काठमाडौ, कार्तिक १६ । यहि कार्तिक २५ र २७ गते डिशहोम र नेपाल रिंग रेस्लिङ संघको संयुक्त आयोजनामा दोस्रो अन्र्तराष्ट्रिय रिंग रेस्लिङ प्रतियोगिता हुने भएको छ।
रेस्लिङ प्रतियोगिता दशरथ रंगशालाको कवर्डहलमा कार्तिक २५ गते र ईटहरीको ठूलो जनता मा. वि. मा कार्तिक २७ गते हुने ‘दोश्रो अन्तर्राष्ट्रिय रिंग रेस्लिङ प्रतियोगिता २०१७’ मा ८ देशका व्यवसायिक रेस्लर खेलाडीहरुको सहभागी हुनेछन । ‘दोश्रो अन्तर्राष्ट्रिय रिंग रेस्लिङ प्रतियोगिता २०१७’ मा अमेरिकाका प्रोरेस्लिङ्गगेमर, सिंगापुरका दी युरासियन ड्रागन, अष्ट्रेलियाका वामबामबेलोज, मलेसियाका द बुचरम्यान, भारतका दिलदार सिंह, निल र माक्सम्यानले सहभागिता जनाउने आयोजकले जानकारी दिएको छ । नेपालका तर्फबाट प्रतियोगितामा नुवाकोटे टाइगर, द युभ, डेभिड, थाकु, ब्लेड, साईन, टुप्पी ग्याङ्गले सहभागिता जनाउने छन्।
प्रतियोगिताको आकर्षणका रुपमा महिला रेस्लरहरु रसियाका मेफिस्तो र चेक रिपब्लिकका रोमाना साथै नेपाली महिला रेस्लर द्धय सोफी र दिलासाले सहभागिता जनाउने छन्। त्यसैगरि अन्तर्राष्ट्रिय रेस्लिङ प्रतियोगितामा खेलका लागि नेपालको पहिलो महिला रेस्लिङ रेफ्री सुनिता थापा, कुबेर के. सी. र प्रदिप पाण्डेले प्रतियोगिताका खेलहरु खेलाउने छन् ।
यो प्रतियोगिता डिशहोमको मुख्य प्रायोजनमा हुन गइरहेको हो । डिशहोमले आफ्नो च्यानल एक्सन स्पोर्टस्बाट दशरथ रंगशालाको कबर्डहलमा हुने खेलको प्रत्यक्ष प्रशारण गर्नेछ ।