काठमाडौं, असोज १२ । दशैंको आठौं दिन आज महाअष्टमी देशभर माता दूर्गा भवानीको पूजा आराधना गरी मनाइँदै छ ।

आज काठमाडौंका दक्षिणकाली, गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, नक्साल भगवती, भद्रकाली, शोभाभगवती, विजेश्वरी, इन्द्रायणी, रक्तकाली, बज्रयोगिनी, संकटा, बज्रबाराहीलगायत शक्तिपीठमा बलि दिने प्रचलन रहेको छ ।

दुर्गा भवानी, महाकाली, महासरस्वती र महालक्ष्मीको प्रतीक मानेर चामल, सुनचाँदीका गहना, सुपारी, जनै र नैवेद्यसहित नौ वटा वस्तुको दुर्गा थापी पूजा गर्ने चलन छ । किसानले फलामे औजारको पूजा गर्छन् । यस्तै, सवारीधनीहरुले आफ्ना साधनलाई बलिसहित पूजा गर्छन् ।

पशुबली नचढाउनेहरुले पूजाकोठामा मूला, कुभिन्डो, घिरौंलालगायत तरकारीको बलि दिने गर्छन् ।

कतिपय स्थानमा दुर्गा भवानीलाई खीर र नरिवल चढाउने चलन पनि छ । हनुमानढोकास्थित दशैंघरमा आज मध्यरातमा शक्तिरुपिणी दुर्गा भवानीको पूजाअर्चना र हर्ष बढाइँ हुन्छ । त्यसक्रममा तलेजु भवानीलाई ५४ राँगा र ५४ बोकाको बलि दिई कालरात्रि मनाउने गरिन्छ ।

आजको दिन महाकालीस्वरुपा भद्रकालीको विशेष पूजा गर्ने गरिएको छ ।

श्रोत अनलाइन खबर

 

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय