सोलुखुम्बु : सोलुखुम्बुको महाकुलुङ गाउँपालिका-१ खिरौलेमा भालुको आक्रमणबाट एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा ५३ वर्षीय पेम्बा वाङ्छु शेर्पा रहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ। शनिबार दिउँसो २ बजे मकै बारीमा जाँदा शेर्पालाई भालुले आक्रमण गरेको थियो।
भालुको आक्रमणबाट टाउको, पेट, छाती लगायतको भागमा गम्भीर चोट लागेका शेर्पाको महाकुलुङ प्राथमिक अस्पताल बुङमा मृत्यु भएको प्रहरीले जनाएको छ।
घाइते अवस्थामा स्थानीयले उद्धार गरेर अस्पताल पुर्याउने बित्तिकै शेर्पाको ज्यान गएको बताइएको छ। स्थानीयका अनुसार गएराति भालुले मकैबालीमा क्षति पुर्याएको थियो।
उक्त मकैको ढोड उठाउन जाने क्रममा बारीमै बसेको भालुले शेर्पालाई दिउँसै आक्रमण गरेको हो। शेर्पाको शव अहिले महाकुलुङ प्राथमिक अस्पताल बुङमै राखिएको छ। घटनाका विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ।