
नेपाल कम्युनिष्ट पार्टी एमालेले पार्टीको अधिवेशनको चुनावमा प्यानल बनाउन नपाइने व्यवस्था लागू गरेको छ । पार्टी महासचिव शङ्कर पोखरेलद्वारा जारी वार्षिक कार्ययोजनामा पार्टीको कुनै पनि कमिटीमा अधिवेशनमा उठ्ने उम्मेदवारले प्यानल बनाउन नपाइने उल्लेख छ ।
कार्ययोजनामा आउँदो ११ औँ महाधिवेशनसम्म १० लाख सदस्यता पुर्याउने लक्ष्य लिइएको छ । पार्टीले आउँदो वर्षदेखि अभिलेखीकरणको काम सङ्गठन विभागको निर्देशनअनुरूप ‘अनलाइन’मार्फत गर्ने भएको छ ।
कार्ययोजनामा पार्टी प्रवेशबाट आएका र नयाँ सदस्यता प्राप्त सबै पार्टी सदस्यका लागि अनिवार्य आधारभूत तहको प्रशिक्षणको व्यवस्था मिलाउने पनि उल्लेख छ । यस्तै पार्टीको विधानले तोकेको अवधिभित्र अधिवेशन सम्पन्न नभएका कमिटीहरू स्वतः सङ्गठन कमिटीमा रूपान्तरण हुने व्यवस्था छ ।
अन्य पार्टीबाट एमाले प्रवेश गरेकाहरूलाई पार्टी जिम्मेवारी प्रदान गर्नु पूर्व आधारभूत तहको प्रशिक्षण अनिवार्य गर्ने र नयाँ पार्टी सदस्यलाई पार्टी सदस्यको शपथग्रहण समारोह पूर्व आधारभूत प्रशिक्षण प्रदान गर्ने योजना कार्ययोजनामा राखेको छ ।