संघमा मानबीर राई, राजेन्द्र बस्नेत र बलबहादुर केसीको प्रवल सम्भावना

१० असोज – आउँदो मंसिर १० र २१ गते सम्पन्न हुन लागेको संघ र प्रदेश निर्वाचनका लागि नेकपा ९माओवादी केन्द्र०ले प्रदेश नम्बर १ को मुख्यमन्त्रीका रुपमा उभ्याएको गोपाल किरातीले आफ्नै गृह जिल्ला सोलुखुम्बुबाट उम्मेद्धारी दिने भएका छन् । पार्टी स्थायी समिति सदस्य तथा प्रदेश नम्बर १ का इन्चार्जसमेत रहेका किरातले समानुपातिक तर्फबाट उम्मेद्धारी दिन लागेको जानकारी प्राप्त भएको छ ।

सोलुखुम्बुमा प्रतिनिधि सभाका लागि एक र प्रदेश सभाका लागि २ वटा निर्वाचन क्षेत्र निर्धारण गरिएको छ । प्रतिनिधि सभाका लागि माओवादीले राजेन्द्र बस्नेतलाई उम्मेद्धार बनाउने लगभग निश्चित भएको छ । त्यसोत उम्मेद्धार बन्नेको सूचिमा महेश किराती र निमातेण्डुप शेर्पाको नाम पनि चर्चामा नआएको भने होइन ।

प्रदेश सभाका लागि निर्वाचन क्षेत्र नं. १ मा पार्टीको पोलिटव्यूरो सदस्य तथा जिल्ला पार्टीको इन्चार्जसमेत रहेका हेम कुमार राई (सुरविर) र क्षेत्र नं. २ मा पूर्व सभासद आङदावा शेर्पालाई उम्मेद्धारको रुपमा उभ्याउने जिल्ला पार्टीले सर्वसम्मत निर्णय गरेर सिफारिस गरेको छ ।

नेकपा एमाले र नेपाली कांगे्रसले पनि उम्मेद्धार छनोटको तयारी तीब्र पारेका छन् । नेकपा एमालेबाट प्रतिनिधि सभामा पार्टी जिल्ला अध्यक्ष मानवीर राईको प्रवल सम्भावना छ । त्यस्तै प्रदेश सभाका लागि क्षेत्र नं. १ बाट भीमराज राई, उत्तम बस्नेत र लोचन शर्माको नाम चर्चामा छ भने क्षेत्र नं. २ बाट आङङिमा लामा, आङदामी शेर्पा, सोनाम शेर्पालगायतको नाम चर्चामा छ ।

यता नेपाली कांगे्रसबाट प्रतिनिधि सभाका लागि वर्तमान सांसद बलबहादुर केसी र पार्टीका पूर्व जिल्ला सभापति आङगेलु शेर्पाको नाम चर्चामा छ । त्यस्तै प्रदेश सभाका लागि क्षेत्र नं. १ बाट विनोद बस्नेत, खिलाराज बस्नेत, सुर्य कुलुङलगायतको नाम चर्चामा छ भने क्षेत्र नं २ बाट भोजराज कार्की, आङगेलु शेर्पालगायतको नाम चर्चामा छ । प्रतिनिधि सभामा बलबहादुर केसी सर्वसम्मत हुने अवस्था आए आङगेलु शेर्पा क्षेत्र नं. १ को उम्मेद्धार निश्चित जस्तै हो । अर्को हप्ता जिल्ला पार्टीको बैठक हुन लागेको र सोही बैठकबाट उम्मेद्धारी छनोटको विषयमा छलफल गरिने जिल्ला नेता भोजराज कार्कीले जानकारी दिए ।

माओवादीले समानुपातिक उम्मेद्धारको लागि पनि छलफल चलाएको छ । क्षेत्र नम्बर १ को लागि अनिल राई, फुलमाया परियार, सुनिता किरातीको नाम चर्चामा छ भने क्षेत्र नं. २ को लागि कज्र्याङ शेर्पा, धु्रव पराजुली, शिशिर खालिङलगायतको नाम चर्चामा रहेको छ ।

एक नगरपालिकासहित ८ स्थानीय तह रहेको सोलुखुम्बुमा ५२ वटा वडा रहेको छ । प्रदेश सभाका लागि महाकुलुङ, दुधकौशिका, नेचा सल्यान र सोताङ गाउँपालिकालाई समेटेर निर्वाचन क्षेत्र नं. १ तथा दुधकोशी, खुम्बु पासाङल्हामु, सोलु दुधकुण्ड नगरपालिका र लिखुपिके गाउँपालिकालाई समेटेर निर्वाचन क्षेत्र नं. २ निर्धारण गरिएको छ ।
– शिखरपोष्ट

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय