Advertisement


काठमाडौं: नेपाल बौद्ध महासंघले ‘एपी वान टेलिभिजनको ‘तमसोमा ज्योतिर्गमय’ स्तम्भका कार्यक्रम प्रस्तोता टीकाराम ‘यात्री’ र पूर्वमहान्यायाधिवक्ता प्राध्यापक डा.युवराज संग्रौलाविरुद्ध प्रेस काउन्सिल नेपालमा उजुरी दिएको छ। बौद्ध धर्मसँग सम्बन्धित काठमाडौं उपत्यकामा रहेका गुम्बालाई लक्ष्य गरी कपोलकल्पित समाचार प्रसारण गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन भएको भन्दै संघले यात्री र संग्रौलामाथि कारबाही माग गरेको हो।

गत साता प्रस्तुत कार्यक्रमको संवादमा पत्रकार आचारसंहिताविपरीत धार्मिक भेदभाव र घृणा उत्पन्न हुने गरी प्रस्तुति भएको दाबी संघको छ। उक्त कार्यक्रमका कारण सार्वभौमसत्ता, राष्ट्रिय एकता र सामाजिक सद्भावमा खलल पुगेको दाबीसहित संघका अध्यक्ष आचार्य कर्मा रिन्छेन शेर्पाद्वारा असोज ८ मा काउन्सिलमा उजुरी दर्ता भएको हो।

‘विश्व इतिहासमा बौद्ध गुम्बाहरूले जगतको हित गर्ने शिक्षाबाहेक कुनै पनि मुलुकको हित कार्यविपरीत कार्य गरेको कहीँ–कतै देखिएको थिएन र अवगत पनि छैन। त्यस्तै, नेपालका गुम्बा पनि देशको शान्ति सुरक्षामा असर पर्ने नभएर बौद्ध दर्शन र विश्वशान्तिका लागि निर्मित पवित्र मन्दिर हुन्,’ संघले कारबाहीको मागसहित उजुरीमा भनेको छ। एपी वानको उक्त कार्यक्रम नियोजित रहेको र संग्रौलाले समर्थन गरेको भनाइ पनि उजुरीमा छ। तर, संग्रौलाले भने धार्मिक सद्भाव बिथोल्ने कुनै उद्देश्य नभई पवित्र भावनाले कुरा राखिएको बताए।

‘सरकारले योजना बनाउँदा सेक्युरिटी एजेन्सीको नजिक गुम्बा मठमन्दिर र गुम्बा मठमन्दिरको नजिकमा सेक्युरिटी एजेन्सी राख्ने काम गर्नु भएन। कुनै बेला दुवैलाई अप्ठ्यारो पर्न सक्छ भन्ने भनाइ मात्र हो,’ संग्रौलाले भने, ‘पवित्र उद्देश्यले सरकार र सुरक्षा निकायको ध्यानाकर्षणका लागि भनिएको कुरा हो।’
संग्रौलाले कसैले कसैलाई उचाल्नुको तात्पर्य नरहेको बताए। ‘योजनामा ध्यान दिनुपर्‍यो मात्र भनिएको हो,’ संग्रौलाले स्पष्ट पारे। कार्यक्रम प्रस्तोता यात्रीले पनि उजुरीको आरोप एकपक्षीय र अवास्तविक रहेको बताउँदै धार्मिक सद्भावमा खलल पुर्‍याउने कुनै उद्देश्य नभई समग्र हितलाई ध्यानमा राखेर अन्तरसंवाद भएको बताए।

 

Source:annapurna post

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय