पुस १८, २०७४ – मुस्ताङको सदरमुकाम जोमसोम बजारमा आज बिहानदेखि हिउँ परेको छ । जोमसोम वरपरका टुकुचे, कोवाङ, लेते, मार्फा, ठिनी, कागवेनी लगायतका क्षेत्रमा हिमपात पछि चिसोका कारण जनजीवन प्रभावित भएको छ । जोमसोम भन्दा अन्य गाउँबस्ती र उच्च पहाडमा अत्यधिक हिमपात भएको जोमसोम विमानस्थल तापमापन केन्द्रले जनाएको छ ।
५ दिनदेखि जोमसोमको न्युनतम तापक्रम माइनस ७ डिग्री सेन्टिग्रेडमा झरेको छ । हिमपातका कारण चिसो बढेपछि स्थानीयलाई घर बाहिर निस्कन समेत समस्या भएको छ । बजार, पसललहरु बन्द छन् । चिसोका कारण स्थानीय तथा मुस्ताङ घुम्न गएका पर्यटक होटल भित्रै बस्न बाध्य छन् । आन्तरिक पर्यटकको संख्या न्यून छ । हिमपातका कारण अत्यधिक चिसो बढेपछि अधिकांश स्थानीय पोखरा लगायतका ठाउँमा झरिसकेका छन् । हिउँ परेपछि घर तथा आफ्ना होटल कुर्न बसेकाहरु पनि बाहिर निस्केका छैनन् । सरकारी कार्यालयमा कर्मचारी निकै कम छन् । कार्यालय कुर्न बसेका कर्मचारी कोठा भित्रै बस्न बाध्य छन् । सेवाग्राही कोही पनि नआउने भएकोले अधिकांश कर्मचारी बिदा मिलाएर घर गएका छन् । जोमसोममा भन्दा तल्लो भेग लेते र कोवाङमा धेरै हिउँ परेको स्थानीयको भनाइ छ । उपल्लो मुस्ताङमा हिउँ नपरेपनि अत्यधिक चिसो बढेको छ ।
यो मौसममा मुस्ताङका घरहरुमा अधिकांश स्थानीय बसेका छैनन् । चिसो छल्न सबैजसो पोखरा, काठमाण्डौ, चितवन, बुटवल र भारत तर्फका विभिन्न शहरमा पुगेका छन् । जोमसोम विमानस्थल तापमापन शाखाका अनुसार, चिसो बढेकोले हवाई यात्रुको चाप निकै कम भएको छ । नेपालीहरुको ओहोरदोहोर शुन्य जस्तै छ । तेस्रो मुलुकका पर्यटकहरु चिसोमा खेल्न आउने भएकोले अहिले दैनिक १/२ उडान मात्र भएको छ । जोमसोमको आज मंगलबारको अधिकतम तापक्रम माइनस २ र न्युनतम तापक्रम माइनस ७ डिग्री सेन्टिग्रेड रहेको विमानस्थल कार्यालयले जनाएको छ । न्युनतम तापक्रम यो साता निकै तल झरेको छ, मौसमको पुर्वानुमान गर्दा अझै केही दिन तापक्रम यो भन्दा तल हुनेछ, विमानस्थल प्रमुख बिष्णुप्रसाद अधिकारीले भन्नुभयो, आज मंगलबार जोमसोममा केहीबेर हिउँ पर्यो, यहि अनुपातमा चिसो बढ्यो भने केही दिन भित्रै अझै धेरै हिउँ पर्नेछ । चिसो बढेपनि तेस्रो मुलुकका पर्यटक आउने क्रम जारी रहेको उहाँले बताउनुभयो ।





