
सोलुखुम्बु : सोलुखुम्बुको माथिल्लो भेगमा भालुको बिगबिगी बढेको छ । मकै पाक्ने सिजन सुरु भएसँगै भालुको बिगबिगी बढेको कृषकहरुले बताएका छन । भालुका कारण माथिल्लो क्षेत्रका नागरिकको दैनिकी त्रासमय बन्दै गएको खुम्ब पासाङ ल्हामु गाउँपालिका १ का सर्बधन राईले बताउँनुभयो ।
वर्षभरि खान लगाएको मकै बाली जोगाउनदेखि घरपालुवा जनवारको समेत रक्षा गर्न जाग्राम बस्नुपर्ने सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष गोपाल मगरको भनाई छ । जिल्लाकोे महाकुलुङ गाउँपालिकाको मुलखर्क, चाक्लादु, सोलु दुधकुण्ड नगरपालिकाको तामाखानी, बेनी, टाक्सिदु, भिर्ताखर्क, गार्मा नाजिङ, थुलुङ दुधकोशी गाउँपालिकाको लोखिम, देउसा, जुभिङ, खरिखोला लगायतको क्षेत्रमा भालुको बिगबिगी बढेको स्थानीयले बताएका छन ।
भालुका कारण बाहिर निस्कन समेत त्रास हुने गरेको उनीहरुको भनाई छ । वन ऐनअनुसार वन्यजन्तुलाई कुनै पनि बहानामा सिकार गर्न पाइँदैन । त्यसैले वन्यजन्तुबाट हुने क्षतिको राहत सहयोग निर्देशिका, दोस्रो संशोधन, २०७४ अनुसार वन्यजन्तुले आक्रमण गरी सामान्य घाइते बनाएमा २० हजारसम्म, सख्त घाइते बनाएमा दुई लाखसम्म र मृत्यु भएमा मृतकको हकवालालाई १० लाखसम्म राहत उपलब्ध गराउने प्रावधान छ ।
-solu FM