पुस २०, २०७४ काठमाडौं : नेपालबाट विभिन्न देश हुँदै अमेरिकासम्म मानव तस्करको जालो रहेको पाइएको छ। उनीहरूले मलेसिया, सिंगापुर, बैंकक, नाइजेरिया हुँदै मेक्सिकोसम्मको रुट प्रयोग गर्ने गरेका छन्। लाखौँ रुपैयाँ खर्चेर अमेरिका हिँडेका तीन युवायुवती विभिन्न मुलुकमा अलपत्र परेर नेपाल फर्किएपछि यो तथ्य बाहिर आएको हो। ताप्लेजुङ लेलेप–९ की हिमा शेर्पा, दाङका चन्द्र शाही ठकुरी र दोलखा सुस्पा क्षमावती–१ की छिरिङ डोमा शेर्पा तस्करहरुबाट ठगिएर हालै स्वदेश फर्किएका छन्।
उनीहरू दुई वर्षअघि मलेसियाबाट सिंगापुर हुँदै अमेरिका गएका थिए। उनीहरूसँगै अमेरिका हिँडेका ताप्लेजुङ पापुङ–२ का चुङ्दाक शेर्पा भने फ्रान्समा अलपत्र छन्। ताप्लेजुङकी शेर्पाका अनुसार बाग्लुङ रिधा–८ का सागर श्रीष मगरले आकर्षक रोजगार लगाइदिने प्रलोभन दिएपछि उनीहरू अमेरिका हिँडेका थिए। यसका लागि हिमाले सागरलाई २० लाख दिइसकेकी छिन्। त्यस्तै, अन्य पीडित चन्द्र शाही ठकुरी र चुङ्दाक शेर्पाले पाँच–पाँच लाख र छिरिङ डोमा शेर्पाले १५ लाख बुझाइसकेका छन्। हिमाका अनुसार पहिलो चरणमा सागरले उनीहरूलाई अन्तर्राष्ट्रिय विमानस्थल हुँदै मलेसिया लगेका थिए। केही दिनको मलेसिया बसाइपछि सिंगापुरमा १७ दिन राखियो र बैंकक लगियो। बैंककमा उनीहरूलाई दुई महिना राखियो।
उनीहरूमध्ये चुङ्दाकलाई भने नाइजेरिया हुँदै मेक्सिको लगियो। हिमा, चन्द्र र छिरिङलाई भने भारतको नयाँदिल्ली ल्याइयो। दिल्लीमा करिब नौ महिना बसेपछि उनीहरू अहिले नेपाल फर्किएका छन् । उनीहरूसँगै गएका चुङ्दाकलाई भने मेक्सिको अध्यागमनले फ्रान्स आउने जहाजमा फिर्ता पठाएको छ।
अमेरिका प्रवेशपछि ३२ लाख लिने योजना अमेरिका प्रवेश गराएपछि प्रत्येकसँग ३२ लाख रुपैयाँ असुल्ने सागरको योजना रहेको हिमा शेर्पाले बताइन्। सोही कारण उनले सुरुमै प्रत्येकसँग पाँचदेखि २० लाखसम्म रकम लिएका थिए। साथै, उनले पासपोर्ट र नागरिकता पनि लिए। तर, अमेरिका नपुर्‍याई सबैलाई बीचबाटोमै अलपत्र छाडेर सागर बेपत्ता भएका छन्। ‘हामीलाई ३२ लाखमा अमेरिका लैजान्छु भनेर विभिन्न प्रलोभन देखायो। हामी बहकियौँ र उसैको पछि लाग्यौँ। उसले मलेसिया, बैंकक, सिंगापुर, नाइजेरिया, मेक्सिको हुँदै अमेरिका प्रवेश गराउँछु भनेका थियो,’ हिमाले भनिन्, ‘हामीलाई सिंगापुरसम्म त लग्यो, त्यसपछि दुई वर्षसम्म विभिन्न मुलुकमा अलपत्र बनाएर राख्यो। उसलाई भेट्न धेरै कोसिस गर्‍यौँ, तर ऊ सम्पर्कमा आएको छैन।’ सागरले २५ भन्दा धेरै युवायुवतीलाई नाइजेरिया लगेर अलपत्र छाडेको हिमाले बताइन्। उनले केही युवा मेक्सिको लगेर छाडेको हिमाको भनाइ छ। ‘सागरले नाइजेरियामा २५ भन्दा धेरै युवायुवतीलाई अलपत्र बनाएको छ। नाइजेरियामा जेसन श्रीष मगर भन्ने यसको आफ्नै दाइ छ। पीडितहरू सबैको पासपोर्ट उसैसँग छ। पासपोर्ट नभएर धेरैजना नेपाल फर्किन सकेका छैनन्। उसको विरुद्ध कसैले बोले बोको हराममार्फत ठीक पारिदिने धम्की दिने गरेको छ,’ उनले भनिन्।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय