काठमाडौं, असोज १३ बिहीबार साँझ झापाका विभिन्न स्थानमा भएका मोटरसाइकल दुर्घटनामा परि ४ जनाको मृत्यु भएको छ । तीन जना घाइते भएका छन् । उनीहरुमध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
पूर्व–औपश्चिम राजमार्ग अन्तर्गत कमल गाउँपालिका ५ पाडाजुँगीमा बेलुका ६ बजे मोटरसाइकल र स्कुटर आपसमा जुद्धा दुई जनाको मृत्यु भएको थियो । दुर्घटनामा परी दमक ५ का २८ बर्षीय सुनिल सुवेदी र वडा नं. ९ का २५ बर्षीय राजन खड्काको मृत्यु भएको हो । दमक ६ का २७ बर्षीय सुवास निरौलाको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरिक्षक दीपक गिरीले जानकारी दिए । उनलाई थप उपचारको लागि बिराटनगर रेफर गरिएको छ ।
पूर्वबाट पश्चिमतिर आउँदै गरेको मे ४ प ३५२४ नम्बरको स्कुटर र पूर्वतर्फ जाँदै गरेको को १५ प ८४३३ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका थिए । दुर्घटनामा परि गम्भीर घाइते भएका मोटरसाइकल चालक खड्का र स्कुटर चालक सुवेदीको उपचारका लागि दमकतिर ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको डीएसपी गिरीले बताए ।
बिहीबार साँझ ७ बजे दमक ४ चिया दोकानस्थित राजमार्गमा मोटरसाइकलको ठक्करबाट एक पैदल यात्री वृद्धको मृत्यु भएको छ । पश्चिमतिर जाँदै गरेको मे ५ प २७३० नम्बरको मोटरसाइकलले एकै दिसामा जाँदै गरेका नाम, थर, बतन खुल्न नसकेका अन्दाजी ७५/८० बर्षीय वृद्ध व्यक्तिलाई ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते वृद्धको दमकको निम्स अस्पतालमा उपचारका क्रममा ७ : १० बजे मृत्यु भएको दमक प्रहरीले जनाएको छ ।
त्यसअघि बिहीबार दिउँसो मेचीनगर नगरपालिका १३ स्थित मेची राजमार्गमा दुई वटा मोटरसाइकल आपसमा ठोक्किएर दुर्घटना हुँदा घाइते भएकामध्ये मेचीनगर ७ का ३७ बर्षीय मदन रिजालको मृत्यु भएको थियो । रिजालले चलाएको मे २ प ७७१४ नम्बरको मोटरसाइकललाई विपरीत दिसाको ना १३ प ८०३३ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो ।
दुर्घटनामा रिजालसहित पछाडी सवार उनकी श्रीमती ३२ बर्षीया कल्पना रिजाल र ८०३३ नम्बरको मोटरसाइकल चालक हेटौडाका ३५ बर्षीय प्रबिन सुवेदी घाइते भएका थिए । उनीहरुमध्ये बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा उपचारका क्रममा बिहीबार बेलुका मदनको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । उनकी श्रीमती र सुवेदीको बीएण्डसीमै उपचार भइरहेको प्रहरीले जनाएको छ ।
श्रोत इकान्तिपुर