सतहत्तर वर्ष सात महिना सात दिन पुरा गरी भिमरथारोहन गरी सकेका ताम्रकार समाजका ८२ (बयासी) जवान जेष्ठ नागरिकहरुको घरघरमै गई समाज अन्र्तगतको जेष्ठ नागरिक सम्मान उपसमितिले हेरविचार, पौष्टिक आहार वितरण एवं सामान्य स्वास्थ्य परिक्षण कार्यक्रम सम्पन्न गरेका छन । उपसमितिलाई स्वास्थ्य उपसमिति एवं युवा तथा खेलकुद उपसमितिले सहयोग गरेका हुन ।
समाजका जेष्ठ नागरिकहरु भगवान सरह हुन्छन, उहाँहरुको सम्मान, हेरविचार गर्ने कार्यमा समाज कहिल्यै पछि नपरेको समाजका अध्यक्ष रविन्द्रराज ताम्रकारले बताउनु भयो । समाजले गर्दै आइरहेका कार्यहरु मध्ये लोकप्रिय तथा आत्मसन्तुष्ट मिलेका कार्यहरु मध्ये यो पनि एक रहेको बताउँदै उहाँले जेष्ठ नागरिकहरुको आशिर्वादबाट समाज अझै सक्रिय भएर अगाडी बढन सकेको बताउनु भयो । जेष्ठ नागरिक सम्मान उपसमितिका संयोजक विजय ताम्रकारले विगत चारवर्ष देखि यो कार्यक्रम संचालन गर्दै आइरहेको र यस कार्यमा समाजका सम्पूर्ण सदस्यहरुको साथ सहयोग रहेको बताउनु भयो ।
ललितपुर, नबहालका ८६ वर्षिय काजीरत्न ताम्रकारले समाजको यस्ता क्रियाकलापहरुबाट आफूहरु कृतज्ञ भएको बताउनु भयो । उहाँले यस्ता कार्यहरु सजिलो नभएको, संख्या धेरै भएको, सबै एकै ठाँउमा नबस्ने भएकाले सहज नभएको बताउनु भयो । समाजले जेष्ठ नागरिकहरुका लागी यसका अलावा समय समयमा धार्मिक भ्रमण, भजन किर्तन, स्वास्थ्य परिक्षण, सम्मान कार्यक्रमहरु पनि नियमितरुपमा गरिंदै आइरहेका छन् ।
ताजा समाचार
लोकप्रिय
© 2024 Afnai News सर्वाधिकार सुरक्षित