क्लबहरूको विश्वकप भनेर चिनिने युरोपियन च्याम्पियन्स लिग फुटबलमा आज दुई ठूला भिडन्त हुँदैछन् । जसमा स्पेनिस रियल मड्रिड र फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) बीचको खेललाई विश्वभरका करोडौं खेलप्रेमीले पर्खिरहेका छन् । यस प्रतियोगितालाई जारी सिजनकै दोस्रो ठूलो भिडन्त मानिएको छ ।

१२औं पटकको च्याम्पियन्स लिग विजेता रियल मड्रिडले आज फ्रान्सको हेभिवेट तथा स्टार खेलाडीले भरिएको पिएसजीलाई आफ्नो घर सान्टियागो बेर्नाबेउमा आतिथ्यता दिँदैछ । पिएसजीका प्रशिक्षक इम्री आफ्ना खेलाडीको दलबलसहित सोमबारै स्पेन ओर्लिसकेका छन् ।

आजको खेललाई रियल मड्रिड र पिएसजीबीचको क्लब भिडन्तका रूपमा मात्रै हेरिएको छैन । यस खेललाई रियलका पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डो र पिएसजीका ब्राजिलियन स्टार नेइमारबीचको व्यक्तिगत भिडन्तका रूपमा पनि हेरिएको छ ।

जारी सिजनको सुरुमा बार्सिलोनाबाट पिएसजी पुगेका नेइमार यो सिजन पेरिसमा उच्च लयमा छन् । यता, रोनाल्डो भने समग्रमा यो सिजन खराब अवस्थाबाट गुज्रिरहेका छन् । तर, पछिल्ला खेलबाट रोनाल्डोले आफू उत्कृष्ट लयमा फर्किएको मैदानबाटै प्रमाणित गरिसकेका छन् । ला लिगामा पछिल्लो समय उनले तीन खेलबाट ७ गोल गरेका छन्, एक ह्याट्रिकसहित ।
उता, नेइमारले भने यो सिजन पिएसजीका लागि उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । उनले च्याम्पियन्स लिगको छनौट चरणमा पनि प्रभावशाली प्रदर्शन गरेका थिए ।

हाल च्याम्पियन्स लिगमा रोनाल्डो सर्वाधिक गोलकर्ता छन् । उनले कूल ९ गोल गरेका छन् । त्यस्तै, नेइमारले कूल ६ गोल गरेका छन् ।

तसर्थ, आजको खेल दुई ठूला हेभिवेट टिमको महाभिडन्त मात्रै हुनेछैन, यो समयका विश्व फुटबलका ठूला स्टार रोनाल्डो र नेइमारको व्यक्तिगत भिडन्त पनि हुनेछ । आजको खेललाई दुई क्लबको भन्दा पनि दुई स्टारको भिडन्तका रूपमा बढी हेरिएको छ ।

रियल च्याम्पियन्स लिग सर्वाधि धेरै १२ पटक जित्ने एक मात्र टिम हो भने लगातार दुई सिजन उपाधि जित्ने एक मात्र रेकर्ड पनि रियलकै नाममा छ । तसर्थ, आजको खेलमा रियलमाथि बलियो टिम पिएसजीमाथि हराउनैपर्ने र साख जोगाउनैपर्ने दबाब छ ।

आज बेर्नाबेउमा रियलले आफ्ना सबैखाले जुक्ति र रणनीति अख्तियार गरेर युरोपको अर्को उत्कृष्ट टिमलाई आप्नो घरमा स्तब्ध बनाउने दाउमा छ । त्यसका लागि रियलले पहिलो रोजाइका खेलाडी मैदान उतार्दैछ ।

यता, पिएसजी पनि आज रियलको घरमा उत्रिँदा आफ्ना स्टार र युवा खेलाडीले भरिभराउ सेट लिएर रियलको चुनौती सामना गर्न तयार हुनेछ ।खेल नेपाली समयअनुसार आज राति (बिहीबार बिहान) १ः३० बजेबाट सुरु हुनेछ । आजै सोही समयमा पोर्टो र लिभरपुल पनि भिड्दैछन् ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय