सोलुखुम्बु, ५ असोज । सोलुखुम्बुस्थित दुधकौशिका गाउँपालिकाको कार्यालयमा अज्ञात समुहले गएराती आगजानी गरेका छन् । गाउँपालिकाको गत भदौ २५ गते सम्पन्न प्रथम गाउँ सभाले पारित गरेको चालु आर्थिक वर्ष २०७४/०७५ को बजेट र नयाँ नामाङ्कनबारे विरोध भइरहेको बेला यो घटना भएको हो ।
गाउँपालिकाका प्रशासकीय अधिकृत श्यामकुमार न्यौपानेको आवास कक्षामा ढोको फोडेर भित्र छिरी निर्णय पुस्तिकालगायतमा आग्जानी गरिएको बताइएको छ । प्राप्त जानकारीअनुसार यसबारे छानविन गर्नको लागि अहिले प्रहरी प्रशासन घटनास्थलमा पुगेको छ ।
यसैबीच, गाउँपालिकाका अध्यक्ष असिम राईले यो घटना प्रतिक्रियावादी, परिवर्तन र पहिचान विरोधीहरुको झण्डबाट घटाइएको भन्दै भत्सर्ना गर्नुभएको छ ।
‘गाउपालिकाको प्रथम ऐतिहासिक गाउँ सभाले २०७४/०७५ को बजेट नीति तथा कार्यक्रम, नामाङ्कनलगायत विभिन्न महत्वपूर्ण निर्णयहरु गरिएकोमा केही प्रतिक्रियावादी, परिवर्तन र पहिचान बिरोधि झुन्डले गाउँपालिकाका प्रशासकिय अधिकृत श्याम न्योपानेको आवास कक्षामा ढोका फोडेर आग्जनी गरिएको छ’ अध्यक्ष राईले आफ्नो फोसबुक वालमा लेख्नुभएको छ ‘उक्त जघन्य तथा कायरतापुर्ण कामको जति बिरोध गरेपनि कम हुन्छ ।’
उहाँले उक्त घटनाको सत्यतथ्य पत्ता लगाई दोषीलाई कानुनी दायरामा ल्याउन गाउँपालिका प्रतिबद्ध रहेको बताउँदै सहयोगका लागि गाउँपालिकाबासीलाई आग्रहसमेत गर्नुभएको छ ।
अध्यक्ष राईले प्रतिक्रियावादी, परिवर्तन र पहिचान विरोधीहरुको झण्डले घटना घटाएको संकेत गरेपनि घटनामा को को संलग्न छन् भन्ने खुल्न सकेको छैन ।
सोर्स:शिखर पोस्ट