ताप्लेजुङ / विश्व शान्ति तथा मानव प्राणी जगत्को हितका लागि ताप्लेजुङमा दोश्रो पटक आयोजना गरिएको बज्रगुरु मन्त्रजप कार्यक्रम आज सम्पन्न भएको छ । आईतबारदेखि सदरमुकाम नजिकै रहेको सुकेटारमा बज्रगुरु मन्त्रजप र आचार्य पद्मसम्भव मन्त्र पुजा सञ्चालन भएको थियो । महागुरु लामा थुप्तेन जोपा रिम्पोछेको प्रमुख आतिथ्यतामा सञ्चालित मन्त्रजपमा विभिन्न अवतारी रिम्पोछे सहित करिव २ सय ५० जना लामा गुरुहरु र सयौँको संख्यामा उपासक उपासिकाहरुको सहभागिता रहेको थियो ।
मन्त्रजपमा ताप्लेजुङ सहित काठमाण्डौ, सिन्धुपाल्चोक, काभ्रे, झापा, ईलाम, पाँचथर, तेह्रथुम, भोजपुर, संखुवासभा र भारतको सिक्किमबाट समेत गरि ६ हजार वढि भक्तजनहरु सहभागी भएको आयोजक समितिका सदस्य दुर्गा गुरुङले जानकारी दिनुभएको छ । पुर्विय दर्शनको संरक्षण गर्ने, जातिय सद्भाव र राष्ट्रिय एकतालाई सुदृढ बनाउने उद्धेश्यले यो कार्यक्रमको आयोजना गरिएको आयोजक समितिले जनाएको छ ।
लगातार ताप्लेजुङमा तीन पटक सम्म मन्त्रजप आयोजना गर्ने यस अघिको समितिको निर्णय अनुसार यो दोश्रो पटक आयोजना गरिएको हो । मन्त्रजप गर्दा आफ्नो मन (चित्त) शुद्ध भई सवै प्रकारको पुण्य लाभ प्राप्त हुने बौद्धधर्मावलम्बीहरुको विस्वास छ । बुद्ध र बोधिसत्वको मन्त्रजप गर्नाले मन सुद्ध हुनुका साथै बुद्धत्व प्राप्त हुने समेत विस्वास रहेको छ । मन्त्रजपको अन्तिम दिन आज बौद्ध धर्मबारे प्रवचन सहित आयु अभिषेक र छिवाङ समेत प्रदान भएको थियो । यस्तै बुद्धको अस्तु समेत राखेर भक्तजनलाई दर्शन गराईएको थियो ।
तस्बीर आचार्य सर्की लामाको फेसबुक बाट
-purbeli news