सोलुखुम्बु : सोलुखुम्बुको ग्रामीण भेगमा किसानले लगाएको मकै जंगली जनावरले सखाप बनाएका छन् । भित्र्याउने बेलाको मकै जंगली जनावरले खाइदिएपछि किसान चिन्तित बनेका हुन् । निषेधाज्ञाको समयमा अन्य जिल्लाबाट खाद्यान्न ढुवानीमा समस्या हुने र बारीमा लगाएको मकैबाली समेत जंगली जनावरले खाइदिएपछि किसानलाई यो वर्ष भोकै हुने पीर लागेको छ ।
जिल्लाका विभिन्न क्षेत्रमा लगाइएको मकै सहितका बालीनाली पाक्न नपाई जंगली जीवजन्तुको निशानामा पर्न थालेपछि यहाँका किसानहरु मर्कामा परेका छन् । ‘बालीमा जंगली भालु, बादर र दुम्सी पल्किएको छ, पाक्ने सिजन भएसँगै बोट नै रुगेर बस्नुपर्ने बाध्यता छ, सधैभरी बोट समातेर बस्न पनि सकिदैन, दुःख गरेर खेती लगाएपनि भित्र्याउन नपाई बारीमै सखाप बनाईदिन्छ, हाम्रो पिडा कसले बुझिदिने ?’ महाकुलुङ गाउँपालिका ५ नुर्कुमका नुरु शेर्पाले गुनासो गर्नुभयोे ।
सोलुदुधकुण्ड नगरपालिका ३ लोदिङकी माया शेर्पाले दिउँसोको समय बाँदर र रातको समय भालु र दुम्सीले मकै खाने गरेको बताउनुभयो । ‘दिउँसो त बाादर लखेटिएला रे । रातको समय भालु र दुम्सी कसरी लखेट्ने,’ उहाँले भन्नुभयोे । शेर्पाका अनुसार गाउँका किसानले लगाएको अधिकांश मकैबालीमा जंगली जनावरले क्षति पुर्याएको छ ।
यस्तै जिल्लाको जुबु क्षेत्रमा बारीको मकै सकिएपछि घर भित्र नै बाँदर प्रबेश गर्ने गरेको स्थानीय बुद्धिमान बराइलीले जानकारी दिनुभयो । उहँले भन्नुभयोे–‘बारीको मकै बाँदरले नै सखाप बनाए अहिले घर भित्र नै छिरेर अण्डा लगायत अन्य खानेकुराहरु खाने तथा नष्ट गर्न थालेको छ, यस अघि त्यस्तो थिएन करिब २ बर्ष भयो बाँदरको आतंक बढेको छ ।’
ठूला जंगली जनावर हात्ती, गैंडाले क्षति पुर्याएमा सरकारले क्षतिपूर्तिको व्यवस्था गरेको तर, साना जंगली जनावरले क्षति पुर्याएमा क्षतिपूर्ति तथा राहको व्यवस्था नगर्दा ग्रामीण भेगका किसान समस्यामा परेको उनीहरुको गुनासो छ ।
मकै पाक्ने सिजन सुरु भएसँगै हिडडुल गर्न त्रास
मकै पाक्ने समय सुरु भएदेखि यहाँका मानिसहरुले विहान बेलुका हिड्डुल गर्न त्रास भएको बताएका छन् । मकै पाक्ने सिजनमा घर नजिकै भालु बस्ने भएकाले साँझ विहान हिडडुल गर्नै जोखिम भएका तामाखानीका प्रेम मगरले बताउनुभयो ।
अघिल्लो बर्ष घर नजिकैको घुर्यान बारीमा मकै खान आएको भालुले आक्रमण गर्दा लोदिङकी माया शेर्पा गम्भिर घाईते हुनुभयो । आगँन नजिकै भालुको आक्रमणमा परी घाईते भएकी मायाले भन्नुभयो–‘आफ्नो चोट त उपचार गरेर निको हुने क्रममा छ तर जब बर्खायाम सुरु हुन्छ मलाई त्यहि घटनाले झलझली आँखामा आईरहन्छ ।’
सोलुखुम्बुमा पछिल्लो ५ बर्षको तथ्यांकलाई केलाउदा २२ जना भालुको आक्रमणबाट घाईते भएका छन् भने एक जनाको ज्यान गएको डिभिजन बन कार्यालय सोलुखुम्ुबले जनाएको छ । वन ऐनअनुसार वन्यजन्तुलाई कुनै पनि बहानामा सिकार गर्न पाइँदैन ।
त्यसैले वन्यजन्तुबाट हुने क्षतिको राहत सहयोग निर्देशिका, दोस्रो संशोधन, २०७४ अनुसार वन्यजन्तुले आक्रमण गरी सामान्य घाइते बनाएमा २० हजारसम्म, सख्त घाइते बनाएमा दुई लाखसम्म र मृत्यु भएमा मृतकको हकवालालाई १० लाखसम्म राहत उपलब्ध गराउने प्रावधान छ । तर स्थानियले भने क्षतिपुर्ती भन्दा भालु नियन्त्रण नै गर्नु पर्ने माग राखेका छन् ।
जंगली जीवजन्तुले पशुधनमा क्षति
जिल्लामा जंगली जीवजन्तुले विभिन्न पशुधनहरुमा पनि क्षतिपुर्याउने गरेको छ । जिल्लामा गत आर्थिक बर्ष २०७६/७७ मा ३२३ वटा पशुधनमा जीवजन्तुले क्षति पुर्याएको सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चे सोलुखुम्बुले जनाएको छ ।
गत आर्थिक बर्षमा बन्यजन्तुबाट क्षति पुर्याएका ३२३ वटा पशुधनमा क्षति पुर्याए बापत ९६ लाख ९ हजार ४ सय ५४ रुपैयाँ क्षतिपुर्ती वितरण गरेको प्रमुख सरक्षण अधिकृत भुमिराज उपाध्यायले जानकारी दिनुभयो ।
पछिल्लो समय वन जंगलको क्षेत्रफल बढ्दै जानु, जंगली जीवजन्तुको संख्या समेत बढ्दै जाँदा आहाराको खोजीमा जंगली जनवारहरु गाउँबस्ती सम्म पुग्ने गरेको जानकारहरुको अनुमान छ ।
कतिपय अवस्थामा मानिसहरुको बस्ति जंगल क्षेत्र तर्फ विस्तार हुँदै जानुले पनि बालीनाली, मानिस तथा घरपालुवा जनवारहरु जंगली जनवारको सिकार हुने गरेको डिभिजन बन कार्यालय डिभिजनल वन अधिकृत विशाल घिमिरेले बताउँनुभयो ।
-solufm





