फिफा विश्वकप २०२६ अन्तर्गत दक्षिण अमेरिकी छनाेटमा पूर्वविजेता अर्जेन्टिना र ब्राजिल पराजित भएका छन् ।
आज शुक्रवार बिहान घरेलु मैदानमा भएकाे खेलमा अर्जेन्टिना उरुग्वेसँग २–० गाेलले पराजित भयाे । उरुग्वेका लागि रोनाल्ड अराउजोले खेलकाे ४१ र डार्विन नुजेजले ८७ मिनेटमा गोल गरे ।
उरुग्वेसँग हारे पनि अर्जेन्टिना ५ खेलमा १२ अङ्कसहित तालिकाकाे शीर्ष स्थानमा छ । उरुग्वे उति नै खेलमा १० अङ्कसहित दाेस्राे स्थानमा उक्लिएकाे छ ।
यस्तै आजै बिहान घरेलु मैदानमा भएकाे खेलमा ब्राजिल काेलम्बियासँग २–१ गाेलले पराजित भयाे । ब्राजिलले शुरुवाती गाेल गर्दै अग्रता लिए पनि काेलम्बियाले उत्कृष्ट पुनरागमन गर्दै जित निकाल्याे । काेलम्बियाका लागि लुइस डियाजले खेलकाे ७५ र ७९ मिनेटमा गाेल गरे । ब्राजिलका लागि खेलकाे ४ मिनेटमा गब्रेल मार्टीनेली गाेल गरे ।
ब्राजिल ५ खेलमा ७ अङ्कसहित पाँचाैँ स्थानमा छ । काेलम्बिया उति नै खेलमा ९ अङ्कसहित तेस्राे स्थानमा उक्लिएकाे छ ।





