्ठ पार्टी सभापति शेरबहादुर देउवाको आग्रहमा गत स्थानीय तह निर्वाचनमा माओवादी अध्यक्ष पुष्पकमल दाहालकी छोरी रेणु दाहाललाई जिताउन खटिएका थिए । प्रतिनिधिसभा तर्फको टिकट दाबी गरे पनि केन्द्रीय तहका नेता उक्त क्षेत्रमा निर्वाचन लड्ने भएपछि उनलाई प्रदेशमा स्थान दिइएको छ । आगामी निर्वाचनमा ३ नम्बर प्रदेशमा बहुमत ल्याएमा मुख्यमन्त्री हुने दौडमा उनी पनि हुनेछन्।

प्रदेश नम्बर ४

प्रदीप पौडेल : नेपाल विद्यार्थी संघका पूर्वअध्यक्ष पौडेल हाल पार्टीको केन्द्रीय कमिटी सदस्य छन् । उनी तनहुँमा प्रतिनिधिसभाका लागि सिफारिसमा परेका छन् । तर, तनहुँमा रामचन्द्र पौडेल र अर्का नेता गोविन्दराज जोशीले टिकटको दाबेदारी गरेपछि उनी प्रदेशको मुख्यमन्त्री बन्ने सम्भावना हेरेर प्रदेशमा झरेका हुन् । युवा नेता र सम्भावना धेरै भएको भन्दै उनले आफूलाई प्रदेशको मुख्यमन्त्रीको दाबेदारका रुपमा अघि सारेका छन्।

गोविन्द भट्टराई : भट्टराई कांग्रेसका केन्द्रीय सदस्य हुन् । उनी विद्यार्थी राजनीति हुँदै केन्द्रीय राजनीतिमा स्थापित भएका नेता हुन् । नेपाल विद्यार्थी संघका पूर्वअध्यक्ष भट्टराई चार नम्बर प्रदेशका चर्चित युवा नेता हुन्।

धनराज गुरुङ : केन्द्रीय सदस्य गुरुङ चर्चित नेता हुन् । पहिलो र दोस्रो संविधानसभामा सांसद रहेका उनी संसदको लेखा समिति सदस्य समेत थिए । समानुपातिक प्रणालीअन्तर्गत उनी स्याङ्जाबाट दोस्रो पटक संविधानसभा सदस्य भएका हुन् । उनी पनि प्रदेशको मुख्यमन्त्रीका एक प्रमुख दाबेदार हुन्।

प्रदेश नम्बर ५

वीरबहादुर राना : राना पाल्पाका स्थानीय नेता हुन् । दोस्रो संविधानसभा निर्वाचनमा उनी सांसदको टिकट पाउने सूचीमा परे पनि पछि हटाइए । यस पटक पनि प्रतिनिधिसभाको टिकट पाउने सम्भावना नभएपछि उनी प्रदेशसभामा उम्मेदवार बन्दै छन्।

अभिषेकप्रताप साह : उपेन्द्र यादवको संघीय समाजवादी फोरमबाट हालै नेपाली कांग्रेस प्रवेश गरेका साह पनि मुख्यमन्त्रीको एक दाबेदार हुन् । कपिलवस्तु जिल्लाबाट दुवै पटक संविधानसभामा निर्वाचित उनको कांग्रेस नेता दीपकुमार उपाध्यायसँग पारिवारिक सम्बन्ध छ । उनका हजुरबुवा शिवप्रसाद साह २०१५ सालमा विपी कोइराला नेतृत्वको सरकारमा अर्थ राज्यमन्त्री थिए । बुवा अजयप्रसाद साह २०५६ सालमा राप्रपाबाट सांसद थिए।

विक्रम खनाल : खनाल अघिल्लो संविधानसभामा नवलपरासी–५ बाट निर्वाचित भएका थिए । महामन्त्री शशांक कोइरालानिकट खनाल प्रभावशाली युवा नेता मानिन्छन् । यस पटक मुख्यमन्त्रीको दाबेदारीसहित उनी प्रदेशमा उठ्ने भएका छन्।

प्रदेश नम्बर ६

जीवनबहादुर शाही : शाही पूर्व पर्यटनमन्त्री हुन् । कर्णालीको हुम्लाबाट उनी संविधानसभामा निर्वाचित भएका हुन् । कर्णालीका प्रभावशाली नेता उनी प्रदेश–६ का लागि कांग्रेसबाट सर्वसम्मत उम्मेदवार हुन्।

प्रदेश नम्बर ७

नरनारायण साह : कैलाली कांग्रेसका सभापति रहेका साहको नाम प्रदेशसभाका लागि सिफारिस भएको छ । निर्वाचन जितेमा प्रदेश–७ मा कांग्रेसका मुख्यमन्त्रीको उम्मेदवार उनी नै हुनेछन्।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय