काठमाडौं, माघ १८
स्पेनिस कोपा डेल रे फुटबलमा आज सेमिफाइनल चरणअन्तर्गत पहिलो लेगको दोस्रो खेल हुँदैछ । गत वर्षको उपाधि विजेतासमेत रहेको बार्सिलोना आज आफ्नो घरमा भ्यालेन्सियाविरुद्ध उत्रिँदैछ ।

होम एन्ड अवे आधारमा हुने खेलमा बार्सिलोनाले पहिलो लेगको खेल खेल्न पाहुना टोली भ्यालेन्सियालाई क्याम्प नोउमा आतिथ्यता दिँदैछ । यो सिजन उच्च लयमा रहेको बार्सिलोना कोपाको फाइनलमा पुग्न आज भ्यालेन्सियालाई हराउने दाउमा छ ।

यता, यो सिजन राम्रो प्रदर्शन गरिरहेको भ्यालेन्सिया पनि आज बार्सिलोनालाई उसकै घरमा कडा टक्केर दिने योजनामा छ । भ्यालेन्सियाले आफ्ना पछिल्ला खेलहरू गुमाए पनि उसले सिजनका सुरुआती खेलमा शानदार प्रदर्शन गरेको थियो । तसर्थ, बार्सिलोनाविरुद्ध ऊ खतरा हुन सक्छ ।

आजको खेलमा बार्सिलोनाविरुद्ध उसले आफ्ना बलियो रक्षापंक्ति र द्रुत आक्रमण पंक्ति प्रयोग गरेर बार्सिलोनालाई उसकै घरमा स्तब्ध बनाउने कोसिस गर्नेछ । पछिल्लोपटक ला लिगामा आफ्नो घरमा खेलेको रियल मड्रिडविरुद्धको खेलमा भ्यालेन्सिायले राम्रो खेल पस्केको थियो । भलै, उक्त खेल भ्यालेन्सियाले ४–१ ले हारेको थियो ।

उपाधिको मुख्य दाबेदार रहेको बार्सिलोना आज आफ्नो घरमा सहज जित नकालेर अन्तिम चारमा पुग्ने सम्भावना बलियो बनाउन चाहन्छ । त्यसका लागि उसले आज पहिलो रोजाइका खेलाडी मैदान उतार्दैछ ।

खेलअघिको पत्रकार सम्मेलनमा बोल्दै बार्सिलोनाका प्रशिक्षक एर्नेस्टो भाल्भर्डेले पनि भ्यालेन्सिया आफूहरूका लागि बलियो टिम भए पनि आफूहरूले घरमा जित्ने दाबी गरेका थिए । ला लिगामा पछिल्लोपटक गत वर्षको नाभेम्बरमा भएको खेलमा भ्यालेन्सियाले बार्सिलोनालाई आफ्नो घरमा १–१ को बराबरीमा रोकेको थियो ।

खेल नेपाली समयअनुसार आज राति (शुक्रबार बिहान) २ः१५ बजेबाट क्याम्प नोउमा सुरु हुँदैछ ।
-mirrors nepal

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय