सोलखुुम्बु :सोलुखुम्बुको पर्यटकीय क्षेत्र लुक्लामा तरकारी तथा फलफूलको अभाव भएको छ । निरन्तरको बर्षातका कारण तेन्जिङ हिलारी विमानस्थल लुक्लामा सात दिनदेखि हवाई उडान ठप्प हुँँदा लुक्ला सहित आसपासका क्षेत्रमा तरकारी तथा फलफुलको अभाव भएको हो ।
निरन्तरको झरी र हुस्सुका कारण हेलिकप्टर तथा जहाजले भदौ चीन गते यता उडान भर्न नसक्दा मासु, अण्डा, तरकारी सहित फलफुल भित्रिन नपाएको नेपाल नागरिक उड्डयन प्राधिकरण लुक्लाका प्रमुख मुकेशराज दहालले जानकारी दिनुभयो । उहाँका अनुसार भदौ १ गते एउटा, २ गते २ वटा र ३ गते एउटा विमानले उडान भरेपनि त्यस यता उडान हुँन सकेको छैन् ।
अन्य खाद्यान्न यसअघि भण्डारण गरेर राखिएकाले समस्या नभएपनि तरकारी तथा फलफूलहरु भने भण्डारण गर्न नमिल्ने भएकाले समस्या भएको स्थानीय होटल ब्यवसायी तोया कुमार श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार तरकारी त्यस क्षेत्रमा उत्पादन नहुने र सडक यातायातको पहुँच नपुगेकाले ताजा तरकारी, मासु, अण्डा, फलफुलका लागि हवाई सेवामै भर पर्नु परेको हो ।
यतिखेर सिजन नभएपनि फाटफुट पर्यटक आइरहने भएकाले होटलहरुमा सेवा दिन समस्या हुन थालेको होटल व्यवसायी तेम्बा शेर्पाले बताउँनुभयो । उडान नहुँदा करिब ३० जना यात्रु लुक्लामै रोकिएका छन् । एक साता यता हेलिकप्टर तथा जहाजले कुनै पनि उडान भर्न नसक्दा यात्रुहरु समस्यामा परेको नागरिक उड्ययन प्राधिकरण लुक्लाले जनाएको छ ।
-soluFM





