काठमाडौं, असोज ९ । अज्ञात समूहले रौतहटको परोहा नगरपालिका २ जिंगडवामा सोमबार बिहान गोली हानी एक युवकको हत्या गरेको छ ।

मृत्यु हुने हालै सम्पन्न स्थानिय तहको निर्वाचनमा वडा नं.२ का वडाध्यक्षका प्रत्याशी नेपाली कांग्रसका शेख शेराजुदिनका छोरा २४ वर्षीय अख्तर भन्ने शेख अब्बु सोहेब रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

घरको आंगनमा सुतिरहेकको अवस्थामा बिहान करीब ४ बजे सोहेब उपर गोली प्रहार भएको पीडित परिवारलाई उदृत गर्दै सुरक्षा अधिकारीले बताएका छन् ।

शरीरमा गोली लागेका घाइते सोहेबलाई उपचारको लागि जिल्ला अस्पताल गौरमा ल्याउने क्रममा बाटोमै मृत्यु भएको हो ।

मृतको शव परीक्षणको लागि गौर अस्पतालमा राखिएको र घटनाबारे थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

घटनामा संलग्न रहेको आशंकामा प्रहरीले परोहा नगरपालिका १ का मनोज कुमार साहका छोरा २२ वर्षीय प्रदीप भन्ने सुरज कुमार साहलाई अनुसन्धानको लागि नियन्त्रणमा लिएको जनाएको छ ।
श्रोत इकान्तिपुर

 

 

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय