म दलाई लामालाई मान्दिनँ । उनी विस्थापित धार्मिक नेतामात्रै हुन् ।

तर उनको भनाइलाई लिएर ठूलो रडाको मच्चाउनु आफ्नै अबुझपन र असहिष्णुताको परिचय दिनु होजस्तो लाग्छ । उनले बुद्ध नेपालको लुम्बिनीमैं जन्मेको हो भनेका छन् । तर हामीले बुद्ध नेपालीमात्रै हुन् र भारतको कुनै हक छैन भन्नेजस्तो प्रचार गरेकाले त्यसलाई घुमाएर बुद्धका लाखौं अनुयायी भएको भारतमा बुद्ध ‘विदेशी’ होइनन् भन्ने सन्देश दिन भारतीय दर्शकको अगाडि उनले बुद्ध लुम्बिनीमा जन्मिए पनि ‘इण्डियन’ भएको अभिव्यक्ति दिएको देखिन्छ । बुद्ध नेपाली हुन्, इण्डियन होइनन् भन्ने दाबीलाई उनले ‘नन्सेन्स’ भनेका हुन् । कसैले उनलाई बुद्ध नेपालीमात्रै हुन् भन्ने नाराबारे सुनाएकोजस्तो देखिन्छ । बुद्धको समयमा यो उपमहाद्वीपलाई ‘भारतवर्ष’ भनिने हुनाले र देशको सीमा नछुट्टिएको हुनाले बुद्धलाई इण्डियन भन्न सकिने उनको तर्क छ । यसको अर्थ बुद्ध नेपाली होइनन् भन्ने हुँदैन । उनको शब्दचयन भने खास सुन्दर छैन । मलाई उनी आफै पनि खास सुन्दर लाग्दैनन् ।

बुद्ध कुन देशका हुन् भन्ने विवादमाथि फैसला गर्ने बोलेका होइनन् उनले । बुद्ध भारतीय हुन् भनेर भारतीयहरूमा बुद्ध र बुद्ध धर्मप्रति अपनत्व विकास गर्ने भावनात्मक अभिव्यक्ति मात्रै देखिन्छ त्यो । नेपालमा बोलेको भए नेपाली हुन् नै भन्ने थिए ।

उनको तर्क नाजायज होइन । बुद्धले नेपालको लुम्बिनीमा जन्मिएर भारतमा बुद्धत्व प्राप्त गरेको मात्रै होइन, बुद्धत्वप्राप्तिपछिको सिङ्गो जीवन त्यहीँ बिताएका हुन् । हाम्रा नेता लालबाबु पण्डितजीको नजरमा पाँच वर्ष बाहिर बसेको नेपाली त विदेशी हुन्छ भने बुद्धले त जीवन नै बाहिर बिताए । यो कटु तर सत्य हो । बुद्धत्वको प्रचारमा भारतको ठूलो योगदान छ । मुश्लिमहरूले आक्रमण गरेर ध्वस्त पार्नुअघि बिहारमा बौद्ध विश्वविद्यालय नै सञ्चालनमा थियो । त्यहीँ पढेर भिक्षुहरूले बौद्ध धर्मलाई चीन, भियतनाम, थाइल्याण्ड, कम्बोडियाजस्ता देशमा पुऱ्याएका हुन् ।

बुद्ध नेपालमा जन्मिएका हुन् । यो सर्वमान्य सत्य हो । यसमा हामी आफैबाहेक अरु कसैलाई शङ्का छैन । बुद्ध नेपाली हुन् । तर बुद्ध भारतीय पनि हुन् । यसमा हाम्रो टाउको दुख्नुपर्ने केही छैन । जसरी मदर टेरेसा अलबेनियन र इण्डियन दुबै हुन्, जसरी उदितनारायण नेपाली र इण्डियन दुबै हुन्, बुद्ध पनि नेपाली र भारतीय दुबै हुन् । अझ उनी त महामानव भएकाले विश्वकै आफ्ना हुन् ।

विश्वको एक अरबभन्दा बढ़ी जनसङ्ख्या भएको देशले बुद्धलाई आफ्नो मान्छ भने त्यो हरेक बौद्ध धर्मावलम्बीका लागि गौरवको विषय हो । नेपालका प्रधानमन्त्रीले नेपाल बुद्ध-पथमा हिँड्छ भन्न सक्दैनन् तर भारतीय प्रधानमन्त्रीले छाती खोलेर त्यसो भन्न सक्छन् भने बुद्ध-प्रेमीका रूपमा त्यसलाई सम्मान गर्ने म तयार छु । बुद्धलाई सारा संसारले आफ्नो भनेको राम्रो हो । बुद्धको ‘नेसनालिटी’ ठूलो मुद्दा होइन, बुद्धत्व पो मुद्दा हो । एक अरब भारतीयले बुद्धलाई विदेशी भन्ने र घृणा गर्ने हो भने हाम्रो आत्मालाई शान्ति मिल्ने हो ?

बस्, यत्ति हो । दलाई लामाले त्यस्तो आपत्तिजनक केही बोलेका छैनन् । हाम्रै चित्त सारै साँघुरो र पूर्वाग्रहयुक्त भएको हो । बुद्ध जत्ति हाम्रा हुन्, त्यति नै विश्वका हुन् । दलाई लामा चिनियाँ ज्यादती सहन नसकेर विस्थापित र भारतीय शरणमा बाँचेका नेता हुन् । तिनलाई धेरै महत्त्व दिएर शेयर गरिरहनु पर्दैन। दलाई लामालाई गाली गर्न खर्च हुने शब्द र समयलाई बरु बुद्धको प्रार्थनामा खर्च गरौँ ।

लामाको बिबादित भिडियो

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय